PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

उदयपुरमा नमुना संकलन गरिएका ७८ मध्ये ७३ जनामा कोरोना नेगेटिभ, पाँच जनाको रिपोर्ट आउन बाँकी



रासस

उदयपुरमा नमुना संकलन गरिएका ७८ मध्ये ७३ जनामा कोरोना नेगेटिभ, पाँच जनाको रिपोर्ट आउन बाँकी

गाईघाट : कोरोना संक्रमणको केन्द्र बिन्दु बनेको उदयपुरको त्रियुगा नगपालिका–३ भुल्केसहित जिल्लाका आठ खतरायुक्त स्थानमध्ये दुई स्थान चौदण्डी नगरपालिकाको सिवाइ र त्रियुगा नगरपालिकाको मोतीगडामा नमुना स्वाब सङ्कलन गरिएका ७८ जनामध्ये ७३ जनाको रिपोर्ट नेगेटिभ आएको छ। बाँकी पाँचको रिपोर्ट आउन बाँकी छ।

स्वास्थ्य कार्यालयका अनुसार तीन दिनअघि मात्र प्रदेश नम्बर १ जनस्वास्थ्य प्रयोगशाला विभागबाट प्रदेशका सामाजिक विकासमन्त्री जीवकुमार घिमिरेको प्रत्यक्ष उपस्थितिमा उदयपुरको चौदण्डी नगरपालिकाको सिवाइमा ५८ जना र त्रियुगा नगरपालिकाको मोतीगडामा २० जना व्यक्तिको नमूना स्वाब संकलन गरेर परीक्षणका लागि विराटनगर लगिएको थियो।

आज बिहानसम्मको रिपोर्टअनुसार दुवै क्षेत्रका ७८ व्यक्तिमध्ये ७३ को रिपोर्ट नेगेटिभ आएको र बाँकी पाँच जनाको आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए। बाँकी पाँच जनाको पनि रिपोर्ट नेगेटिभ नै आउन सक्ने अवस्था रहेका कारण अब उदयपुरको सिवाइ र मोतीगडा खतरायुक्त स्थानमा राखिएको भए पनि सो दुई स्थानको अवस्था सामान्यतिर गएको प्रमुख सुवेदीले बताए।

भुल्केसहित जिल्लामा आठ स्थान कोरोनाको खतरायुक्त स्थानका रुपमा राखिएकामा अब सिवाइ र मोतीगडा क्षेत्रमा खतरा अवस्था नरहेको रिपोर्टले देखाएको पनि स्वास्थ्य कार्यालयका प्रमुख सुवेदीले बताए। अब जिल्लाको त्रियुगाको मोथ्याइ, खैजनपुर, जोगिदह देउरी र जलजलेसहितका स्थान खतरायुक्त सूचीमा राखिएका कारण सो स्थानमा स्वाब नमूना संकलन गर्ने तयारी गरिएको पनि स्वास्थ्य कार्यलयले बताएको छ।

भुल्केमा मात्र २८ जनामा कोरोना संक्रमण भेटिएपछि भुल्केका स्थानीयसँगै आवतजावत गर्ने स्थान मोतीगडा, सिवाइ, मोथ्याइ, जोगीदह, देउरी र जलजले क्षेत्रलाई स्वास्थ्य कार्यालयले खतरायुक्त स्थानको सूचीमा राखेको जनाएको छ। अहिले पनि भुल्केसहित जिल्लाका यी स्थानमा दैनिक प्रहरी तथा सुरक्षाकर्मीले रेखदेख गर्ने र निगरानीमा राखेर स्थानीयवासीलाई अन्यत्र हिँडडुल गर्न नदिएको तथा अन्यत्रबाट पनि यी स्थानमा प्रवेशमा रोक लगाइएको प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell