PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

विश्वव्यापी 'प्यान्डेमिक'को कहरबीच बढ्दो 'इन्फोडेमिक' : एउटै फेसबुक पोस्टले पुर्‍यायो हिरासत, तिरायो जरिवाना



पहिलोपोस्ट

विश्वव्यापी 'प्यान्डेमिक'को कहरबीच बढ्दो 'इन्फोडेमिक' : एउटै फेसबुक पोस्टले पुर्‍यायो हिरासत, तिरायो जरिवाना

माइकल लेन ब्रान्डिडले सोचेका थिएनन् एउटै पोस्टका कारण आफू पक्राउ पर्छु भन्ने। जागिर गुमाउने र हिरासतमा बस्नु पर्ने त उनले कल्पना समेत गरेका थिएनन्।

मार्च महिनाकै एक साँझ उनी घरमै थिए। फेसबुक चलाउँदै। टाइमलाइनमा चर्चा थियो कोभिड-१९ को। विश्वभर माहामारी बनेर फैलिएको भाइरसविरुद्ध कसरी लड्ने? कसरी बच्ने उपाय पढ्दा पढ्दै उनले एक 'सोसल एक्सपेरिमेन्ट' गर्ने सोच बनाए।

र, फेसबुकमा लेखे – मलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। अनि डाक्टरले भनेका छन् अब त यो भाइरस हावाबाट पनि सर्छ।

मतलव अब यो संक्रमण सजिलै एकबाट अर्को मानिसमा सर्छ। कसैले खोक्नु वा हाँच्छ्यु गर्नुले ठूलो असर पार्छ।

उनको पोस्टमा आश्चर्यभाव र समवेदना व्यक्त गर्नेहरु आए। धेरैले उक्त खबर अविश्वसनीय भएको बताए। कतिले प्रश्न गरे। मेसेज गर्नेहरुलाई भने उनले त्यो पोस्ट फेक भएको बताएका थिए।

तर यथार्थ थाहा नपाउनेहरुलाई उनको पोस्टले दु:खी बनायो। टेक्सासस्थित टाइलर काउन्टीमा भाइरल बन्यो जहाँ उनी बस्छन्।

त्यतिखेर अमेरिकामा लकडाउन लागू भएको थिएन। त्यसैले धेरै मानिस आत्तिए। स्थानीय अस्पतालहरुमा सम्पर्क गरेर मिसेलको पोस्ट सही वा गलत भएको बारे सोधे।

टाइलर काउन्टीका नागरिकलाई कानूनी सेवा दिने सेरिफको कार्यालयमा उक्त खबर पुग्यो। तत्काल प्रहरीलाई खबर गर्‍यो। प्रहरीले ब्रान्डिडलाई फोन गर्‍यो र उक्त पोस्ट हटाउने निर्देशन दियो।

तर उक्त खबर सामाजिक सञ्जालमा फैलिसकेको थियो। त्यसैले सेरिफको कार्यालयबाट सामाजिक सञ्जालमा विज्ञप्ती जारी भयो। जसमा लेखिएको थियो – 'कोभिड-१९ बारे अफवाह फैलाउने २३ वर्षीय युवकलाई अपराधिक क्रियाकलापमा संलग्न भएको आरोप लागेको छ।'

ब्रान्डिडविरुद्ध आधारहीन र भ्रामक खबर फैलाएको आरोप लागेको हो।

'उनीहरुले मलाई पक्राउ गरेर लगे। अनि म एक रात जेलमै बस्नुपर्ने बताए किनकि मैले न्यायाधिसलाई पर्खनु थियो', उनले बीबीसीसँगको कुरानकानीमा भनेका छन्,'मेरो तनाव बढेको थियो।'

भोलिपल्ट उनलाई एक हजार डलर धरौटीमा रिहा भए। हाल उनी अन्तिम फैसलाको प्रतीक्षामा छन्।

'मैले आम सञ्चारमा ब्याचलर्स डिग्री छ। अनलाइनमा सार्वजनिक गलत खबरलाई हामी कति चाँडो विश्वास गर्छौं अनि त्यसले हामीलाई कति अत्याउँछ भन्ने बुझाउँन मात्र उक्त पोस्ट गरेको थिएँ', उनले भने।

उनले आफूले आम मानिसलाई फेसबुक पोस्टहरुमा सजिलै विश्वास नगर्नु भन्ने सन्देश मात्र दिन खोजेको थिएँ। उनले आफूसँग भएको पैसा प्रहरीलाई बुझाएका कारण मास्टर्स भर्ना हुन नसक्ने समेत बताएका छन्।

यस विश्वव्यापी माहामारीको चपेटमा मिथ्या समाचार र गलत सूचना पनि उस्तै द्रुत रुपमा प्रवाह भइरहेका छन्। विश्व स्वाथ्य संगठनले त यस अवस्थालाई 'इन्फोडेमिक' भनेको छ। इन्फोडेमिकका कारण कोरोना भाइरस सम्बन्धित भ्रमहरु फैलिएका छन्।

नेपालमा पनि केही समय अघि कोरोना भाइरस संक्रमणका कारण मानिहरुको मृत्यु भएको तर अस्पताल एवं सरकारी निकायले सूचना लुकाएको व्यहोराको भ्वाइस मेसेज सार्वजनिक भएको थियो। झोर्लेन्यूज डटकममार्फत् आधारहीन र तथ्यरहित अडियो सार्वजनिक गरेको अभियोगमा रामेछापका राजन थापा मगर पक्राउ परेका थिए।

उनले प्रहरीसँगको बयानमा आफ्नो पेजको 'रिच' बढाउन अफवाह फैलाएको बताएका थिए।

भारत, मोरोको, थाइल्यान्ड, रसिया केन्या लगायत देशमा पनि इन्फोडेमिक प्रोत्साहित गर्ने मानिसहरुलाई पक्राउन गरेको खबरहरु सार्वजनिक भएका छन्।

रोबर्ट अलाइले त एउटा ट्वीटकै कारण १० वर्ष जेल सजाय भोग्नु पर्ने सम्भावना देखिएको छ। ४१ वर्षीय रोबर्टले मोम्बासामा कोरोना संक्रमण फैलिएको खबर आफूसम्म आइपुगेको जनाएका थिए।

केन्या सरकारले गलत तथा भ्रमपूर्ण समाचार सेयर समेत नगर्न पटक पटक आग्रह गरेको थियो। यसैबीच रोबर्टले उक्त ट्वीट गरे र साइबर अपराध सम्बन्धी कानून उलङ्घन गरेको आरोप खेप्नु पर्‍यो।

'म गलत आरोपका कारण गलत ठाउँमा आइपुगें। जेलमा त दुई मिटरको दूरी कायम गर्ने ठाउँ समेत छैन', उनले बीबीसीसँग भनेका छन्।

नेपालमा कसैले यस्ता विषयमा अफहवा फैलाएको हकमा एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell