PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

रोगी नेताको नेतृत्वमा देश : गुनगानमात्र रुचाउने यिनीहरुलाई पच्दैन आलोचना



पहिलोपोस्ट

  • जगन्नाथ लामिछाने -

कोरोना भाइरस रोगले विश्व हल्लाइरहँदा नेपालका राजनीतिक दल अनि नेताहरु राष्ट्रिय समस्यामा भन्दा पनि आन्तरिक कलह अनि खिचातानी मै ब्यस्त देखिन्छन्। यो प्रवृति नयाँ होइन। यिनीहरु जहिले पनि यस्तै हुन्।

यिनीहरुको नियत त ठीक छैन, छैन। के हाम्रा नेताहरुको स्वास्थ्य त ठीक छ?

नेपालमा पूर्णकालीन राजनीतिमा लागेकाहरुको जीवनशैली ठीक छैन। जसका कारण यिनीहरु प्राय सबै शारीरिक तथा मानसिक रुपमा अस्वस्थ छन्। हरेक दलहरुले राजनीतिमा प्रवेश गर्न, टिक्न अनि अगाडि बढ्न जस्तो खालको पद्धति (इको-सिस्टम) विकास गरेका छन्, त्यो नै यिनीहरुका लागि शारीरिक र मानसिक रोगहरु तथा दीर्घकालीन तनाव सिर्जना गर्न पर्याप्त छ। नेतृत्वमा रहनेको महत्वपूर्ण समय गुट सम्हाल्दै जान्छ। बाँकी धेरैको जिन्दगी यिनै ग्रहको वरिपरि घुम्ने भू-उपग्रहजस्तै आफ्ना गुटका नेताहरुको वरिपरि घुम्दाघुम्दै जान्छ। यिनीहरुको आफ्नो फोकस अनि विवेकको प्रयोग गर्ने स्वतन्त्रता नै पाउँदैनन्। तर, समय क्रमले यस्तै स्कुलिङ पार गर्दै नेतृत्व तहमा पुगेपछि, यिनीहरुले समाजमा आफू जे होइन, त्यही देखाउन अग्रसर हुन्छन्।

अपवादबाहेकलाई छाडेर एउटा उदाहरणका लिउँ। हिजोको दिनसम्म लखरलखर यताउती डुल्ने कुनै राजनीतिकर्मी एक दिन मन्त्री वा कुनै सार्वजनिक लाभको पदमा पुग्छ। उसको बडी ल्याङ्वेज र मनोविज्ञान अकस्मात बदलिन थाल्छ। मानौ, पद धारण गर्ने बित्तिकै उ सर्वज्ञानी र सर्व शक्तिमान भयो। अब उसले जान्न, सिक्नपर्ने कुनै पनि कुरा बाँकी छैन। उसको वरिपरि को कति झुकेर परिक्रमा गर्छन्, तिनै व्यक्त्ति उसको लागि सबैभन्दा योग्य ठहर्छ।

यिनीहरुलाई स्वतन्त्र रुपमा दिइने सुझाव र आलोचना मनै पर्दैन। यिनीहरुलाई सबैले गुणगान गाएर आफ्नो परिक्रमा गरिरहुन् जस्तो लाग्छ। यस्तो प्रवृति राजनीतिक पद्धतिले विकास गरेको एउटा रोग नै हो। यस्तोखाले रोग सबै दलहरु भित्र छ। यसलाई मानसिक रोग भन्ने कि नभन्ने? म अलमलमा छु। सत्तासँगै पदमा रहँदा या नरहँदा यिनीहरुको रवाफ र अनुहारको तेजमा देखिने फरकपनलाई दाँजेर हेर्दा पक्का पनि यो नेपालको राजनीतिक पद्धति (इको-सिस्टम)सँग जोडिएको मनोरोग भन्दा फरक पर्दैन। आफ्नो पार्टी सत्तामा रहँदा प्रधानमन्त्रीदेखि उनको गुटसँग नजिक सामान्य कार्यकर्तासम्म 'बाघ'जस्तो फुल्ने अनि सत्ता बाहिर रहँदा आफूलाई निरीह देख्ने मनोरोग अहिले देशभरि ब्याप्त छ।

यो सबै पार्टी पद्धतिले विकास गरेको रोग बाहेक, यहाँ उठाउन खोजेको अर्को विषय: हाम्रा अधिकांश नेताहरुको शारीरिक र मानसिक स्वास्थ्यको कुरा हो। पूर्णकालीन राजनीतिमा लागेकाहरु अपवाद बाहेक सबै रोगी नै छन्। फरक चाहिँ कसले कति धेरै औषधि खान्छन् भन्नेमात्र हो। एउटा दृष्टिकोणमा, अहिलेका शीर्ष तहमा रहेकाहरु शारीरिक र मानसिक रुपमा अस्वस्थ रहनु स्वाभाविक पनि होला। किनभने ६० वर्ष पुगिसकेका प्राय: सबै नेताहरुको पृष्ठभूमि जेलनेल र संघर्ष नै थियो। यसको अर्थ यिनीहरु सत्ताको आजीवन हकदार हुन् भन्न खोजेको चाहिँ होइन।

पूर्णकालीन राजनीतिमा लागेका ६० काटेकामात्र होइन, राजनीतिमा लागेको अहिलेको पुस्ता पनि शारीरिक र मानसिक रुपमा स्वस्थ छैनन्। आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्यको ख्याल गर्नु, आफ्नो हेरचाह गर्नु, त्यसको चर्चा गर्नु राजनीति गर्नेहरुको प्राथमिकताको विषय देखिँदैन। यसको तात्पर्य, उनीहरु त्यसभन्दा ठूलो, अर्थपूर्ण कुरामा व्यस्त भएकाले आफ्नो स्वास्थ्य अनि खानपानमा ध्यान दिन नभ्याएको भन्ने होइन। उनीहरुलाई सन्तुलित, गुणस्तरीय खानपान, स्वस्थ जीवनशैली अनि शारीरिक र मानसिक स्वास्थ्यमा ध्यान दिनु अर्थहीन लागेर हो। धेरैजसो राजनीति गर्नेहरुलाई, राम्रो खानु, राम्रो लगाउनु, शारीरिक रुपमा फिट देखिनु अनि आफुलाई मानसिक रुपमा स्वस्थ राख्नु राजनीतिक चरित्र होइन भन्ने भ्रम छ।

आफू शारीरिक र मानसिक रुपमा तगडा बन्दा त्यसले राजनीतिमा पार्न सक्ने गुणस्तरीय प्रभाव नेपालमा स्थापित राजनीतिक पद्धतिमा निरर्थक छ। बिहान उठेपछि योग, ध्यान, ब्यायाम, अध्ययन गर्ने नेताभन्दा उपग्रह बनेर कसैको परिक्रमा गर्न कुदने, दिनभरी झोला बोक्ने अनि बेलुका ब्यापारी, माफिया, तस्करहरुको सौजन्यमा खानपान, जलपान र भोजमा सामेल हुन सक्ने नेताहरुको पार्टीभित्र छिटो बढुवा हुने संस्कार स्थापित भएपछि स्वास्थ्यमा किन ख्याल गर्नु पर्‍यो?

मान्छेको शारीरिक स्वरुपलाई हेरेर उसको जीवनशैली र स्वास्थ्यलाई अनुमान गर्न सकिन्छ। म चुनौती दिन्छु, सबै नेताहरुको हेल्थ चेकअप गरौं, नब्बे प्रतिशत भन्दा बढी नेताज्यूहरु (नेता भन्नाले महिला र पुरुष दुवैलाई भन्न खोजेको) शारीरिक, मानसिक वा दुवै समस्याबाट ग्रस्त छन्।

स्वस्थ नेतृत्व जन्माउन राजनीतिक दलहरुले आफूभित्र विकास गरेको संस्कार र पद्दति (इको-सिस्टम) मा परिवर्तन गर्नु आवश्यक छ। अहिलेको दलीय पद्धतिमा हामीले खराब नियत भएका नेताहरु मात्र होइन, शारीरिक तथा मानसिक रुपमा अस्वस्थ नेतृत्वमात्र पाउने हो।

दलहरु नसुध्रेसम्म शारीरिक, मानसिक, नैतिक अनि क्षमताको रुपमा सबल नेतृत्व आउन सम्भव छैन। पूर्णकालीन राजनीतिमा लागेर कसैले आफूलाई स्वस्थ र सक्षम राख्न सम्भव नै हुँदैन। यो पूर्णकालीन राजनीति भन्ने कुरा नै शारीरिक, मानसिक रोग तथा असक्षम नेतृत्व जन्माउने जग हो।

अब यिनै दल सुध्रिने हुन् वा विस्थापित हुने हुन्, त्यो निर्क्यौल समयले छिटै नै गर्नेछ।

(लेखक लाइफ कोच तथा मानसिक स्वास्थ्य विज्ञ हुन्)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell