PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

लकडाउनले रोकेको आमाको मुख हेर्ने दिन… [ब्लग]



पहिलोपोस्ट

लकडाउनले रोकेको आमाको मुख हेर्ने दिन… [ब्लग]
मातातीर्थ मन्दिरमा भक्त। यसदिन लकडाउनले मन्दिर बन्द रह्यो। भक्तहरु बाहिरैबाट फर्किए।

  • दीपज्योति श्रेष्ठ -

अचानक एउटा फोन आयो। फोन चमा अर्थात् सानिमाको थियो। प्राय: म उहाँलाई फोन गरिरहन्थेँ। आजकल भने घरबन्दीले म के केमा अलमलिरहेको छु। अफिसको स्काइप र जुम मिटिङमा फसेकाले गर्दा होला फोन गर्ने मेसै पाउदिन रहेछु। सायद्, त्यसैले होला यसपटक उहाँले नै फोन गर्नु भएको पो हो कि।

नेपाल टेलिकमले अहिले १० रुपियाँमा दिनभरिको लागि करिब १०० मिनेटको भ्वाइस प्याक दिन थालेको रहेछ। मलाई पत्तो थिएन। आजकल इन्टरनेट डाटा प्याक किन्ने बानी भएर होला भ्वाइस प्याकको पत्तै हुन्न रहेछ। उतैबाट फोन आएकाले म चाहिँ पैसा धेरै किन सकाइदिनु भनेर सन्चो बिसन्चोमात्र सोधेँ। अनि म भरे गर्छु नि भनेर राख्‍न खोज्दै थिएँ - ‘होइन जति नि बोल्न पाइन्छ। मैले भ्वाइस प्याक तान्या छु के’ भन्नुभो।

ए। त्यस्तो पनि गर्न आउँछ भनेर मैले जिस्काएँ। सन्चो बिसन्चोसँगै उहाँले लकडाउनको दैनिकी, गाउँतिर लकडाउनको प्रभावबारे सुनाउनु भयो। मलाई पनि हामी शहरमा घरभित्रै कोचिएकाहरु भन्दा गाउँमा मान्छेहरु के कसरी दिन बिताइरहेछन् भनेर बुझ्न चाख लाग्यो। अनि भ्वाइस प्याकको सदुपयोग पनि त गर्नु थियो। त्यसै १० रुपियाँ नेपाल टेलिकमलाई के व्यर्थमा चडाउनु जस्तो लाग्यो। अनि मैले पनि कुराहरु सोधेँ उहाँले सबै मेसैसित बताउनु भयो।

‘अहिले त गाउँमा सब तह लागेका छन् नि। त्यतिबेला भूकम्प जाँदा सब अल्छी भएका थिए। राहत पाउँछ भनेर खेतबारीको कामै नगर्ने, घर बनाउन हिँड्ने, खेतबारी सब बाझो भएको थियो। अहिले त घरमा बस्दा बस्दा अल्छी लागेर हो कि अब महामारीले खान पाइन्न भनेर हो, सबै खेतबारीमा। सबै जाँगरिला भएर अचम्मै छ। सबै गाउँ फर्किएका छन्। कहिले बुढा बा आमाको सन्चो बिसन्चोसम्म सोध्न फुर्सद नभएकाहरु पनि अहिले घरमा आउन भ्याएका छन्। बाबु आमा सम्झिएर त के आएका होला र! आफ्नै ज्यानको माया लागेर आएका होलान्। यो कोरोनाले संसारभरि दु:ख त दिएको छ तर पनि हाम्रोतिर भने धेरै एक्लै बुढेसकाल काटिरहेका आमाबाबुले आफ्नो छोरा छोरी, नातिनातिना, छोरा बुहारीसँग समय बिताउन पाएका छन्। अझ गज्जबको कुरा त कति बुहारीहरु सायद् बिहेमा मात्र घरमा भित्रिएका हुँदा हुन्। अहिले लकडाउन कि कुन्नि के ले गर्दा आउन बाध्य भए भन्दै जोडले हास्नुभयो उहाँ।

बेला बेलामा यस्तो विपदहरुले आफ्नो मान्छे, आफ्नो घर, आफ्नो गाउँ किन चाहिँदो रहेछ भनेर महसुस गराइरहनु पर्ने रहेछ हामी मानव जातिलाई। नत्र घर परिवारको माया फेसबुकमा फोटो पोस्टिएर मात्र अभिव्यक्त गरिने यो समयमा परिवारको साम्पियताको महत्व हराउन थालिसकेको छ। बुढा बा आमाको हालचाल सोध्ने फुर्सद छैन आजकल छोराछोरीलाई। भेट्न जान त परै जाओस्।

‘धन्न नेपालमा एउटा दशैं छ र धानिरहेको छ परिवारको अस्तित्व’ भन्दै उनी त इमोसनल पो हुन थालिन्। घरि घरि मलाई नि पेच्का हानेको हो कि जस्तो पनि लागिरहेथ्यो। तर, मैले भने एउटा रुटिन बनाएको छु कुन दिन क-कसलाई फोन गर्ने। अनि २-३ महिनामा सबैलाई भेट्न गइ पनि राख्छु। त्यसैले, मप्रति त सायद् गुनासो होइन होला। आफैँले आफैँलाई चित्त बुझाएँ।

