मलेरियाविरुद्ध प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग कोरोना भाइरस संक्रमितमा गर्न हुने वा नहुने भन्ने बारेमा अहिले बहस भइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संक्रमितको उपचारमा हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग हुन सक्ने बताएसँगै भाइरस प्रभावित देशहरुमा यसको प्रयोग बारेमा अनुसन्धान समेत भइरहेको छ।
हाइड्रोक्सिक्लोरोक्वीन सबैभन्दा बढी उत्पादन गर्ने राष्ट्र मध्येको एक भारतले त यसको निर्यातमा समेत प्रतिबन्ध लगाएको थियो।
इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसिएमआर) ले कोरोना भाइरसबाट संक्रमित र आशंका गरिएका व्यक्तिहरुको उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीमा प्रयोग गर्न सक्ने भन्दै सिफारिस गरेको थियो। आइसिएमआरका निर्देशक बलराम भारगवले कोरोनाभ सो ‘एन्टी मलेरिया ड्रग’ को प्रयोग भाइरस संक्रमित व्यक्तिहरुसँग सम्पर्कमा रहेका तर कुनै लक्षण नदेखिएका व्यक्तिहरुमा समेत प्रयोग गर्न सक्ने बताए थिए। आइसिएमआरको सिफारिस स्वीकार्दै भारतको ड्रग कन्ट्रोलर जेनरलले आपतकालको अवस्थामा बाहेक हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोगमा प्रतिबन्ध लगाएको छ। यसैलाई मध्यजनर गर्दै भारत सरकारले हाइड्रोक्सिक्लोरोक्वीन र यसबाट बन्ने औषधिको निर्यातमा प्रतिबन्ध लगाएको थियो।
तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग हाइड्रोक्सिक्लोरोक्वीन मागेसँगै भारतले निर्यात फुकुवा गर्दै प्रतिबन्ध हटायो। निर्णयका कारण नरेन्द्र मोदी सरकारको आलोचना समेत भयो।
प्रतिबन्ध हटाएसँगै भारतले अमेरिकासहित १३ देशलाई हाइड्रोक्सिक्लोरोक्वीन दिने निर्णय गर्यो। एएनआइका अनुसार ४८ लाख ट्याब्लेट मागेको भारतले अमेरिकालाई ३५ लाख ८२ हजार ट्याब्लेट दियो।
यस्तै, ब्राजिल, जर्मनी र क्यानडामा ५०-५० लाख ट्याब्लेट दक्षिण एसियाली राष्ट्र नेपाललाई १० लाख ट्याब्लेट दिने उल्लेख गरिएको छ। बंगलादेशले २० लाख, भुटानले २ लाख, श्रीलंकाले १० लाख, अफगानिस्तानले ५ लाख र माल्दिभ्सले २ लाख हाइड्रोक्सिक्लोरोक्वीन ट्याब्लेट पाउने एएनआइले उल्लेख गरेको थियो।
भारत सरकारले घोषणा गरेको संख्याको हाइड्रोक्सिक्लोरोक्वीन चरणवद्ध रुपमा विभिन्न देशलाई वितरण गर्दै आइरहेको छ।
'प्रयोग गर्नु पर्दैन'
भारतले नेपाललाई दिने भनेको हाइड्रोक्सिक्लोरोक्वीनको पहिलो लट बुधवार स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको छ। भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई मास्क र प्यारासिटामोलसहित साढे दुई लाख हाइड्रोक्सिक्लोरोक्वीन ट्याब्लेट हस्तान्तरण गरे।
भारत सरकारबाट हाइड्रोक्सिक्लोरोक्वीन प्राप्त गरे पनि यसको प्रयोगबारे भने मन्त्रालयले कुनै निर्णय लिइसकेको छैन।
नेपालमा यसको प्रयोग भए/नभएको बारेमा केही सार्वजनिक गरिएको छैन। हालसम्म नेपालमा ४८ जनामा भाइरस संक्रमण देखिँदा १० जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।
नेपाल भित्रिए पनि हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग हाल गरिहाल्नु पर्ने अवस्था नरहेको चिकित्सक बताउँछन्।
संक्रमण रोग विशेषज्ञ डा अनुप सुवेदी भन्छन्, 'हाइड्रोक्सिक्लोरोक्वीन नेपालमै पाइन्थ्यो। भारतबाट ल्याउनै पर्दैनथ्यो। मुख्य कुरा अहिलेको अवस्थामा हामीलाई यो चाहिँदैन। किनभने उसको प्रयोगले मान्छेलाई फाइदा भएको हालसम्म देखिएको छैन।'
हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोगबारे अझै अध्ययन भइरहेको र यसको प्रयोगबारे थप प्रस्ट नभएसम्म नेपालमा समेत यसको प्रयोग नगरेकै राम्रो रहेको उनले बताए।
'युरोपका अधिकांश विरामी आफैँ निको भइरहेका छन्। जो आइसीयू पुग्छन् उनीहरु मध्ये पनि थोरै मानिसको मात्रै मृत्यु हुन्छ। त्यही थोरै मृत्यु हुनेलाई बचाउनका लागि नै रिक्स लिएर यसको प्रयोग गर्न खोजिएको हो।' उनले भने।
सुवेदीका अनुसार आफैँ निको हुने बिरामीलाई हाइड्रोक्सिक्लोरोक्वीन खुवाउँदा त्यसले साइड इफेक्ट निम्तिन सक्ने सम्भावना रहन्छ। त्यसैले हाललाई यसको प्रयोग नगर्नु नै उपयुक्त भएको उनको मत छ।
'मलेरिया र बाथ रोगका बिरामीहरुले प्रयोग गरिरहेकै औषधि हो। कोरोनाबाट कोही सिकिस्त नै छ। मृत्यु हुन लागेको अवस्थामा रिक्स लिएर यसको प्रयोग गरिएको देखिन्छ। तर, सामान्य लक्षण देखिएका विरामी यतिकै प्रयोग गर्दा यसले अवस्था थप बिगार्न सक्छ।'
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता अनुप बास्तोलाका अनुसार हालसम्म संक्रमितहरुलाई लक्षण अनुसारको औषधि मात्रै दिइँदै आइएको छ। अस्पतालमा भर्ना भएका कसैमा पनि हाइड्रोक्सिक्लोरोक्वीन प्रयोग नगरिएको उनले बताए।
'यसबारे धेरै अनुसन्धान भइरहेको छ। तर हामीले अहिलेसम्म यसको प्रयोग गरेका छैनौँ।अहिले गरिहाल्नु पर्ने अवस्था पनि छैन।'
प्रयोगको साइड इफेक्ट बढी
भक्सका अनुसार अमेरिका, फ्रान्स, चीन र दक्षिण कोरियामा हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग कोभिड १९ संक्रमितको उपचारमा प्रयोग गरिएको छ। यो औषधिको प्रयोगबाट भाइरस संक्रमितको उपचारमा सफल भएको दाबी समेत गरिएको छ। फ्रान्समा गरिएको एक अनुसन्धानमा हाइड्रोक्सिक्लोरोक्वीनले भाइरसलाई केही दिनमा नै शरीरबाट हटाउने निष्कर्ष निकालेको थियो। यद्यपि, ३६ जना विरामीमा मात्रै गरिएको उक्त परीक्षणबाट उक्त ट्याब्लेटको विश्वव्यापी प्रयोगका लागि ठोस आधार भने तय नभएको बताइएको छ।
यता हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोगबाट संक्रमित ठिक भइरहेको दाबी भइरहँदा अमेरिकामा गरिएको एक अध्ययनले प्रयोगको कुनै फाइदा नभएको निष्कर्ष निकालेको छ।
सीएनएनका अनुसार मेडरसिभ डट ओआरजीमा सार्वजनिक गरिएको रिपोर्टमा उक्त दाबी गरिएको हो। अमेरिकाको नेशनल इनस्टिच्युट अफ हेल्थ र भर्जिनिया विश्वविद्यालयबाट फन्डेड उक्त अनुसन्धानमा अमेरिकाको भेटरन हेल्थ एडमिनिस्ट्रेसन मेडिकल सेन्टरमा उपचाररत् रहेका सयौँ व्यक्तिहरुलाई आधार मानिएको छ।
उक्त रिपोर्टमा हाइड्रोक्सिक्लोरोक्वीन नलिने भन्दा लिनेहरुको धेरै मृत्यु भएको दाबी गरिएको छ।
३६८ जनामा गरिएको अनुसन्धानमा ९७ जनामा हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग गरिएको पाइएको थियो। यस्तै १५८ जनामा हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग गरिएको थिएन।
अध्ययनका क्रममा हाइड्रोक्सिक्लोरोक्वीन प्रयोग गरिएकाहरुको मृत्युदर २७.८ प्रतिशत रहेको र ट्याब्लेट प्रयोग नगरिएकाहरुको मृत्युदर ११.४ प्रतिशत पाइएको उल्लेख गरिएको छ।
'हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग भएका संक्रमितहरुमा मृत्युदर धेरै पाइएको छ। त्यसैले यसको विश्वव्यापी प्रयोग गरिनुभन्दा अघि यसबारे विस्तृत अध्ययन हुनुपर्छ' अनुसन्धानकर्ताहरुले रिपोर्टमा उल्लेख गरेका छन्।
कोरोना भाइरसको संक्रमणबाट विश्वका अधिकांश देश प्रभावित भइरहेको छ। भाइरसको सबैभन्दा धेरै असर अमेरिकमा देखिएको छ। र हाइड्रोक्सिक्लोरोक्वीनको सबैभन्दा धेरै प्रयोग पनि अमेरिकमा भइरहेको छ। संक्रमितहरुको उपचारमा संलग्न नर्सहरुले उपचारमा हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग गरेको पुष्टि गरिसकेका छन्। यद्यपि, अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले कुनै पनि औषधिलाई कोभिड १९ को उपचारका लागि स्वीकृति दिएको छैन। हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोगबारे हालसम्म अमेरिकी वैज्ञानिक र चिकित्सक अनुसन्धानमै रहेका छन्।
कोरोना भाइरसविरुद्ध हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग पुष्टि नहुँदा पनि अमेरिकी राष्ट्रपति ट्रम्पले भने यस ड्रगलाई 'गेम चेन्जर' का रुपमा व्याख्या गरेका छन्। साथै यसको प्रयोगले भाइरसलाई निर्मूल पार्न सक्ने सम्भावना रहेको बताइरहेका छन्।
यता चिकित्सकहरुले पनि हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग बारेमा थप अध्ययन हुनुपर्ने तर्क गर्दै आइरहेका छन्।
स्वीडेनमा गरिएको यसको प्रयोगबाट संक्रमितहरुमा नकारात्मक प्रभाव परेको थियो। संक्रमितहरुले आँखाको दृष्टि कमजोर हुँदै गएको बताएका थिए। यस्तै उनीहरुको मस्तिस्कमा समेत ड्रगले प्रभाव पारेको पाइएको थियो। त्यसपछि स्वीडेनमा यसको प्रयोग गर्न रोकिएको थियो।
यसअघि नै हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोगको धेरै नकारात्मक असर समेत देखिएको चिकित्सक बताउँछन्।
फुड एन्ड ड्रग डिपार्टमेन्ट अमेरिकाले हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोगबाट आँखाको दृष्टिमा समस्यादेखि मुटुमा असर, मांसपेसी कमजोरी हुने, सुगर लेभल घट्ने जस्ता साइड इफेक्ट देखिने उल्लेख गरेको छ।
हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोगमा देखिएका यस्तै साइड इफेक्टका कारण नै विश्व स्वास्थ्य संगठनले यस ड्रगको प्रयोगका लागि सिफारिस गरेको छैन।
ब्राजिलमा गत महिनामात्रै हाइड्रोक्सिक्लोरोक्वीन जस्तै मानिने क्लोरोक्विनको प्रयोगमा रोक लगाइएको थियो। क्लोरोक्विन दिइएको संक्रमितहरुमा मुटुमा समस्या देखिएपछि त्यसको प्रयोग रोकिएको थियो।
भारतमा समेत संक्रमितहरुमा हाइड्रोक्लोक्विनको प्रयोग गरिने तयारी गरिए पनि त्यसबाट विश्वभर ड्रगको प्रयोगबाट मृत्युदर बढेपछि यसको प्रयोग हुन सकेको छैन।
फ्रान्समा गरिएको अर्को अध्ययन मा समेत हाइड्रोक्सिक्लोरोक्वीन प्रयोग गरिएका र नगरिएका संक्रमितहरुको मृत्युदरमा कुनै फरक नभएको पाइएको थियो।