
सुर्खेत : कारोना भाइरस (कोभिड–१९) परीक्षण गर्नका लागि थप दुई वटा पोलिमरेज चेन रियाक्सन (पिसिआर) मेसिन कर्णाली प्रदेशमा ल्याइएको छ। संघीय सरकारले पठाएको पिसिआर मेसिनको क्षमता कम भएपछि थप दुई वटा मेसिन ल्याइएको हो।
यसअघि संघीय सरकारले पठाएको पिसिआर मेसिनले चाप धान्न नसकेपछि स्वाबको नमुना परीक्षण गर्न धनगढी र काठमाडौं पठाउनुपर्ने बाध्यता अब दुई वटा पिसिआर मेसिन सञ्चालन भए समाधान हुनेछन्।
भारत लगायतका मुलुकबाट कर्णाली आउनेहरुको अझै स्वाबको नमुना परीक्षण गर्नुपर्ने भएकाले परीक्षणको गति बढाउन प्रदेश सरकार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पिसिआर मेसिन ल्याएको सामाजिक विकास मन्त्री दल रावलले जानकारी
दिए ।
‘त्रिभुवन विश्वविद्यालयसंग भएको पिसिआर मेसिन प्रदेश सरकारले ल्याएको हो भने, अर्काे स्वास्थ्य विज्ञान प्रतिष्ठानले चीनबाटै खरिद गरेको हो’, उनले भने, ‘सुर्खेतमा रहने पिसिआर मेसिन भेटेनरी प्रयोगशालामा राखेर तत्काल सञ्चालन गर्छाै । जुम्लाको एक/दुई लाग्न सक्छ।’
थप नयाँ पिसिआर मेसिनमध्ये जुम्लाको शिक्षण अस्पतालमा रहने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चीनबाट खरिद गरेको हो भने सुर्खेतमा रहने मेसिन कर्णाली प्रदेश सरकारले त्रिभुवन विश्वविद्यालयसंग खरिद गरेको हो।
थपिएका दुई वटै मेसिनले एकपटकमा ९६ वटा नमुना प्रोसेसिङ गर्न सकिने भएपछि अब कोरोना भाइरस भए नभएको परीक्षण छिटो, छरितो हुने र नतिजाका लागि पनि दुई चार दिन कुर्नुनपर्ने मन्त्री रावलको भनाइ छ।
‘नयाँ पिसिआर मेसिनले एक पटकको प्रोसेसिङमा ९६ नमुना राख्न सकिन्छ’, उनले भने, ‘थप आवश्यक परे अर्काे मेसिन पनि ल्याउँछौँ।’
संघीय सरकारले चैत तेस्रो साता पठाएको हालको पिसिआर मेसिनले एकपटकमा एउटामात्रै प्रोसेसिङ गर्ने हुदाँ दैनिक १२/१५ वटा स्वाबको नमुना परीक्षण गरिदैँ आएको छ ।
कर्णाली प्रदेशमा हालसम्म जम्मा नौँ सय २३ वटा स्वाबको नमुना परीक्षण गरिएको सामाजिक विकास मन्त्री रावलले जानकारी दिए। जसमध्ये सुर्खेतमा दुई सय सात, काठमाडौंमा ६ सय १७ पठाइएको छ भने धनगढीमा ९९ स्वाबको नमुना पठाईएको थियो। यस्तै, अहिलेसम्म कर्णालीमा र्यापिड टेस्ट चार हजार सात सय ३३ जनामा गरिएको छ। हालसम्म सवैको रिपोर्ट नेगेटिभ आएको छ ।