हुन पनि हो आजकल हाम्रो पारिवारिक दुरी पहिलाको हेरी खल्बलिएको छ। समयले हो कि आधुनिकताले हो, हाम्रो व्यस्त दैनिकीले हो कि के हो त थाहा भएन। तर, हामी वास्तविक सामिप्यतामा भन्दा भर्चुअल सामिप्यतामा बेसी रमाउने भइरहेका छौं।

कुरा लम्बिँदै गयो किनकि मोबाइलमा पैसा काटिने पिर थिएन। अझ उहाँ गर्वका साथ भन्दै हुनुहुन्थ्यो- ‘फोन मैले गरेको हो के अत्तालिनु पर्दैन।’ अनि हामी जोडले हास्यौं।

उहाँ एक छिन फेरि भावुक हुनुभयो।

‘साँची एउटा कुरा सोध्नु पर्‍यो तिमीहरु त जाने बुझेको मान्छे। एक महिना भइसक्यो हामी कतै गएको छैन। भोलि आमाको मुख हेर्ने दिन मामाघर जाउँ भनेको के हुन्छ?’

मेरो मामाघर उनको चाहिँ माइती।

‘घरभित्रै बसेको हामीलाई त के रोग होला र है? अहिलेसम्म खै रुघा लागेको पनि छैन, ज्वरो आएको पनि छैन। धेरै भयो माइती जान नपाएको पनि। अरुबेला त फोनमा कुरा गरेर पनि केही भएन, वर्षदिनमा आउने चाँड। बुढाबुढी भएको मान्छे अर्को साल के हो के हो। एक मन यसो एकछिनलाई बिहान जाउँ कि भन्छ। अर्को मन के थाहा न मैले केही रोग बोकेको हुन्छु कि! न आमाकैबाट केही सर्ने पो हो कि। फेरि आमा उसै त प्रेसर र दमको बिरामी। नयाँ मान्छेको सम्पर्कमा आउँदा केही भयो भने? त्यति एकछिनको रहरले के गर्नु? मलाई त आज दिक्क लागिरहेछ’ भन्नुभयो।

म पनि निशब्द। हुन पनि हो अरु चाँडभन्दा बुबा आमाको मुख हेर्ने दिन भनेको मान्छेको भावनासँग जोडिएको हुन्छ। मेरो पनि अन्तिम पटकको आमाको मुख हेर्ने दिन यस्तै भएको थियो। आमा बिरामी हुनुहुन्थ्यो अब यस्तो बेला के मनाउनु? निको भएसी धुमधामले मनाउने भन्दाभन्दै अर्को साल आमाको मुख नै हेर्न पाइएन। त्यो पटकदेखि समयको भर हुन्न। भ्याएसम्म सबै कुरा समयमै गर्नुपर्छ भन्ने लाइनको मान्छे म। तर, अहिलेको समयमा भने मलाई ठ्याक्कै केही सुझाव दिनै आएन। अनि भनेँ -‘अब क-कससँग के रोग हुन्छ कसरी सर्छ भन्ने नै थाहा हुन्न अहिले। अरु त केही थिएन हजुरआमालाई उसै नि के के रोग छ। बुढाबुढी मान्छे रिस्क किन लिने भनेर घुमाउरो पाराले नगए राम्रो भनेँ। मलाई थाहा थियो उहाँले चाहँदा नचाहँदै पनि आफ्नो मनलाई मनाउने कोसिस गर्नुभयो होला।

प्रत्यक वर्ष आफ्नो व्यस्त दैनिकीबाट समय निकालेर आमाको मुख हेर्ने बहानामा धेरै विवाहित छोरीहरु औसीको दिन माइती जाने मेसो मिलाएको देखेको छु। कोरोनाले सामाजिक दुरीलाई घटाउ भनिरहँदा धेरैले यो अवसर गुमाए। धेरैलाई उहाँलाई जस्तै अर्को साल के हो के हो भन्ने पनि लागिरहेको होला। नराम्रो नसोचौं। सबै कुरा राम्रो हुन्छ। यो समय नै यस्तै हो। आज सबैजना यही अवस्थाबाट गुज्रिरहे। आमाको जीवन रहे न हामी फेरि फेरि यस्ता चाडहरु मनाउन सक्छौं।

कुरा गर्दा गर्दै सानिमाको मोबाइलमा भ्वाइस प्याक सकिन लाग्यो भनेर नोटिफिकेसन आयो। सायद् अनि ‘लु अब १० रुपियाँ सकिन लाग्यो जस्तो छ हाम्रो गफ सकिएन। तर आज मरिन्छ कि भोलि मरिन्छ। म त आजकल एक दिनमा कहिले १० कहिले १५ रुपियाँको भ्वाइस प्याक किन्छु अनि सबैलाई फोन गर्छु’ भनेर फेरि पहिलेको मुडमा फर्किनुभयो।

मेरो दिमागले पनि एउटा आइडिया निकालिहाल्यो ‘ल म भोलि सबैलाई ग्रुपमा राखेर भिडियो कल गर्छु नि।’ उहाँ के हो त्यो अनि कसरी गर्ने भन्दै हुनुहुन्थ्यो। मैले म भोलि सबैलाई गर्छु अनि थाहा हुन्छ। मैले पनि त सानिमाहरुको मुख हेरिदिनुपर्यो नि नत्र फेरि छोरी पनि ठूली भई भन्लान्। फोन काटियो। सायद, भ्वाइस प्याक सकियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell