PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

सनसिटीका दुई जना डिस्चार्ज भएसँगै उपत्यकामा कोरोनाको 'एक्टिभ केस' शून्य, चिकित्सक भन्छन्,'सतर्क रहन आवश्यक'



फूलमाया पुरी

सनसिटीका दुई जना डिस्चार्ज भएसँगै उपत्यकामा कोरोनाको 'एक्टिभ केस' शून्य, चिकित्सक भन्छन्,'सतर्क रहन आवश्यक'

काठमाडौं : नेपालमा कोभिड - १९ बाट ४७ जना संक्रमित भएका छन्। पहिलो संक्रमित देखिएको ३ महिनायता संक्रमितको संख्या बढ्ने क्रम बढिरहेको छ। संक्रमित बढेसँगै भाइरसलाई जित्दै घर फर्किनेहरु पनि बढिरहेका छन्। हालसम्म ४७ जनामा १० जना उपचारपछि घर फर्किसकेका छन्।

बिहिवार काठमाडौंको पाटन अस्पतालमा रहेका दुई जना डिस्चार्ज भएसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको कुनै पनि 'एक्टिभ केस' नरहेको मन्त्रालयले जनाएको छ।

बेलायतबाट फर्किएर पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्दै आएका ८१ वर्षीया महिला र ५८ वर्षीय पुरुषलाई डिस्चार्ज गरिएको पाटन अस्पतालका निर्देशक विष्णुप्रसाद शर्माले बताए। लगातार दुई पटकको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई डिस्चार्ज गरिएको हो।   

त्यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत सबै संक्रमित घर फर्किसकेका छन्। अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले धादिङका पुरुषलाई पनि डिस्चार्ज गरिएको बताए। मन्त्रालयले उनलाई बुधवार नै डिस्चार्ज गरिएको बताइए पनि केही कारणले उनलाई आजमात्रै डिस्चार्ज गरिएको हो।

आज डिस्चार्ज भएका युवकलाई धादिङको क्वारेन्टाइनमा राखिने व्यवस्था मिलाइएको उनले बताए। धादिङका अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमलाले आफ्नै गाडीमा काठमाडौंबाट उनलाई गाउँ फिर्ता लगेका हुन्।

यसअघि फ्रान्सबाट फर्किएकी प्रसिद्धि श्रेष्ठ केही दिन अघिमात्रै डिस्चार्ज भएकी थिइन्।

काठमाडौंमा पाँचजनामा भाइरसको संक्रमण देखिएको थियो। 

तीनजना आइसोलेसनमा

हाल काठमाडौं उपत्यकामा तीन जनालाई आइसोलेसनमा राखिएको छ। पाटन अस्पतालमा दुईजना र शुक्रराजमा एकजना आइसोलेसनमा छन्।

पाटनमा बिहीवारमात्रै दुई जना आइसोलेसनामा भर्ना भएको र उनीहरुको स्वाब नमुना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउने तयारी भएको निर्देशक शर्माले जानकारी दिए। 

यस्तै, शुक्रराजको आइसोलेसनमा रहेका एकजनाको रिपोर्ट पनि भोलिसम्म आउने अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले बताए।

सतर्क बनौं

बिहीवारसम्म उपत्यकामा कोरोना संक्रमितको संख्या शून्य भएपनि ढुक्क भएर बस्ने अवस्था नभएको बास्तोला बताउँछन्।

सबैलाई सतर्क रहन आग्रह गर्दै उनले भने, 'हामीले अझै भोलिका दिनमा कसरी छिटो र सहज रुपमा कोरोनाबिरुद्ध लड्ने भन्ने तयारी गर्नुपर्छ।'

पाटन अस्पतालका निर्देशक शर्माले पनि आजको दिनमा उपत्यकाभित्र कोरोना संक्रमित नभए पनि यसबाट मुक्त भन्न नसकिने बताउँछन्।

‘नमुनाहरु संकलन भइरहेका छन्। संक्रमणको शंकास्पद व्यक्तिहरु अस्पतालमै छन्। कुनै एक्टिभ केस त छैन। तर हामी सतर्क रहनुपर्छ। यो भाइरसको कहर यति सजिलै हट्छ भनेर भन्न सकिँदैन। त्यसैले विषम परिस्थिति आए के गर्ने भनेर अलर्ट रहनुपर्छ,’ उनले भने।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell