PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि ओली सकारात्मक, प्रचण्डको प्रश्न, ‘बैठक फेस गर्ने कि अध्यादेश बोक्ने?’



पहिलोपोस्ट

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि ओली सकारात्मक, प्रचण्डको प्रश्न, ‘बैठक फेस गर्ने कि अध्यादेश बोक्ने?’

काठमाडौँः अध्यादेश जारी भएको ७२ घण्टालगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीको प्रक्रिया अघि बढाउन सकारात्मक देखिएका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटपछि ओली प्रक्रिया अघि बढाउन सकारात्मक भएका हुन्। यद्यपि संवैधानिक परिषदको बैठक कार्यविधि फेर्नेसम्बन्धी अध्यादेश भने यथावत रहनेछ।

बिहीबार बिहान अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले ओलीसँग भेटवार्ता गरेका हुन्। अध्यादेश विवादपछि प्रधानमन्त्री ओली पनि केही कानुन व्यवसायीसँग समेत परामर्श गरेका थिए। परामर्श र दलभित्रको दबाबपछि ओली पछि हट्ने संकेत गरेका हुन्। 

प्रचण्ड र नेपालले ओलीलाई पार्टी बैठक फेस गर्ने वा अध्यादेशको अडानमा रहने प्रश्न गरेका थिए। 

‘दलभित्र समेत ठूलो विवाद देखिएको भन्दै खारेजीको प्रक्रिया अघि बढाउन उहाँ सकारात्मक हुनुभएको छ। सम्भवत बिहीबार साँझसम्म कुनै निकास निस्कन सक्छ’ अध्यक्ष प्रचण्ड निकट स्रोतले भन्यो। 

अध्यादेश जारीपछि ओलीमाथि पार्टीभित्रबाटै आक्रमण भइरहेको छ। पार्टीका २० स्थायी कमिटी सदस्यले लिखित रुपमै बैठकको माग गर्दै अध्यक्ष प्रचण्डलाई जानकारी गराइसकेका छन्। यस्तै, सचिवालय सदस्यसहितका अन्य दशभन्दा बढी सदस्य पनि बैठकको पक्षमा छन्। बहुसंख्यक स्थायी कमिटी सदस्यहरुले बैठक माग गर्दा ओली अप्ठ्यारोमा छन्। 

संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिबाट अध्यादेश खारेज हुनेछ। तर, राष्ट्रपतिका काम कारबाही मन्त्रिपरिषदको सिफारिस अनुसारमात्र हुने भएकाले खारेजीको प्रक्रिया सरकारले प्रारम्भ गर्नुपर्ने कानुन व्यवसायीहरुको भनाई छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell