कोभिड-१९ संक्रमणबाट मुक्त भएका र शरीरमा ‘एन्टी बडि’ भएकाहरु फेरि भाइरसबाट संक्रमित नहुने प्रमाण हालसम्म फेला नपरेको विश्व संगठन (डब्लुएचओ)ले जनाएको छ। एक पटक संक्रमित भएपछि दोस्रोपटक उक्त भाइरसको संक्रमण देखा नपर्ने कुनै आधार नभएको डब्लुएचले जनाएको हो।
शनिबारको ब्रिफिङमार्फत् डब्लुएचओले विश्वका कुनैपनि देशलाई हाल संक्रमण मुक्त भएकाहरुलाई कुनै किसिमको ‘इम्युनिटी पासपोर्ट’ वा ‘जोखिम मुक्त’ भएको प्रमाणपत्र नदिन आग्रह समेत गरेको छ। डब्लुएचओले यसरी पासपोर्ट जारी गरिएकाहरुमा भाइरसको संक्रमण पुन: नदेखिने कुनै आधार नभएको भन्दै सम्बन्धित राष्ट्रलाई सचेत रहन भनेको रोयटर्सले जनाएको छ।
संगठनले भनेको छ,'केही राष्ट्रले कोभिड १९ को संक्रमणबाट मुक्त भएर शरीरमा एन्टीबडी रहेकाहरुलाई 'इम्युनिटी पासपोर्ट र रिक्स फ्रि सर्टिफिकेट दिने योजना बनाएको देखिन्छ। उनीहरुमा फेरि संक्रमण नहुने भएकोले उनीहरुलाई यात्रा गर्न वा काममा फर्कन यस्तो गरिने बताइएको छ। तर संक्रमण मुक्त र एन्टीबडी भएकाहरुमा फेरि भाइरसको संक्रमण देखिँदैन भनेर हालसम्म केही प्रमाण फेला परेको छैन।
चिलीले गत हप्ता संक्रमणबाट मुक्त भएकाहरुलाई 'हेल्थ पासपोर्ट' प्रदान गर्ने जनाएको थियो। भाइरसबाट मुक्त भएर उनीहरुको शरीरमा एन्टीबडी विकास भएको पहिचान गरी पासपोर्ट दिने तयारी गरिएको बताइएको छ।