
कोरोना भाइरसको उत्पति बारे गर्न खोजिएको अन्तर्राष्ट्रिय स्वतन्त्र अनुसन्धान चीनले अस्वीकार गरेको छ।
बेलायतमा रहेका चिनिया कुटनीतिज्ञ चेन वेनले यस अनुसन्धानको माग राजनीति केन्द्रित भएको बताएकी छिन्। बीबीसीसँग उनले भनेकी छिन्,’यसले चीनलाई कोरोना भाइरसविरुद्धको लडाइमा कमजोर तुल्याउने उद्देश्य राख्छ।‘
कोरोना भाइरस चीनस्थित वुहानको एक मासु बजारबाट फैलिएको भनिएको छ। चमेराको मासुबाट यस भाइरस मानिसमा सरेको विज्ञहरुले बताएका थिए। तर समयसँगै यसको उत्पतिका बारेमा विविध प्रश्न उठ्न थाले। धेरैले तर्क राखे – उत्पती बारे थाहा भयो भने समाधानको बाटो पनि सहज हुन्छ।
यस विषयमा अनुसन्धानका लागि अमेरिका र अस्ट्रेलियाले पनि खुला माग राखेका छन्। युरोपियन युनियनले सार्वजनिक गरेको एक रिपोर्टमा पनि चीनले यस भाइरसबारे गलत सूचना प्रवाह गरेको जनाइएको छ।
अमेरिकी राज्य मिसौरीमा त भाइरस फैलाएको आरोपमा चीनविरुद्ध मुद्दासमेत दर्ता भएको छ।
प्रश्न, आरोप र आलोचनाबीच चिनिया कुटनीतिज्ञ भने आफ्नो देश अझैपनि कोरोना भाइरसविरुद्धको लडाइमा रहेको बताउँछिन्। भनेकी छिन्,’यस अवस्थामा अनुसन्धानले ध्यान विकेन्द्रित गराउँछ र स्रोत साधनहरु समेत बाढिन्छन्।‘
उनले अन्तर्राष्ट्रिय अनुसन्धानको बारेमा भनेकी छिन् – गलत सूचना हानिकारक हुन्छन्। तर अहिलेको अवस्थामा कोरोना भाइरसभन्दा बढी खतरानाक त राजनीतिक भाइरस हुनसक्छ।