PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

के समाजवादी पार्टी फुटाउने खेलमा थिए पूर्व मन्त्री बास्कोटा? भन्छन् : आफ्नै छोरी नखरमाउली अरुलाई के को दोष



कुञ्जरमणि भट्टराई

के समाजवादी पार्टी फुटाउने खेलमा थिए पूर्व मन्त्री बास्कोटा? भन्छन् : आफ्नै छोरी नखरमाउली अरुलाई के को दोष
फाइल फोटो

काठमाडौं : पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई आफूमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका छन्। डाक्टर यादवले समाजवादी फुटाउने जिम्मेवारी प्रधामनमन्त्रीले पूर्व संचारमन्त्री बास्कोटालाई दिएको अभिव्यक्ति सार्वजनिक गरेपछि त्यसलाई पुष्टी गर्न बास्कोटाले चुनौती दिएका हुन्।

यादवले लगाएको आरोपबारे पहिलोपोस्टसँग प्रतिक्रिया दिँदै बास्कोटाले एउटै क्याविनेटमा मन्त्री हुँदासम्म सुरेन्द्र यादवसँग भेटघाट नभएको दावी गरे। बास्कोटा सेक्युरिटी प्रिन्टिङ प्रेसको विषयमा ७० करोड रुपैयाँ लेनदेनको विवादमा तानिएपछि मन्त्री पदबाट राजीनामा गरेर बसेका छन्।

उनले भने, 'म त्यही क्याविनेटको मन्त्री र उहाँ स्वास्थ्य राज्यमन्त्री हुँदा हाम्रो देखादेख हुनु स्वभाविक हो। तर, हाम्रो भेटघाट र कुराकानी समेत भएन। अरुलाई जथाभावी आरोप लगाउन पाइन्छ? मलै पनि त उहाँलाई बलात्कारी, भष्टाचारी भनेर आरोप लगाउन सकुँला। आरोप लगाउनले त्यसको पुष्टि गर्न सक्नुपर्छ। उहाँसँग मेरो भेट पनि भएको छैन्। कुरा पनि भएको छैन। म आरोप पुष्टि गर्न खुल्ला च्यालेन्ज दिन्छु।'

बास्कोटाले कुन पार्टी फुट्छ र जुट्ने कुरा अरु पार्टीकाले निर्धारण गर्न नसक्ने बताए।

'कुन पार्टी फुट्ने, कुन पार्टी जुट्ने भन्ने उनीहरुको विचारको कुरा हो। कुन पार्टीलाई फुटाउने र जुटाउने भन्ने अरु कुनै दलले निर्धारण गर्दैन्। मन नमिले फुट्छन्। मन मिले जुट्छन्। २०४७ साल यताको राजनीतिक दलको जुटफुटको श्रृङ्खला हेर्दा थाहा भइहाल्छ नि,' उनले भने।

उनले अर्का सांसद उमाशंकर अरगरियालाई संसदमा भएकाले देखादेखमात्र भएको तर पार्टी फुटाउने कुरा नै नभएको दावी गरे।

'एउटै संसदमा भएकाले देखादेख हुनु स्वभाविक नै हो। उहाँलाई मैले पार्टी फुटाउन प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ भनेर कहिले कुरा गरेँ? के मैले लेखेर दिएको छु? लेखेर दिएको छु भने उहाँले भन्नुपर्‍यो। त्यस्तो भए प्रमाणित गर्दिनुपर्‍यो,' उनले भने।

बास्कोटाले राष्ट्रिय सभाको निर्वाचनमा राजपासँग तालमेलका क्रममा समाजवादीका नेताहरुसँग पनि सहकार्यको लागि भएको बताए।

'म पनि राजनीतिक प्राणी हुँ। राष्ट्रिय सभाको निर्वाचनका बेलामा राजपासँग हाम्रो तालमेल भएको थियो। त्यतिबेला चुनावमा भोट हाल्नुस् भनेर पहिला एउटै क्याविनेटको मन्त्री रहेका मोहम्मद इस्तियाक राईसँग भोट मागेको हुँ,' उनले भने, 'चुनावमा भाग लिँदा भोट माग्न नपाइने भन्ने त हुँदैन। पार्टी फुटाउने कुरा त गरेको थिइन्। विपक्षी दलका नेताहरुसँग भेट्नै नपाइने भन्ने हुन्छ र?'

उनले पार्टीमा आउन चाहनेलाई स्वागत गरिने तर अरुको पार्टी फुटाउनुपर्ने अवस्थामा नेकपा नरहेको जिकीर गरे।

'पार्टीमा आए सबैलाई स्वागत छ। नेकपामा कांग्रेस नै आए नि हुन्छ। नेकपा झन् बलियो बन्छ। नेकपाले कसैलाई वैसाखी बनाउनुपर्ने अवस्थामा छैन। कसैको पार्टी फुटाउन हामीलाई के को चासो? मलाई लगाइएको आरोप १०० प्रतिशत झुटो हो। राजनीतिक मैदानमा सुहाउँदो कुरा भएन् यो,' उनले भने।

आफ्नो थैलीको मुख बाँध्न छोडेर अरुलाई चोर दोष लगाउन जरुरी नहरेको उनको भनाइ थियो। प्रधानमन्त्रीको विरोध गर्नका लागि उनीमाथि आरोप लगाएको बास्कोटाले तर्क गरे।

'प्रधानमन्त्रीलाई गाली नगरी निन्द्रै नलाग्ने एकथरी मान्छे छन्। प्रधानमन्त्रीले मलाई निर्देशन दिएको भए प्रमाणित गर्नुपर्‍यो। उता, अहिले यादवलाई अपहरण गरिएको भनिएको छ। यादवले नै अपहण होइन भनिरहेका छन्। उहाँलाई हात मुख बाँधेर ल्याएको होइन। आफैँ आउने अनि आफ्नो 'छोरी नखरमाउली अरुलाई के-को दोष?,' उनले प्रश्न गरे।

यादवलाई नेकपाका सांसद महेश बस्नेत र किसन श्रेष्ठले महोत्तरीबाट अपहरण शैलीमा ल्याएको आरोप छ। यहिबेला यादवले समाजवादी फुटाउन प्रधानमन्त्रीले गोकुल बास्कोटालाई यस जिम्मा दिएको सार्वजनिक अभिव्यक्ति दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell