PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कोरोनाको भयमा धर्मको ‘धम्की’!



पहिलोपोस्ट

कोरोनाको भयमा धर्मको ‘धम्की’!

  • विमल गौतम -

#सुरु

देश सुब्बा भन्छन्, “जीवित प्राणीमा चेतना हुन्छ नै। चेतनाकै कारण मान्छेलाई ज्ञान हुन्छ। ज्ञानपछि भय। यही भयबाट निस्किन हामी चारैतिर दौडिरहेका हुन्छौँ, संगठन बनाउँछौँ, देश बनाउँछौँ, सम्पत्ति आर्जन गर्छौँ। आफूलाई बचाउने, सुरक्षित गर्ने सिलसिलामा अरूलाई काट्छौँ, मार्छौँ, आतंकित बनाउँछौँ।"

म भयवादी चिन्तन र दर्शनको गहिराइमा पुग्न असमर्थ छु किनकि मसँग न विषद् दार्शनिक चेत छ न भयवादको व्यापक अध्ययन। सायद् चेतना भएकाले नै होला मेरो मनमा भय छ। म भयसँगै हुर्केको हुँ भन्ने मेरो बुझाइ हो। र, हर पाइलामा भय टेकिरहेको छु। हुन त भय दर्शन नभएर संवेग मात्रै हो भन्ने तर्क पनि छ। जे भए पनि भयको अस्तित्व चाहिँ सत्य हो। अहिले कोरोनामय भय संसार डुलिरहेछ। मेरो मनमा कोरोना सहितका विविध भय डुलिरहेछन्। बन्दाबन्दी चलेर कोठामा थुनिएको अवस्थामा उद्घाटित केही भय पोख्‍न जाँदै छु।

#कोरोना भय

कोरोना भाइरसले अहिले महामारीको रूप लिएको छ। एक लाखभन्दा ज्यादा मानिसको मृत्यु भएको छ। बीसौं लाखौं मानिस संक्रमणको शिकार भएका छन्। अरबौँ मानिस मानिस आफ्नै घरभित्रै थुनिएका छन्। रोगको मात्रै भय छैन। रोगसँग भोकको पनि भय थपिएको छ। काम नगर्दा आफ्ना अङ्गले कामै पो नदेलान् भन्ने भय छ। मानसिक रोगको शिकार हुने भय छ। विदेश हुनेहरूलाई परिवार देख्नै नपाइएला भन्ने भय छ।

राहत वितरण गर्नेलाई फोटोमा नअटिएला भन्ने भय छ। राहत लिनेलाई त्यही फोटोले आत्मस्वाभिमानमा चोट पुग्यो कि भन्ने भय छ। साथमा चुल्हो नबल्ला कि भन्ने भय पनि। देशमा आफैंले भोट दिएर जिताएका लोककल्याणकारी राज्य संचालन गर्छु भन्नेहरू छन्। अझ सर्वहाराका हौँ भन्नेहरू। अनि भोकै मरेको खबरले उनीहरुको इज्जतमा दाग नलागोस् भनेर यो बुलेट ट्रेनको जमानामा पनि खाल्टोबाट भोका पेटहरू झोला बोकेर नाप्दै छन्। सुदूरपूर्व र सुदूरपश्चिम जाने सयौँ किलोमिटर सडक। उनीहरूका प्रत्येक पाइलामा भय त छँदै छ। उता रित्तो झोलामा केही छ कि भनेर रित्तै आँखा हेर्ने बचेरालाई के जवाफ दिने भन्ने भय छ। भोकै रोएकाहरूको क्रन्दन सुन्नुपर्ला भनेर सरकार आफैँ भयले कान थुनेर सुत्छ। कोरोना भयले आफ्नो उचाइ कम देखिएला कि भनेर लिलिपुटे सोचहरू कुर्लँदै छन् नागलोक तिर। किनकि मान्छे मरे नि ब्यापारघाटा हुनुहुन्न रे! कत्रो भय?

सिङ्गो देशका प्रधानमन्त्री भन्ठानेका ब्यक्ति आफ्नो झुन्डको बचाउका निम्तिमात्रै देशका नाममा सम्बोधन गर्छन्। कुन भयले हो? यो वर्ष त भकारी भरी धान भएकोले राहत माग्ने भय। अनि अर्को वर्ष के भोकभोकै मर्नुपर्ला भन्ने भय छ किसानलाई। कोरोना भयसँगै जोडिएका थुप्रै भयहरूमा अहिले धार्मिक भय पनि प्रखर भएर आएको छ।

#धर्म भय

किराँत, बौद्ध, हिन्दू, मुस्लिम, इसाई लगायत विश्वमा थुप्रै धर्म परम्पराको अस्तित्व छ। धर्म मानिसको आस्था र विश्वाससँग जोडिएको विषय हो। यो मानिसको दैनिक अभ्यास पनि बनेको छ। जतिसुकै वैज्ञानिक विचार र सिद्धान्तको प्रतिपादन भए पनि धर्मलाई प्रतिस्थापन गर्ने औकात कसैमा छैन। अनन्त कालदेखि मानिसको चेतन, अर्धचेतन र अचेतन मनमा गढेर बसेको धर्म अनन्तकालसम्म रहने पक्का छ। कसैलाई धर्म नै भय पनि लाग्न सक्ला। र, कसैलाई अन्यको धर्मदेखि भय लाग्ला। यहाँ मेरो भय चाहिँ धर्म बीचमा हुने अन्तसंघर्षको र अतिवादको भय हो।

धर्मका विषयमा हुने उल्झनहरू जति वादविवाद गरेपनि सुल्झिने होइनन्। धर्मको विषय सम्बन्धित धर्म पालना गर्ने मानिसका लागि निर्विकल्प हुन्। स्वघोषित सत्य हुन्। समर्पणले मात्रै कुरा बुझिन्छ भन्ने तर्क सबै धर्मले भन्छन्। त्यसैले जो सुरुमै समर्पित भएर लाग्छ, त्यसले बुझ्न आवश्यक नै भएन जसले तर्क गर्छ उसले धर्म कहिल्यै बुझ्दैन होला।

मेरो एउटा साथी आफू कुनै धर्म नमान्ने बताउँथ्यो। जिसस माने शिव, मोहम्मद, बुद्ध रिसाउलान्। शिव माने मोहम्मद, बुद्ध, जिसस आदि रिसाएर कुभलो गरिदेलान्। बरु कुनै भगवान वा धर्म नमान्ने र ढुक्कसँग बस्ने तर्क दिन्थ्यो। यस्ता मानिसहरू यो संसारमा निकै कम छन्। बाँकी सबै आफूलाई धर्म परम्पराको घेरामा नै राख्छन्। अझ मानिस जीवनभर अनेकन गर्छ। गर्न खोजिरहेको हुन्छ। उमेरमा भगवान पनि टेर्दैन। अन्त्यमा "आखिर श्री कृष्ण रहेछ एक" भन्ने निष्कर्षमा पुग्छ। महाकविको खोज सायद यहीँ पुगेर सकिएको थियो। जति भौतिकवादी भएर चर्चा गरे पनि जब मानिसले टेको पाउँदैन तब भगवानलाई जिम्मा लगाएर ढुक्कसँग बस्छ। सायद् त्यसैले भगवान अन्तिम सत्य हो। यही भगवान भनेर नाम नलिने मानिसले पनि प्राकृतिक शक्तिप्रति आस्था राखेको हुन्छ। मानिसले जीवन असहाय पाएर नै भरोसाका लागि भगवान पुकारेको होलान्। जीवनको भयले धर्म धारण गर्न पुगेका मानिसले, भयमै रहेर धर्मको पालना गरिरहेको छ। र, भय निवारणकै लागि धर्मको पालना गरिएको छ। भय व्यापक छ।

यहाँ केही धर्मका भय उत्पन्न गराउने वाणी उल्लेख गरिएको छ।

नेपाली अनुवाद पवित्र कुरानमा अल्-बकरको चालिसौं आयातमा लेखिएको छ, "परन्तु ती व्यक्तिहरू जसले अविश्वास गर्नेछन् तथा हाम्रा चिन्हहरूप्रति मिथ्या स्वरूप व्यवहार गर्नेछन्, तिनीहरू अग्निवासी हुनेछन् र त्यसमा नै सधैँ बसोबास गर्नेछन्।"

पवित्र बाइबलको युहन्ना ३:१८ मा भनिएको छ, "जसले परमेश्वरको पुत्रमाथि विश्वास गर्दछ त्यो दोषी ठहरिँदैन। तर, जसले विश्वास गर्दैन र उसको पहिल्यै न्याय भइसको छ ऊ बहिष्कृत हुन्छ। किन? किनभने त्यस मानिसले परमेश्वरको एकमात्र पुत्रमाथि विश्वास गरेकोछैन।"

भगवत् गीताको अठारौँ अध्ययको श्लोक यस्तो छ- "मच्चित: सर्वदुर्गाणि मत्प्रश्चदात्तरिष्यसि। अथ चेत्तमहंकारान्न श्रोष्यसि विनङ्क्ष्यसि।" कमलगीतामा यसको अर्थ ममा चित्त लाउने तिमी मेरो कृपाले सारा संकटदेखि पार तर्नेछौ। यदि अहङ्कारका भरमा परी मेरो वचन मानेनौ भने तिम्रो नाश हुनेछ भनेर दिइएको छ।

माथि उल्लेख भएका सन्दर्भ पाइने समानता भनेको जसले आफूलाई टेर्दैन त्यसको नराम्रो हुने वा गरिने चेतावनी दिनु नै हो। यसरी धर्मले भय देखाएर शासन गरेको कुरा प्रष्ट छ।

तर, धर्म भयमा मात्रै सीमित छ भन्ने होइन। यसले मानिसलाई उर्जा प्रदान गरेको र मानसिक सन्तुष्टि दिएको छ। यही उर्जा र सन्तुष्टिका लागि मानिसले धर्म छोड्न नसकेको हुनुपर्छ। यो संसारमा चलेका धर्महरूले आफ्नो धर्मको वकालत र परधर्मको आलोचना गरिरहेको पाइन्छ। आलोचना मात्रैमा सीमित नभएर धार्मिक द्वन्द्व भइरहेका छन्। धर्मको मतभिन्नताले धार्मिक सहिष्णुतामा खलल पुग्दै आएको छ। यसको मुख्य कारण पनि धार्मिक प्रवक्ताहरू नै हुन् जो आफ्नो धर्मको महिमाभन्दा ज्यादा अन्य धर्मको नकारात्मक कुराको आलोचना गर्न तत्पर हुन्छन्। आफू नुहाएर सफा भएको प्रमाणित गरी अरुलाई छेउमा बसाउन राम्रो कि अर्काको शरीरमा जुम्रा देखाएर आफ्नो आङ्को भैंसी छल्ने प्रयास गर्नु राम्रो हो। बुझ्नेले आफैँ बुझे हुने।

जीवन जिउने आधार दिएको धर्मलाई विरोध गर्नु मेरो उद्देश्य होइन तर धर्मलाई आधार बनाएर द्वन्द्वको जालो फैलाउनेहरूले संसारलाई भयमय बनाएका छन्। प्रत्येक धर्मका सकारात्मक र नकारात्मक पाटाहरूको प्रशस्त चर्चा गर्न सकिन्न र? कुनै धर्म मान्ने मानिस हो भन्दैमा अपराधी नै करार गर्नुपर्छ र? खराब चरित्रका मानिस प्रत्येक धर्ममा हुन्नन् र? आफ्नो धर्मका सकारात्मक गुणहरू पालन गरेर स्वधर्ममा रहन अर्को धर्मलाई नानाथरी भन्नै पर्ने हो र? के सहिष्णुता, सदाचार, सम्मान, सद्भाव, सहयोग, सत्य, शील आदि प्रत्येक धर्मका साझा आचार होइनन् र? किन एक धर्म मान्ने मानिस अर्को धर्म मान्ने मानिसबाट भयभीत हुनु सही हो र? प्रश्न अनेक छन्। कोरोनाको भयसँगै किन धार्मिक वादविवाद र आरोप प्रत्यारोपका कुरा चलेका होलान्, कुरा विचारणीय छैन र? के यस विषयमा विवेकशील भए सोच्नु आवश्यक छैन?

सामाजिक संजालमा पादरीहरूले रुमाल हल्लाउँदै रोग निको पारेँ भनेर भनिएका दृश्य सामग्री आए। चर्चमा गरिने प्रार्थनाले कोरोना निको पार्ने भनियो भनेर विरोधीले आलोचना तथा समर्थकले पक्षपोषण गरे। कोरोनाले अलगवासको माग गर्छ भन्ने जानेपछि धर्मगुरुहरूले सामूहिक प्रार्थनाभन्दा, घरमै प्रार्थन गर्न अनुरोध गर्दा हुने। आखिर प्रार्थना गलत कुरा होइन। बरु यसले ब्यक्तिलाई मानसिक रूपमा बलियो बनाउँछ। त्यसपछि शङ्ख, घण्टा र दियो बारेमा सामाजिक संजालमा तर्कवितर्क भए। पछिल्लो समय मुस्लिम जमातीहरूले कोरोना सारेको भन्ने आरोप सहित प्रचारबाजी गरिए। मुस्लिम जमाती लुकेको भनेर खानतलासी गर्न जाँदा झडप नै भएका खबर आए। के यसरी एउटा सम्प्रदायलाई नै कोरोनाको कारकका रूपमा चित्रण गरिँदा त्यस्ले पार्ने सामाजिक, राजनैतिक, धार्मिक तथा मनोवैज्ञानिक असरबारे कसैले आँकलन गरेको छ?

यसरी धार्मिक विरोध बढाउन कसैको स्वार्थ त छैन? किन हामी हल्लाको पछि लागेर एउटा सिङ्गो समाजलाई फरक धर्मकै आधारमा लान्छना लगाउने? हामी राम्रो हुनुको प्रमाण अरु नराम्रो हुनुले दिने हो र? कोरोनाको भयले मानिसलाई घरभित्र थुनेर राखेको भएपनि मानिसको मनमा बढ्दै गरेको धार्मिक द्वेषको भावना भने निस्केर छरिएका छन्। यस विषयमा सबै धर्मका जानकारहरू, प्रवक्ताहरू सचेत हुन आवश्यक छ।

#मेरो राय

म हिन्दू धर्म परम्परामा हुर्केको मानिस र नेपाल बहुसंख्यक हिन्दू धर्म परम्परा पालन गर्ने मानिस भएको देश। मेरो विचारमा धार्मिक सहिष्णुताको फराकिलोपना देखाउन बहुसंख्यक हिन्दूले नै पाइला चाल्नु आवश्यक छ। हिन्दू धर्म दर्शन कुनै एक मार्गदर्शकबाट निर्देशन भएको धर्म होइन। यो दर्शनभित्र असङ्ख्य विचारहरू पाइन्छ। आस्तिक दर्शन त छँदाछँदै हिन्दू दर्शनले नास्तिक चार्वाक मतलाई पनि आफूभित्र समेटेको पाइन्छ। यसरी हेर्दा हिन्दू दर्शन अनेकौं विचारहरूको, दर्शनको अनुपम मेल हो। हिन्दू धर्म विभिन्न दर्शन वा वादहरूको छलफलको थलो हो। यसमा जसलाई जुन वाद मनपर्छ त्यसले त्यही वाद टिपेर जीवन अघि बढाउन सक्छ। त्यसो भएपछि सामाजिक विभेद सिर्जना गर्ने विचारलाई त्यागेर सभ्य समाज निर्माणमा सहयोग पुग्ने विचार अनुशरण गर्न सक्नुपर्छ। हिन्दू धर्मको गुरु हुँ भन्ने जोसुकैले पनि अन्य धर्मको आलोचना गरेर समाज भड्काउनुभन्दा हिन्दू धर्मलाई उजागर गर्ने प्रवचन भन्ने र अन्य धर्मका विषयमा बोल्दा अभिभावकीय भूमिका देखाउने गरेर बोल्नु र सम्मानजनक भाषा प्रयोग गर्नु आवश्यक देखिन्छ। नेपालमा धार्मिक सहभाव देखाउने मुख्य दायित्व हाम्रै हो भनेर हिन्दूहरूले मनन गर्नुपर्छ।

