PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

सांसद उठाएर ल्याउनेलाई ‘बालुवाटारको जग्गा फिर्ता गर्दा माफी दिइएको’ शैलीमा उन्मुक्ति दिन मिल्दैन: कांग्रेस



पहिलोपोस्ट

सांसद उठाएर ल्याउनेलाई ‘बालुवाटारको जग्गा फिर्ता गर्दा माफी दिइएको’ शैलीमा उन्मुक्ति दिन मिल्दैन: कांग्रेस

काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा उठाएर ल्याउनेहरु माथि कारवाही गर्न माग गरेको छ।

सरकारले राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिएलगत्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन्, 'अध्यादेश फिर्ता भए पनि यो प्रकरणसंग गाँसिएको अपहरणको शैलीमा समाजवादी पार्टीका एक सांसदलाई काठमाडौं ल्याइएको घटनाका दोषीलाई ‘बालुवाटारको जग्गा फिर्ता गर्दा माफी दिइएको’ शैलीमा झैं विवादास्पद ढंगले उन्मुक्ति दिन मिल्दैन।'

यसअघि बालुवाटार जग्गा प्रकरणमा नेकपा महासचिव विष्णु पौडेललाई जग्गा फिर्ता गरेको भन्दै उन्मुक्ति दिइएको थियो। सांसद अपहरण प्रकरणमा बालुवाटार जग्गाजस्तो उन्मुक्ति नदिन कांग्रेसले माग गरेको हो। सांसद यादवलाई अपहरण शैलीमा काठमाडौं ल्याउनमा पूर्वआइजीपी सर्वेन्द्र खनाल, नेकपाका सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ संलग्न छन्।

'नेपाली कांग्रेस यो गम्भीर प्रश्नमा हस्तक्षेपमुक्त गहिरो अनुसन्धान र जो कोहिको संलग्नता रहेपनि इमान्दार कानूनी कारवाहीका लागि अपील गर्दछ,' विज्ञप्तिमा भनिएको छ।

कांग्रेसले अध्यादेश फिर्ता हुँदैमा यसले प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति दिन नहुनेमा जोड दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell