- सरोज खड्का-
गुड मर्निङ दाजु
मुगु जिल्लामै एक जनामा कोरोना भाइरसको संक्रमण देखिएछ नि। यहीँ नजिकै हो, खत्याड गाउँपालिकामै।
बिहानै सबेरै, उठेर बाहिर के निस्किएको मात्र थिएँ, सहकर्मीले खबर सुनाए - ठ्याक्कै समाचारवाचक शैलीमा।
सुन्न साथ केही हच्किएँ। यसै पनि के 'लक' के 'ब्याड लक'मा रुमलिएको जिन्दगी। त्यसमाथि कोरोना बेग्लै त्रास बोकेर आएको थियो।
तर, डराएर कहाँ हुनु? वन र वन्यजन्तुको संरक्षणमा खटिएका हाम्रा लागि निडर उभिनु नै सबैभन्दा ठूलो सुरक्षा कवच हो। त्यस्तोमा कोरोना संक्रमणको एउटा केस नजिकै देखियो भन्दैमा कहाँ डराउनु? आफैँलाई ढाडस दिएँ मैले। अनि नडगमगाउने प्रण गरेँ।
भट्भट्याइरहेको साथीलाई जवाफ फर्काउँछु म - नेपाली हौँ। केही हुँदैन। आफैँलाई नपरुन्जेल सितिमिति कहाँ टेरिन्छ र होइन?
ऊ हाँस्दै ओरालो लाग्छ।
सुन्नुस् न। एकछिन भित्र आउनुस त ? (मेरी श्रीमतीले हतारिँदै मलाई बोलाइन्)
भर्खर समाचारमा हेरेको, मुगुमा नि संक्रमण फैलेछ नि! ला के हुन्छ?
अतालिँदै गरेको उनको आवाजमा डर मिसिएको छ।
यताबाट अलि टाढा नै छ। अनि फेरि हामीले निकुञ्ज क्षेत्रभित्र प्रवेश निषेध गरेका छौँ। यता त्यस्तो जोखिम नहोला।
मैले उनलाई सहज ढंगले सम्झाएँ।
हैन के, मान्छेहरु त ओहोरदोहोर गरैकै छन् नि। फेरि हजुर बिहानदेखि बेलुकासम्म जंगल दौडिनुहुन्छ, मान्छे समातेको समात्यै हुनुहुन्छ। उनीहरुबाट झन् सर्ने सम्भावना हुन्छ नि हैन ?
उनी प्रश्न गरिरहन्छिन्।
अब के गर्ने त? वन र वन्यजन्तुको रक्षा गर्ने जागिर जो खाएको छु। फेरि मलाई यही काम त मनपर्छ। जति सम्झाउँदा पनि मान्दैनन्। जंगल नै नास हुन थालिसक्यो। टुलुटुलु हेरेर बस्न मन लाग्दैन। नुनको सोझो पनि गर्नै पर्यो नि, हैन?
म हाँस्दै जवाफ दिन्छु।
ह्या हजुर पनि। जे पनि कति सजिलै लिने हो के? अब बाहिर गएर आउँदा हात धोएर आउनुस्। झन् बच्चा पनि छ। केही भयो भने के गर्ने?
उनको निर्देशन र प्रश्न लगातार ओइरिरहन्छ।
हस्!
हातमा पानीले भरिएको जग लिएर म केही नबोली बाहिर निक्लिन्छु।
धन्न मैले त आफ्नो परिवार आफूसँगै ल्याएको छु।
त्यत्रा संरक्षणकर्मी जो अहोरात्र जोखिम मोल्दै आफ्नो परिवारलाई पनि हेर्न, देख्न र भेट्न नपाई संरक्षणमा लागि परेका छन्। उनीहरुलाई कस्तो हुँदो हो?
अस्ति भर्खर आफ्नो कर्तव्य निर्वाह गर्दागर्दै पर्सामा तस्करसँगको भीडन्तमा गोली लागेर घाइते हुनुभएका संरक्षणकर्मी, अनि दिनहुँ अवैध रुपले जंगल पसी अवैध गतिविधि गर्दागर्दै मानिस समातिएका समाचारहरु सम्झिन्छु।
धन्न त्यति साह्रो वन्यजन्तु तस्कर चाहिँ छैन रारामा। नत्र त...?
यहि वाक्य मन बुझाउने बाटो बनेको छ आजकल।
यस्तो संकटको घडीमा मान्छेहरु किन जंगल पस्नुपर्दो हो? कति दु:ख दिन जानेका भन्या? झन् २४ घण्टे जागिर खाइएको छ। न कोरोनाबाट बच्ने सुरक्षा कवज न केही।
घरि कसलाई पक्रनु पर्या छ, घरि कस्लाई घिच्याउँदै हिँड्नु पर्या छ। को कताबाट आएको केही थाहा छैन, उसैमाथि तलव हात नपरेको झण्डै ३ महिना हुन लागिसक्यो।
एवम् रितले रारामा दिनचर्या बितिरहेको छ। कसैले सोधे- रारामै छु आरामै छु भन्ने गरेको छु।
फोनको घण्टी बज्छ।
हेलो सर नमस्कार।
नमस्कार!
सर, हेडक्वाटरबाट पनि थप टोली खटाउनुपर्यो आज। मान्छे त यति बिहान नै जंगल गइसके। कता कता भ्याउनु सर? भनेको नि मान्दैनन्। उल्टै धम्की दि'राछन् सर। टोली छिटो पठाइदिनु पर्यो। म बुढो हैरान भइसकेँ।
रिटायर्ड हुन केही वर्षमात्र बाँकी रहेका बुढा गेम स्काउट दाजु एकाबिहानै गस्तीबाटै फोन गर्छन्।
हुन्छ दाजु। पठाइहालेँ। हस्। फोन काटिन्छ।
म पुन: सोचमग्न हुन्छु।
अरु निकायमा घरमै बसीबसी अनलाइनबाट काम गर्ने र गराउने खबर सुनिन्छ। यता भने अन द स्पट काम गर्नु पर्या छ। जंगलभित्रै रहे पनि सधैजसो मानिससँग सम्पर्कमा रहिरहनु पर्छ। गाउँ, समुदाय, टोल र अस्पतालमा खटिएका अन्य महान हृदयहरुलाई कस्तो महसुस हुँदो हो?
ए मैले त मान्छे पो खटाउनु छ। झस्किन्छु।
राराको फोन फेरि कहाँ लाग्छ र? कुनै सीप नलागेपछि आफैँ दौडिनुपर्ने बाध्यता निरन्तर चलेकै छ। साच्चिकैभन्दा कोरोनाको कहरले अहिले हरेक मानिसमा वैकल्पिक बाटोको खोजी गर्न बाध्य बनाएको देखिन्छ। के गाउँ, के शहर? के जंगल, के बस्ती? जता पनि विकल्पको प्रयोग भएको देख्न सुन्न र पढ्न पाइएको छ।
वैकल्पिक बाटो प्रयोग गरी जंगल प्रवेश गरेको खबर आउँछ। अनि हरेक रात गस्ती सञ्चालन हुन्छ। कहिले समातिन्छन् त कहिले अटेर गरी जंगल प्रवेश गरेका समात्न जंगलमै कुरुवा बस्नुपरेको छ। मानिसको नियत प्रष्ट नहुन्जेल के हो भन्न सकिन्न।
तयार भएर गस्ती जान हामी निकुञ्ज संरक्षणकर्मीको प्यारो हतियार लौरो लिइ के निस्केको थिएँ - छ महिने काखे बालक च्यापी हरेक दिन संरक्षणको लागि तत्पर हुने हाम्रै कार्यालयका महिला कर्मचारीको फोन आउँछ।
सम्बोधन पछि…,
सर अस्तीबाट बच्चालाई ज्वरो आएको आयै छ। मलाई घरसम्म पुग्ने कुनै व्यवस्था गरिदिनुस् न है। बरु हिँडेर भए'नि जान्छु। बच्चाको बुबा आधाबाटोसम्म आउनुहुन्छ। दुई दिनमा त घर पुगिहाल्छु। यता धेरै नै गाह्रो भयो। न राम्रो खान पाइन्छ। न खुवाउन। मलाई त जस्तो हुन्थ्यो हुन्थ्यो, यो बालकका लागि भए पनि जानै पर्यो सर।
म केवल हस् भन्छु। अनि कुनै सहज व्यवस्था भए मिले खोजिदिन्छु बाहेक केही भन्न सक्दिनँ।
हृदयबाट धन्यवाद दिन मन लाग्छ यस्ता आमाहरुलाई जस्ले अनेकौ दु:ख झेलेर पनि संरक्षणको लागि दिनरात एक गरेका छन्। फेरि सोच्छु, यिनी त प्रतिनिधिपात्र मात्र होलिन्। यो संक्रमणको क्षणमा देशभरि यस्ता कैयौँ महान आमाहरु होलान् जो आफ्ना सन्तानलाई राम्रोसँग खुवाउन, पियाउन नपाइ पनि आफ्नो कर्तव्यमा लागि परेका छन्। आफ्नो सन्तानसँग विछोड भएर पनि यो लकडाउन खुलेपछि आइहाल्ने प्रतिवद्धता दिँदै हरेक दिन कुनै न कुनै माध्यमबाट भेटिँदै विछोडिँदै सुत्नुअघि एकातिर पारिवारिक जिम्मेवारी र अर्कोतिर कामको जिम्मेवारी सहित वेदनायुक्त निद्रामा लिन हुने सम्पूर्ण आमाहरु प्रति नमन।
मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन। अनि मातृ सम्मान दिवशको सबैलाई शुभकामना।
जय संरक्षण।