मेरो उद्देश्य हिन्दू धर्मको बखान गर्नु होइन। र, बखान गर्ने मेरो सामर्थ्य पनि छैन । हिन्दू परम्परा पालन गर्ने मानिस जिम्मेवार हुनुपर्ने आशय मात्रै हो। सामाजिक संजालमा अन्य धर्मले (विशेष गरी क्रिश्चियन धर्म) नेपाली धर्म परम्परालाई आक्रमण गरेको र यसले नेपाली संस्कृत मास्न लागेको भय पोखिन्छ र आलोचना गरिन्छ। अहिले ठूलो संख्यामा गाउँगाउँमा चर्च निर्माण भएका छन्। धेरै मानिसहरू क्रिश्चियन भएका छन्। यो देखेर हिन्दू धर्मका अनुयायीहरू अतालिएको पक्कै हो। तर यसो हुनुमा पनि हिन्दूधर्मका अनुयायी र शासकहरू नै जिम्मेवार छन्।

हिन्दू धर्मका थुप्रै दर्शन हुँदाहुँदै बहुसंख्यक हिन्दूले कर्मकाण्ड परम्परालाई अनुशरण गरेका छन् जसले विभेद र भाग्यवादलाई संरक्षण गरेको छ। अर्कोतिर नेपालमा सबै हिन्दू होइनन् भन्ने कुरा शासकले विचार नै गरेनन्। यसले गर्दा विभिन्न जातजातिको भाषा,धर्म र संस्कार संस्कृतिले सभ्य विकास हुन पाएन। संस्कृति मानिसको परिचय पनि हो। आफ्नो संस्कृतिको दार्शनिक आधार केलाउन नपाउँदै हिन्दूकरणको प्रभाव पर्‍यो। तर, यी जातजातिले हिन्दूभित्र अपनत्व महसुस गर्न सकेनन्। दर्शन नबुझे पनि मानिसलाई बाँच्न दार्शनिक आधार चाहिन्छ। आफ्नो संस्कृतिको दार्शनिक आधार भेटाउन नसक्नु (वा खोज्नै नदिनु), हिन्दूकरण स्वीकार्न नसक्नु र पश्चिमी जगतको वैचारिक चातुर्यका कारण नै सामान्य नागरिक क्रिश्चियन हुनुको मुख्य कारण हो।

यसको अलावा प्रलोभन, सङ्गत, कार्य, सम्पर्क र जानेबुझेर आफ्नै चेतले पनि नेपालीहरूले धर्म परिवर्तन गरेका छन्। नेपालले आफ्नो पहिचान नगुमाउने हो भने यहाँका जातजातिको धर्म परम्परालाई विकास हुने उचित आधार दिनुपर्छ। इसाईकरण हुन नदिन हिन्दूकरण पनि रोकिनुपर्छ। यसका लागि उदार चरित्र देखाउन हिन्दूहरू तयार छन् त? देशको संस्कार संस्कृति जोगाउने हो भने कसैको विरुद्धमा बोलेर होइन कि आफैँ आफ्नो संस्कारलाई विकास गर्नु आवश्यक छ र अरुलाई सम्मान र सद्भाव दिनु आवश्यक छ।

# अन्त्य

भयबाट विकास भएको र भयकै कारणले पालना गरिए पनि सबै धर्मको अन्तिम लक्ष्य र उद्देश्य भनेकै शान्ति स्थापन गरी भयरहित वातावरण बनाउनु हो। त्यसैले अन्य धर्मप्रति दुर्वाच्य बोल्ने समय आफ्ना नानीहरूलाई आफ्नो धर्मका असल पक्षहरू पालन गर्न लगाऔँ, समाजमा असल व्यवहार गरौँ। यति गर्नसके मात्रै पनि कसैले तपाईंको धर्मलाई अतिक्रमण गर्ने भय न्यून भएर जान्छ। धर्म रोज्नु मानिसको इच्छाको कुरा हो। सार्वजनिक माध्यमबाट कुनै धर्मको विरुद्ध बोलेर द्वेष फैलाउनाले कसैको भलो गर्दैन। कोरोना धर्म हेरेर सङ्क्रमण हुने पनि होइन। आफ्नो धर्मप्रति आस्था राखौँ। सबैप्रति सम्मान राखौँ। धार्मिक सद्भाव नविगारौँ। कोरोना भय छँदाछँदै धार्मिक भयलाई बढावा नगरौँ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell