'न भोजपुरी बोल्न जान्छ, न अनुहार मिल्छ। मुसलमनको बच्चा जस्तो छैन यो। सानो भाइ त पहाडीया नै हो', नाजिर हुसेनकी दादी जी घरी घरी उनलाई पहाडिया भन्थिन्। अनि उनकी आमा थप्थिन्,'हो त सानोभाइ तँलाई त दुधौरा खोलामा भेट्टाएको।'
दादीले पटक-पटक नाजिरलाई आफ्नो सन्तान होइन भन्नुको कारण थिइन् नाजिरकी आमा मिना बेगम। उनी काठमाडौँकी रैथाने थिइन्। त्यसमाथि हिन्दु। विवाह गरेर सिमरा पुगिन्। मुसलमानको परिवारमा।
नाजिरमा स्वाभाविक रूपले आमाको भाषा र व्यवहारको प्रभाव बढी पर्यो। त्यही कुरा दादीलाई मन पर्दैन थियो।
घर नजिकैको स्याउली चोकबाट भित्र रहेको दुधौरा खोलासँग नाजिरको बालापनको थुप्रै याद जोडिएको छ। तर, आफू त्यहीँ भेट्टिएको आमाको कथन भने कहिले पनि स्वीकार्न सकेनन्।
हुर्कदै गएपछि बुझे दादीका शब्दले आमालाई दिने पीडा। अनि राहतका लागि आफूलाई जिस्क्याउने बहाना।
काठमाडौँकी मीना सिमराबाट सरुवा भएर आएका पुलिस जवान मोहम्मद इसाख हुसेनसँग प्रेममा परिन्। त्यो बेलाको समाज अनि हिन्दु- मुस्लिमबीचको प्रेम। मागी विवाह सम्भव थिएन। त्यसैले मीना र इसाख भागेर सिमरा गए।
सिमराको स्याउलीस्थित घरमा पुगेपछि थाहा पाइन्- उनी इसाखकी पहिली पत्नी होइनन्।
'आमा भावनात्मक रूपमा त टुट्नु भएको थियो नै सामाजिक दबाब पनि उत्तिकै, ' नाजिर हुसेनले पहिलोपोस्टसँगको कुराकानीमा भनेका थिए।
फरक धर्म मान्ने भएकै कारण आफ्नी आमालाई परिवारबाट केही टाढा महसुस गराएको बताउँछन् उनी।
मीनाले केही समयमै माइती फर्कने इच्छा व्यक्त गरेकी थिइन्। तर कथित सामाजिक मर्यादाकै कारण माइतीका लागि छोरी फर्काउनु सम्भव भएन।
केही वर्षपछि मीना र इसाख हुसेन छुट्टिए। कारण बारे खुल्न चाहँदैनन् नाजिर। आमासँग बसेका उनले आमाले भोगेको दु:ख र अभावका कुराहरू भने उनको स्मरणमा अझै पनि ताजा छ।
स्वास्थ्य चौकीमा 'सुँडिनी'बनेर काम गर्ने मीनाको धर्म, वैवाहिक जीवनको मात्र होइन जागिरको पनि कुरा काटिन्थ्यो।
'हामी आँखाभरि आँसु लिएर सुनिराख्न बाहेक केही गर्न सक्दैनथ्यौं', नाजिरले सुनाएका थिए।
आमा बितेर गइन्। तर आमाले आफ्ना लागि गरेको संघर्ष र भोगेको दु:ख नाजिर आजसम्म पनि सम्झन सक्छन्। महसुस गर्न सक्छन्। त्यसैले आमाको स्मरणमा कविता कोर्छन्, आमाले सिकाएको संस्कार भन्दै दशैंको टीका अनि भाइ टीका लगाउँछन्।
आज मातातीर्थ औंसीको उपलक्ष्यमा पनि उनले एक कविता सार्वजनिक गरेका छन्। जसमा आमासँगै जोडिएको छ स्याउली चोकको याद पनि।
नाजिरको कविता :
स्याउली चोकमा सबथोक छ
तर, तिमी छैनौ आमा
घरको पालीमा गौँथलीले गुँड लाउन अझै छाडेकी छैन
हरेक वर्ष झैँ कोरल्छे वचेराहरु
र उडाइ दिन्छे आकाशमा,
बचेरासँगै उनको सपना पनि त उड्दो हो
स्याउली चोकमा सबथोक छ
तर तिमी छैनौ
गौँथलीले देखेको जस्तै तिम्रो एक अञ्जुली सपना
अझै पनि खेतका गराहरुमा
खोलाका छालहरुमा
अम्बाका फुलहरुमा
शहरका गल्लीहरुमा
उम्रन्छन्
बग्छन्
फल्छन्
अनि दौडन्छन्
यस्तो लाग्छ
तिम्रो एक अञ्जुली सपना वर्षौँ वर्ष सम्हालेर राख्न सकूँ
स्याउली चोकमा सबथोक छ
तर तिमी छैनौ आमा।
सामाजिक सञ्जालमा उनले उक्त कविता वाचन गरेको भिडियो समेत सेयर गरेका छन्। भिडियोमार्फत् उनले सम्पूर्ण मीना बेगमसँगै सबै आमाहरुका लागि समर्पित गरेका छन्।