PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

दक्षिण एसियाका विज्ञहरू भन्छन् : चमेराले कोरोना सारेको प्रमाण छैन



पहिलोपोस्ट

दक्षिण एसियाका विज्ञहरू भन्छन् : चमेराले कोरोना सारेको प्रमाण छैन

  • राजु आचार्य -

चमेरा अनुसन्धानकर्ताहरुले कोरोना भाइरस चमेरा मार्फत् सरेको प्रमाण नभएको बताएका छन्।

‘चमेरा बस्ने ठाउँ वरपरका मानिसहरू आत्तिनु पर्दैन,’उनीहरूले भनेका छन्, ‘सामाजिक सञ्जालमा आएका खबरहरू भ्रमपूर्ण छन्।’

सात बुँदे विज्ञप्ति जारी गर्दै उनीहरुले सर्वसाधारण त्यस्तो भ्रमपूर्ण जानकारीमा विश्वास नगर्न अनुरोध गरेका छन् ।

उनीहरूले भनेका छन् - 'कोरोना भाइरसको निश्चित श्रोत अझैसम्म पनि पत्ता लागेको छैन। यो भाइरस चमेराबाट मानिसमा सरेको पनि प्रमाणित भएको छैन।'

भारतीय उपमहादीपमा पाइने दुई प्रजातिका चमेरामा पाइने BtCoV भाइरसले हालसम्म मानिसलाई नोक्सान पुर्‍याएको छैन। विशाल रूपमा वन्यजन्तु र गाईबस्तुको मासुको कारोबार हुने ठाउँमा कोरोना भाइरसहरू भेटिएकाले चमेरालाई दोष नलगाउन सो सञ्जालले अनुरोध गरेको छ।

चमेराले परागसेचन मार्फत् बिरुवा/वन विस्तारमा सहयोग गर्छ। साथै किरा-फट्याङ्ग्राको सङ्ख्या नियन्त्रण गरेर किसानलाई सहयोग समेत गर्दछ। रात्रिकालीन पर्यावरण सन्तुलनमा समेत ठूलो भूमिका खेलेको हुन्छ चमेराले। चमेरालाई नोक्सान पुर्‍याएर समस्याको समाधान नहुने भएकाले यसको संरक्षणमा लाग्न सञ्चार र सबै सरकारहरुलाई अनुरोध समेत गरेका छन् उनीहरुले।

दक्षिण एसियाको विज्ञहरुको सञ्जालमा बङ्गलादेश, भुटान, भारत, नेपाल, पाकिस्तान र श्रीलङ्काका ६४ जना वैज्ञानिक र संरक्षणकर्मीहरुले इमेल मार्फत् छलफलमा सहभागिता जनाई यस्तो निष्कर्ष निकालेका हुन्।

नेपालका तर्फबाट ३ जना वैज्ञानिक र संरक्षणकर्मीले यसमा सहभागिता जनाएका थिए। नेपालबाट डा. पुष्पराज आचार्य, वसन्त शर्मा र सञ्जीव वानिया यसमा सहभागी थिए।

पछिल्लो समयमा सामाजिक सञ्जाल र सञ्चारकर्मीहरूको गलत समाचारका कारण भारत, मलेसिया, इन्डोनेसिया लगायतको स्थानमा चमेराप्रति नकारात्मक सन्देश प्रवाह भएको र केही देशमा तिनलाई मार्नसमेत लागेकाले, दक्षिण एसियाका चमेरा अनुसन्धानकर्ता एव संरक्षणकर्मीहरु इमेल मार्फत् एक जुट भएका हुन्।

तर जानकारहरू भन्छन्, ‘अनुसन्धान गरेर नतिजा प्राप्त नभएसम्म चमेराका कारणले सरेको वा नसरेको केही पनि भन्न सकिन्न।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell