PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

अंशु अस्पतालबाट फर्केपछि बाग्लुङ पनि संक्रमणमुक्त



रासस

अंशु अस्पतालबाट फर्केपछि बाग्लुङ पनि संक्रमणमुक्त

बाग्लुङ : कोरोना भाइरसको संक्रमणका कारण धौलागिरी अञ्चल अस्पतालमा २८ दिनदेखि उपचाररत अंशु सापकोटा घर फर्केपछि बाग्लुङ जिल्ला पनि कोरोना संक्रमणमुक्त जिल्ला बनेको छ।

बाग्लुङ नगरपालिका–४ की १९ वर्षीया अंशु धवलागिरि अञ्चल अस्पतालको आइसोलेसन कक्षमा उपचाररत थिइन्। उनी गए राति १० बजे अस्पतालबाट घर फर्किन्।

अस्पतालबाट घर फर्कने क्रममा सापकोटाले आफ्नो आत्मबल र चिकित्सक, स्वास्थ्यकर्मीको स्याहारले कोरोनालाई जित्न सफल भएको बताइन्। ‘म खुसी छु, मलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु,’ उनले भनिन्, ‘अस्पतालमा बस्दा राम्रो हेरचाह पाएँ, परिवार र आफन्तले माया दिनुभयो।‘

लगातार पाँचौ र छैटौँ जाँचमा कोरोनाको नेगेटिभ रिपोर्ट आएपछि सापकोटालाई डिस्चार्ज गरिएको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरलले जानकारी दिए।

‘उहाँको स्वास्थ्य अवस्था राम्रो छ, दुई हप्ता घरमा पनि अलग्गिएर बस्न लगाएका छौँ,’ पोखरेलले भने।
सापकोटाका बुबा ऋषिरामले छोरीमा सङ्क्रमण भएको थाहा पाउँदा पीडा भए पनि निको भएर फर्कदाँ सिङ्गो परिवारमा खुशी छाएको बताए। बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आएकी सापकोटामा चैत १५ गते कोराना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो।

उनीसँगै एउटै विमानमा बेल्जियमबाट आएकी सोही नगरपालिका–३ की सङ्क्रमित ६५ वर्षीया मनकुमारी पौडेल निको भएर अघिल्लो शनिबार नै घर फर्किसकेकी छिन्। पौडेलमा गत चैत १५ गते कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको थियो। सापकोटा नेपालको पाँचौँ र बागलुङको पहिलो सङ्क्रमित हुन् भने पौडेल नेपालको छैटौँ र बागलुङको दोस्रो सङ्क्रमित। दुवै सङ्क्रमित निको भएपछि हाललाई बागलुङ कोरोनाका बिरामीमुक्त जिल्ला भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell