
काठमाडौं : काठमाडौं महानगरपालिकाभित्र आपूर्ति व्यवस्थालाई सहज बनाउन बिहान १० बजेसम्म पसल खोल्न दिने विषयमा महानगर र प्रशासन सकारात्मक देखिएका छन्। हाल विहान ९ बजेसम्ममात्रै खोल्न अनुमति छ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन लम्बिएसँगै आपूर्ति व्यवस्थामा केही असहज भएकोले आपूर्ति सहज बनाउन महानगरपालिकाले गरेको सरोकारवालासँग छलफल गरेको थियो।
‘लकडाउनको अवधिमा आपूर्ति व्यवस्थालाई सहज बनाउँदै आर्थिक गतिविधिलाई पनि चलायमान बनाइराख्नुपर्छ भन्नेमा छलफल भयो,’ महानगरका मेयर विद्यासुन्दर शाक्यले भने, ‘अहिले लकडाउनको अवस्थामा अतिविपन्न, असहाय र मजदुरलाई राहतको व्यवस्थामात्रै गर्ने होइन, आफैँ किन्न सक्नेलाई किन्ने वातावरण समेत निर्माण गरिदिनु पर्ने अवस्था छ। हामी सकेसम्म सहज वातावरण निर्माण गर्छौ।’
छलफलका क्रममा शाक्यले अहिलेसम्म महानगरपालिकाबाट मात्रै ६२ हजार ७ सय २२ जनाले राहत प्राप्त गरेको र १४ हजार ५ सय १७ जनालाई खाना खुवाएको बताए। ‘काठमाडौं महानगरबाट मात्रै यति धेरैलाई राहत वितरण गर्ने र खाना खुवाउने काम भएको छ,’ उनले भने, ‘यति हुँदा पनि खाने कुराको समस्या भएर गाउँ फर्किन बाध्य भएको भन्ने समाचारहरु आइरहेका छन्। खानाकै समस्या भएर गाउँ फर्किनु पर्ने अवस्था आउन दिदैँनौ भनेर हामीले पटक–पटक भन्दै आएका छौँ। कोही बाध्य छ भने हामी अहिले पनि उहाँहरुलाई खाद्यन्नको व्यवस्था गर्न तयार छौँ।’
उनले अहिलेसम्म काठमाडौं महानगरपालिका क्षेत्र भित्रका ८ सय ५६ जनाको र्यापिड टेष्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको भन्दै अहिलेको अवस्थामा काठमाडौँ सुरक्षित रहेकाले हतार गरेर उपत्यका नछाड्न महानगरवासीलाई आग्रह गरे।
महानगरपालिका क्षेत्रभित्रका पसललाई वडाले खोल भन्ने प्रहरीले बन्द गर्ने वा वडाबाट नखोल्नु भन्ने प्रहरीले खोल्नु भन्ने अवस्था हुँदा थप समस्या हुने भन्दै समन्वय गरेर मात्रै अघि बढ्नु पर्नेमा उनले जोड दिए।
छलफलमा व्यवसायीहरुले आपूर्ति व्यवस्थालाई केही चलायमान बनाउन लकडाउन अवधीभरी बिहान १० बजेसम्म पसल खोल्ने वातावरण बन्नुपर्नेलगायतका माग राखेका थिए। व्यवसायीहरुको मागलाई ध्यानमा राख्दै पसलमा बढी भिडभाड नगरी खाद्यन्न र आवश्यक सामाग्री किनमेल गर्न सहज बनाउने विषयमा महानगरपालिका र प्रशासन पनि सकारात्मक देखिएको छ।
प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले अवस्था अनुसार उत्पादन क्षेत्रमा लागेकाहरुलाई सरकारको निर्णयलाई बाधा नपुग्ने गरी सहजीकरण गरेको गरेको बताए। उनले कोरोना संक्रमणको शंका लागे तत्काल परिक्षण गर्नेतर्फ ध्यान दिन आग्रह गर्दै भित्रका कामहरुलाई र व्यापार–व्यवसायलाई सम्भव भएसम्म सहज बनाउनुपर्नेमा जोड दिए।
छलफलमा उद्योग परिसंघका अध्यक्ष शतिशकुमार मोरले उत्पादित बस्तुहरु बजारमा ल्याउन नसक्दा मूल्यवृद्धि हुने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन्। उनका अनुसार अब तत्कालै गाउँ फर्किने जनशक्तिलाई रोक्ने उपायका बारेमा खोजी समेत हुनुपर्छ।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले श्रमिकहरुको व्यवस्थापनमा गर्नुपर्ने बताएका छन्। खुद्रा व्यापार संघका अध्यक्षलगायतले पनि लकडाउनलाई केही खुकुलो बनाउँदै आर्थिक गतिविधिलाई विस्तारै चलायमान बताएका छन्।