
डडेल्धुरा : डडेल्धुराको महाभारत वन क्षेत्रमा पाटेबाघ देखिएपछि दोस्रो चरणको क्यामेरा ट्रयापिङ शुरु गरिएको छ। जिल्लाको महाभारत क्षेत्रको भागेश्वर करिडोरमा समुद्री सतहदेखि २ हजार ५०० मिटरको उचाइमा पाटेबाघको इमेज ट्रयाप भएपछि दोस्रो चरणको अध्ययन गर्नका लागि ३० जोडी क्यामेरा जडान गरिएको छ।
तराई तथा भूपरिधि कार्यक्रम, विश्व वन्यजन्तु कोष र डिभिजन वन कार्यालय डडेल्धुराको आयोजनामा भागेश्वर करिडोरमा पाटेबाघलगायत अन्य वन्यजन्तुको उपस्थितिको दोस्रो चरणको अध्ययन गर्नका लागि क्यामेरा जडान गरिएको हो। यसपटक परशुरामधाम सव डिभिजन अन्तर्गत पर्ने वनक्षेत्र (महाकाली नदीको किनारासम्म र साविकको शीर्ष गाविस) र भागेश्वर सवडिभिजनअन्तर्गत रुपाल क्षेत्रसम्म गरिने डिभिजन वन कार्यालय डडेल्धुराका वन अधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिए।
अध्ययनका लागि वन कार्यालयको तर्फबाट पाँच सहयोगी र तराई तथा भूपरिधि आयोजनाको तर्फबाट पाँच क्यामेरा ट्रयापिङ प्राविधिक खटाइएको आचार्यले जानकारी दिनुभयो । ट्रयापिङ गर्नमा स्थानीय सरकारका प्रतिनिधि, स्थानीय सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारकर्मी, नागरिक समाज, सम्बन्धित सामुदायिक वनका उपभोक्तालाई सहयोग गर्न वन अधिकृत आचार्यले आग्रह गरेका छन्।
यसअघि ६ मार्चदेखि ६ अप्रिलसम्म महाभारत वन क्षेत्रमा वन्यजन्तुको अध्ययन गर्ने क्रममा पाटेबाघ क्यामेरा ट्रयापिङमा परेको थियो। एक स्थानमा पाटेबाघ क्यामेरामा ट्रयाप भएको थियो भने रेडफक्स, चितुवा, घोरल, लार्ज इन्डियन सिभेट, लिओपार्ड क्याट, दुम्सी, मृगका प्रजाति र चरालगायत तस्वीर क्यामेरामा कैद भएका थिए। समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा अवस्थित महाभारत वन क्षेत्रमा पाटेबाघ (रोयल बङ्गाल टाइगर) देखिएको थियो। वन विभाग, विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) संरक्षणकर्मीसँग भेरिफाइ गर्दा नेपालको त्यति उचाइमा पाटेबाघ भेटिएको पहिलो घटना भएको पुष्टि भएको आचार्यले बताए।