PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

किमको स्वास्थ्य अवस्था: मौन उत्तर कोरिया, उत्तराधिकारी खोज्दै बाँकी विश्व



विधुर ढकाल

किमको स्वास्थ्य अवस्था: मौन उत्तर कोरिया, उत्तराधिकारी खोज्दै बाँकी विश्व

काठमाडौं : उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्यको विषयमा अन्तर्राष्ट्रिय मिडियामा अनेक चर्चा चलिरहे पनि उत्तर कोरिया भने यसबारे मौन छ। उत्तर कोरियाका सञ्चार माध्यमले यस विषयमा मौनता साँधेको दक्षिण कोरियाली समाचार संस्था योन्हापले जनाएको छ। 

तीन दिन अगाडि सिएनएनले उनको स्वास्थ्य अवस्था गम्भीर रहेको रिपोर्ट प्रकाशित गरेको थियो। सिएनएनको रिपोर्टसँगै उनको स्वास्थ्यका विषयमा चर्चा चलिरहेको छ। वासिङट्नले उनको स्वास्थ्यलाई नजिकबाट नियालिरहेको जनाएको छ। 

उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले किमले कुटनीतिक पत्राचार गरिरहेको र जनतालाई सम्मान स्वरुप उपहार पठाइरहेको रिपोर्ट प्रकाशित गरे पनि उनको स्वास्थ्यको विषयमा भने केही पनि खुलाएको छैन। 

बुधवार त्यहाँको स्टेट मिडियाले किमले सिरियाका राष्ट्रपति बशार अल असादलाई बधाइ सन्देश पठाएका थिए। हजुबुबा तथा उत्तर कोरियाका संस्थापक किम इल सङको जन्मदिनको अवसरमा उनले बधाइ व्यक्त गरेको बताइएको छ। 

रिपोर्टमा उनको दुई साता अगाडिको तस्विर सार्वजनिक गरिएको छ, जतिबेला उनी पार्टीको पोलिटव्युरोमा सहभागी भएका थिए। 

तर, अप्रिल १५ मा सङको जन्मदिन समारोहमा उनको अनुपस्थितिलाई लिएर उनको स्वास्थ्यको विषयमा चर्चा चल्दै आएको छ। उनले २०११ मा सत्तामा आएसँगै यस कार्यक्रममा सहभागी हुँदै आएका थिए। 

यद्यपि, दक्षिण कोरियाले भने उनको स्वास्थ्यको विषयमा त्यस्तो कुनै संकेत नदेखिएको बताएको छ। 

किम यतिबेला प्योङयाङ बाहिर एक ‘स्थानीय क्षेत्र’मा रहेको र प्योङयाङमा नियमित काम चलिरहेको दक्षिण कोरियाको राष्ट्रपति कार्यालयका अधिकारीले नजाएका छन्। 

बिहीवार भएको दक्षिण कोरियाको सुरक्षा परिषदको बैठकमा पनि यस विषयमा चर्चा भएको थियो। बैठकमा उत्तर कोरियामा त्यस्तो असामान्य संकेत नदेखिएको निष्कर्ष निकालिएको छ। 

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किमको स्वास्थ्यको विषयमा आएका रिपोर्टहरु गलत भएको बताएका छन्।

ट्रम्पले ह्वाइट हाउसको कोरोना भाइरस सम्बन्धी नियमित ब्रिफिङका क्रममा उनले आफूले रिपोर्ट गलत भएको बुझेको भन्दै रिपोर्ट होस भन्ने कामन गरेको बताएको सिएनबीसीले जनाएको छ। 

यता पूर्व बास्केटबल स्टार डेनिस रोडमानले उनको स्वास्थ्यका विषयमा भएका रिपोर्टहरुले चिन्तित तुल्याएको बताएका छन्।

‘म चाहन्छु यी सबै हल्ला हुन्,’ उनले भनेका छन्, ‘आशा गरौं मैले यस विषयमा थप जानकारी छिट्टै पाउने छु।’

किम रोडमानका फ्यान हुन्। रोडमान पनि पटक पटक उत्तर कोरियाको भ्रमण गर्दै आएका छन्। उनलाई उत्तर कोरियाका लागि अमेरिकी अघोषित राजदूतको रुपमा लिइन्छ। 

‘उत्तर कोरिया र अमेरिकाबीच हामीले धेरै काम गर्न बाँकी छ,’ उनले भनेका छन्, ‘यदि उनले आराम महसुस गरिरहेका छैनन् भने म उनको शिघ्र स्वास्थ्य लाभको कामना गर्छु कि मेरा दुवै साथीहरु (राष्ट्रपति ट्रम्प र नेता किम)ले शान्ति प्रक्रियामा थप काम गर्न सकुन्।’

बुधवार मात्र अमेरिकी जोइन्ट चिफ्स अफ स्टाफका उपाध्यक्ष जनरल जोन ह्याटनले पेन्टागनले किम उत्तर कोरियाको न्युक्लियर नेता नरहेको भन्ने त्यस्तो कुनै गोप्य सूचना नपाएको बताएका छन्। 

‘मलाई लाग्छ अझै पनि कोरियाको न्युक्लियर पावर र कोरियाको सैन्य फोर्सको नियन्त्रण किम जोङ उनमा नै,’ उनले भनेका छन्।

पछिल्ला घटना क्रमले ट्रम्पको कुटनीतिक असफलता भएको देखाएको ब्लुमबर्गले लेखेको छ। ‘किमको स्वास्थ्य अवस्था के हो भन्ने स्पष्ट त छैन। तर, यसले ट्रम्पको किमसँग प्रत्यक्ष पहुँच सकिएको संकेत गर्छ,’ ब्लुम्वर्गले लेखेको छ। 

उत्तर कोरियासँग अमेरिकाको द्विपक्षीय भन्दा पनि बढी ट्रम्पको व्यक्तिगत सम्बन्ध रहेको र अब त्यो बढी नरहेको बताइएको छ। ट्रम्प अमेरिकी इतिहासमा द्विपक्षीय सम्बन्ध भन्दा पनि नेता-नेताबीचको सम्बन्धमा विश्वा गर्ने नेता हुन्। यसअघि अमेरिकी इतिहासमा फ्रैंक्लिन डी रुजवेल्टले विदेश मन्त्रालयलाई बाइपास गर्दै जोसेफ स्टालीनसँग सम्बन्ध बढाएका थिए। त्यस्तै रोनाल्ड रेगन र जर्ज डब्लु बुसले पनि सोभियत संघका नेता मिखाइल गोभाचेभसँग व्यक्तिगत सम्बन्ध बढाएका थिए। 

‘ट्रम्पले सबै कुरा निजी बनाएका थिए र यही पुरानो पद्धति अपनाएका थिए। जसलाई उनले आफ्नो स्टेटक्राफ्ट भन्थे,’ ब्लुम्वर्गमा अगाडि लेखिएको छ, ‘राष्ट्रपतिले दशक लामो अमेरिका उत्तर कोरिया सम्बन्धमा प्रत्यक्ष संलग्न भइ दुई समिट गरे। किमलाई लभ लेटर लेखे। इतिहासले पनि के देखाएको छ भने व्यक्तिगत कुटनीति सफल हुँदैन्। र ट्रम्पले पनि त्यही गरे सुरक्षा निकाय र कुटनीतिक अधिकारीलाई अविश्वास गरे।’ 

यता किमको सत्तामा फर्किन नसके के होला भन्ने आँकलन सुरु भइसकेको छ। उत्तर कोरियाको शासन बागडोर कसको हातमा जाला भन्ने चर्चासमेत सुरु भइसकेको छ। संसारलाई थाहा भएका किमका एक छोरा छन्। १० वर्षका उनी सत्ता समाल्ने अवस्थामा छैनन्। किमका परिवारका युवा सदस्यहरु कोही मरिसके, कोही देश निकालामा छन्। उनका दाजु किम जोङ चोल विकल्प हुन्। तर, उनी राजनीति भन्दा बाहिर छन्। अब बाँकी विकल्प भनेको किमकी बहिनी किम यो जोङ हुन्। उनी पछिल्लो समय राजनीतिमा सक्रिय छन्। किम जोङ उन पछाडिको मास्टर माइन्डको रुपमा उनलाई लिइँदै आएको छ। उनकी बहिनी नै किम पछाडिको उत्तर कोरियाको नेतृत्व गर्ने नेसनल इन्ट्रेस्ट म्यागेजिनमा उल्लेख छ।

अहिलेकै अवस्थामा उत्तर कोरियामा नेतृत्वको अभाव भए क्षेत्रीय अस्थिरता थप फैलिने चेतावनी दक्षिण कोरियाका पूर्व लेफ्टिनेट जनरल चुन इन बमले दिएका छन्। ‘यदी उत्तर कोरियामा कुनै नेतृत्व भएन भने हामी सबैका लागि खराब समाचार हो। यसले अस्थिरता ल्याउँछ,’ वमले मिलिटरी टाइम्ससँग भनेको भन्दै स्पुतनीकले लेखेको छ।


उनले गृहयुद्ध र शरणार्थी समस्या थपिने बताएका छन्। 
 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell