
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका नेता डाक्टर भीम रावलले कुनै पनि दल विभाजन गर्ने र त्यसका लागि अपहरणको शैली अपनाउनुलाई अक्षम्य भएको बताएका छन्।
'एउटा पार्टीलाई फुटाउनका लागि त्यसका सांसदलाई अपहरण शैलीमा घरबाट काठमाडौंको कुनै होटलमा ल्याएर पहरा दिइ राखियो भन्ने समाचार आएका छ,' नेता रावलले पहिलोपोस्टसँग भने, 'यदि समाचार सत्य हो भने यो लोकतन्त्रका लागि अनिष्टकारी र घातक हो।'
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नेपाल प्रहरीका पूर्व महानिरीक्षकसहितको टोलीले समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवलाई हिजो रातारात गरेर काठमाडौं ल्याइएको थियो। समाजवादी पार्टीले अपहरण भएको भन्दै आज बिहान उनको मेरिएट होटलबाट उद्दार गरिएको दावी गरेको छ।
पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालले सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठसँगै जनकपुर पुगेर उनलाई काठमाडौं ल्याएर होटलमा राखेको स्वीकार गरिसकेका छन्।
नेता रावलले अपहरणको शैलीमा भएको घटनाको छानविन हुनुपर्ने बताए।
'यस्तो क्रियाकलापको गहिरो छानविन हुनुपर्छ। यसमा संलग्न व्यक्तिहरुलाई कानुनी कारवाही हुनुपर्छ,' रावलले भने, 'यस्तो गतिविधि लोकतन्त्र, राष्ट्रिय मर्यादा र कानुनी शासन विरुद्धको गतिविधि भएकाले यसमा संलग्न कुनै पनि व्यक्तिलाई उन्मुक्ति दिन मिल्दैन। दिन हुँदैन।'
यस्ता अराजक र अलोकतान्त्रिक क्रियाकलापलाई दण्डित नगर्ने हो भने नेपाल र नेपाली जनताले अझै विकृत अवस्था भोग्नुपर्ने उनको तर्क थियो।
'यस्तो गलत काममा राज्यको कुनै पनि निकायलाई संलग्न या पार्टीको कुनै पनि तहमा रहेको व्यक्ति संलग्न भएको भन्ने कुरा साँचो हो भने यो झन् गम्भीर विषय हुन्छ,' रावलले भने, 'त्यस्तै हो भने यो राज्य संरक्षित गैरकानुनी काम भएको भन्ने अर्थ लाग्छ। अत: यस्तो गम्भीर विषयलाई कसैले पनि हलुका रुपमा लिनु र बुझ्नु हुँदैन।'
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीभित्रसमेत छलफल नगरी राजनीतिक दल सम्बन्धी अध्यदेशले मन्त्रिपरिषदबाट पास गरेका थिए जसलाई हतारहतार राष्ट्रपतिले जारी गरिन्। कुनै पनि दलको केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशतको सहमतिमा पार्टी फुटाउन सकिने ब्यवस्थालाई अध्यादेश मार्फत् 'र' को स्थानमा 'वा' ले प्रतिस्थापन गरेपछि समाजवादी पार्टी फुटाउनका लागि आधार तय भएको थियो। त्यसैका लागि सांसदलाई अपहरणको शैलीमा काठमाडौं ल्याइएको थियो।
नेता रावलले राजनीतिक स्थिरताका लागि यस्ता गतिविधि घातक हुने टिप्पणी गरे।
'कानुनी शासन, नागरिकको स्वतन्त्रता, राष्ट्रको स्वाधिनता र समृद्धिलाई सर्वोपरि राखेर संविधान ल्याएका हौं,' उनले भने,
'राजनीतिक स्थायित्वका लागि राजनीतिक दलहरुमा विगतमा भएका अफ्ट्याराहरु समाप्त गर्ने र राष्ट्रलाई बलियो तथा समृद्ध बनाउनका लागि दृढतापूर्वक अगाडि बढ्न सबै राजनीति दलहरु विशेषगरी ठूला राजनीतिक दलका नेताहरुले सहमति गरेका हौं।'
राजनीतिक दल सम्बन्धी कानुन त्यसैका आधारमा ल्याइएको उनको तर्क छ।
'राजनीतिक दलहरुलाई सहजै फुटाउने, त्यसैमा राजनीतिक अस्थिरता सृजना गर्ने र त्यही वातावरणमा हुने वाह्य हस्तक्षेप र घुसपैठ जस्ता क्रियाकलाप रोक्नुपर्छ भन्ने त्यो कानुनको आशय रहेको थियो,' रावलले भने, 'तर राजनीतिक दलहरुलाई सहजै फुटाउन सकिने र त्यसरी फुटेको दलले राष्ट्रिय मान्यता पाउनेगरी ल्याइएको संशोधन फेरि पुरानै सत्ताको फोहरी खेलका लागि ढोका खोल्ने काम हुनसक्छ भन्ने मैले सुरुमै भनेको थिएँ।'