
काठमाडौं : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ट्रेसिङ र टेस्टिङ कार्यमा सहजीकरण गर्न भन्दै सरकारले स्थानीय निकायमा खटाउने गरी टोली गठन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले स्थानीय तहमा हुने ट्रेसिङ तथा टेस्टिङ कार्यमा सहजीकरण गर्न तीन सदस्यीय स्वास्थ्यकर्मीहरुको समूह गठन गरिएको बताएका हुन्।
उनले हरेक स्थानीय तहमा खटाउने गरी समूह गठन गरिएको बताए। उक्त समूहमा जनस्वास्थ्य अधिकृत, ल्याब प्रयोगशालाको कर्मचारी, प्यारामेडिक्स वा नर्स एक/एक जना रहनेछन्। हरेक गाउँपालिकामा एक समूह, नगरपालिकामा २ समूह, उपमहानगरपालिकामा ३ समूह र महानगरपालिकामा ५ वटा समूहका दरले खटाइने समेत उनले बताए। प्रवक्ता देवकोटाले समूह बनाउँदा स्थानीय स्वास्थ्यकर्मी एवं जनशक्तिलाई नै प्राथमिकता दिइने समेत बताए।
यस्तै प्रवक्ता देवकोटाले शुक्रवार कोरोना भाइरस संक्रमण भएका कुनै पनि नयाँ बिरामी नथपिएको बता। उनका अनुसार अहिलेसम्म पिसिआर प्रविधिबाट ९ हजार ४ सय ७ जनाको परीक्षण भएको छ। यस्तै आरडिटी विधिबाट ३८ हजार ८९ परिक्षण गरिएको छ। यससँगै कोरोना भाइरस परीक्षण गरिएको कुल संख्या ४७ हजार ४ सय ९६ पुगेको प्रवक्ता देवकोटाले बताए।