PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

यस्तो छ भोजपुरका कोरोना संक्रमितको उदयपुर कनेक्सन, स्थानीय अधिकारी भन्छन्, 'अझै ठूलो खतरा छ'



प्रकाश भण्डारी

यस्तो छ भोजपुरका कोरोना संक्रमितको उदयपुर कनेक्सन, स्थानीय अधिकारी भन्छन्, 'अझै ठूलो खतरा छ'

काठमाडौं : उदयपुर कोरोनाको हटस्पट बनेको छ। हालसम्म पुष्टि भएको ४८ कोरोना संक्रमित केसमध्ये २८ जना उदयपुरमै भेटिएका हुन्। काठमाडौंबाट देखिन सुरु भएका कोरोना संक्रमण सुदुर पश्चिम हुँदै पूर्वी नेपालमा बढ्न थाले।

गएको बिहीवार दुई नयाँ स्थानमा कोरोनाको संक्रमण देखियो। जनकपुर र भोजपुर। यी दुवै जिल्लामा पहिलोपटक संक्रमित देखिएका हुन्। जसमध्ये भोजपुरमा भेटिएका संक्रमितको सम्पर्क सुनसरी हुँदै उदयपुरसम्म पुगेको देखिन्छ।

+++

भोजपुरका २६ वर्षीय युवा दुई वर्षअघि साउदी अरब गए। कम्पनीको काममा। कमाइ ठीकै थियो। आफू खाएर, बसेर घरमा श्रीमती, छोरी, वुवा र भाइहरुलाई पनि पठाउन पुग्ने।

यसै वर्ष फागुन अन्तिम तिर उनको साउदीको भिषा सकिँदै थियो। त्यसको केही महिनाअघि देखि नै संसार भर कोरोनाको त्रास फैलिसकेको थियो। त्यसैले भिषाको अवधि थप गर्नतर्फ लागेनन्। केही समय नेपाल फर्कने। परिवारसँग समय बिताउँने अनि कोरोना संक्रमणको त्रास केही साम्य भएपछि फर्कने योजना बनाए।

फागुन ३० गते उनले साउदी छाडे।

चैत १ गते नेपाल आइपुगे। हिमालयन एअरलाइन्सको ९५६० नम्बर फ्लाइटमार्फत्।

उनी बिहानै काठमाडौं झरेका थिए। त्यसैले सोही दिन बस चढे र सुनसरीतर्फ हान्निए।

घर भोजपुर तर सुनसरीस्थित चतारा किन गए त उनी?

किनकि उनकी श्रीमती र छोरी चतारामा बस्छन्। त्यहाँ उनले एक साता बिताए।

त्यसपछि पनि आफ्नो थलो भोजपुर भने गएनन्।

चैत ८ गते श्रीमतीसँगै उदयपुरको माङटेनमा रहेको सुसुराली पुगे। विदेशबाट आएकाले ज्वाइँ। ससुराली सँगै अन्य आफन्तको घरमा पनि पुगे। भेटघाट गरे। तीन दिन त्यही बसे।

ज्वाइँ विदेशबाट आएकाले ससुराली घरमा पूजा नै लगाइयो। पूजामा प्रसाद चाख्न छर छिमेक भेला भए। पुरेतसँग नजिक तिनै ज्वाइँ रहे। कर्मकाण्ड पूरा गर्ने र गराउने बीच घुलमिल नहुने कुरै भएन।

ज्वाइँ त घरमै रहे तर पुरेतको अन्त पनि पूजा लगाउन पुग्नु थियो। हतार हतार निस्किए।

ती युवाको ससुराली माङटेन गाउँ हो जुन बेलका नगरपालीका वडा नं ७ मा पर्छ।

त्यहाँका वडा अध्यक्ष सुरेन्द्र राई भोजपुरका कोरोना संक्रमित व्यक्ति ससुरालीमा बसुन्जेल धेरैसँग घुलमिल गरेको बताउँछन्। भेटघाट मात्र होइन भलिबल लगायत खेलकुद पनि गरेका थिए।

संक्रमितको ससुरालीमा पूजा लगाउने पूजारी धामी समेत भएकाले उनी झारफुकका लागि सक्रिय रहेर एक घरबाट अर्कोमा पुगेको बताउँछन्।

'एक महिना जति भइसकेको रहेछ। पूजारीले कति ठाँउमा पूजा लगाए, झारफुक गरे उनैलाई पनि राम्ररी याद छैन। यदि ती व्यक्ति विदेशबाट फर्कँदै संक्रमित थिए भने त यहाँ अझै धेरै खतरा छ', उनले भने।

चैत १२ गते भोजपुरको हतुवागढी गाउँपालीका वडा न ६ स्‍थित आफ्नै घर फर्किए उनी। घर पुगेको दिन लकडाउन घोषणा भइसकेको थियो।

सरकारले चैत महिनामा विदेशबाट आएका सबैको कोरोना परीक्षण गर्ने निर्णय गर्‍यो। सोही निर्णय अनुसार उनको पनि र्‍यापिड टेष्ट भयो। उनी विदेशबाट आएको ४० दिन पछि वैशाख १० गते परीक्षणको नतिजा सकारात्मक देखियो।

त्यतिन्जेल उनमा कोरोनाको कुनै किसिमको लक्षण देखिएको थिएन। तर पनि परीक्षण आवश्यक थियो।

गाउँपालीकाले उनको स्वाब संकलन गर्‍यो। त्यसलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर परीक्षणका लागि पठाइयो।

वैशाख ११ गते उक्त रिपोर्टमा पनि कोरोना पोजेटिभ नै देखियो।

लगत्तै उनको ससुरालीका ५ जना सदस्यको स्वाब बिहीवार कोरोना परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। ती पाँचै जनाको र्‍यापिड टेस्टमा भने रिपोर्ट नेगेटिभ देखिएको थियो।

उनले भेटेका अन्य मानिसको परीक्षण कहिले र कसरी हुन्छ त?

बेलका नगरपालीकाका मेयर दुर्गाकुमार थापाका अनुसार ती युवाको ससुरालीका सबै सदस्यको पिसिआर रिपोर्ट शनिबार आउँछ। त्यसपछि को र कति जनाको परीक्षण गर्ने बारे निर्क्यौल गर्ने बताउँछन्।

हाल उनको ससुरालीका कसैलाई पनि बाहिर निस्किन दिइएको छैन। 'हामीले त उहाँहरुको घरलाई नै क्वारेन्टाइन बनाएको छौं। ज्वाइलाई संक्रमण देखिएपछि आत्तिनुभएको थियो। सम्झाइ बुझाइ घरमै रहने वातावरण मिलाएका छौं', उनले भने।

होम क्वारेन्टाइनमा रहेकी उनकी श्रीमती किरण कुमारी राई घर आएपछि आफूहरु सबैसँगै बसेका कारण पनि डर र जोखिम दुवै रहेको बताउँछिन्।

कुनै लक्षण नदेखिएकाले सँगै बसेको उनको भनाइ छ।

'विदेशबाट आएपछि म सुनसरीमा थिएँ सँगै बस्यौं। त्यतिबेला अहिलेको जस्तो केही हल्ला थिएन। उहाँलाई कुनै लक्षण पनि थिएन।'

र्‍यापिड टेस्टमा पोजेटिभ देखिएपनि पीसीआर नेगेटिभ आउँला भन्ने आशा राखेको बताउँछिन् उनी।

'रिपोर्ट पोजेटिभ देखिएपछि उहाँ केही निराश हुनुभएको थियो तर मैले सम्झाएँ। केही सम्हालिनु भयो। सायद चाँडै ठीक हुन्छ भन्ने आशा छ', उनले सुनाइन्।

भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्त पुरीका अनुसार संक्रमित युवाका परिवार र छरछिमेको समेत परीक्षण हुँदैछ।

पुरी अहिले तत्काल परीक्षण गर्नलाइ आरडिटी किट अभाव भएको बताउछन्। 'हामीले उनका घरका सबैको आरडिटी गरेउ सबै नेगेटिभ नै छ। तैपनी पीसीआरका लागि नमुना पठाएका छौं रिपोर्ट भोली आउछ', उनले भने।

परिवार र छिमेकीहरुमा कोरोना पोजेटिभ देखिएको खण्डमा गाउँपालीका पूरै सिल गर्ने तयारी भइरहेको छ। त्यसका लागि आरडिटी किट प्रदेश सरकारले उपलब्ध गराउने हतुवागढी नगरपालीकाका अध्यक्ष प्रेम कुमार राइले जानकारी दिए।

उनी अहिले गाँउ उच्च जोखिममा रहेको बताउँछन्। उनका अनुसार संक्रमित गाउँका धेरै मानिससँग घुलमिल भएकाले कन्ट्याक्ट ट्रेसिङ अप्ठ्यारो भइरहेको दावी गर्छन्।

'अहिले तत्कालै को को सँग भेट भयो पत्ता लाउन पनि गाह्रो भइरहेको छ। सबैको परीक्षणका लागि तत्काल गाउँमा पर्याप्त किट पनि छैनन्,'उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell