PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

पर लैजाउ फूलहरु…

पर लैजाउ फूलहरु…

समर्थ रञ्जित/पहिलोपोस्ट


शनिवार दिउँसो काठमाडौंस्थित रामकोटको ज्ञानेश्वर फ्लोरिस्टमा बाख्रालाई फूल खुवाउँदै थिए हरिशरण गिरी।

झन्डै छ महिना लगाएर फूलाएका फूलहरु बेच्ने सिजनमै लकडाउन भएपछि फाल्नु र बाख्रालाई खुवाउनको विकल्प नभएको बताउँदै थिए उनी।

गिरीले फूलका मुठ्ठा पन्छाउँदै गर्दा प्रेमध्वज प्रधानको चर्चित गीत 'पर लैजाउ फूलहरु...' गुन्गुनाएजस्तै लाग्थ्यो।

'होटलमा बिक्ने यही ताजा फूलहरु। होटल लाइनमा विवाह व्रतबन्धमा प्रयोग हुन्थ्यो,' फ्लोरिस्टका एक सञ्चालक हरिशरण फूलका मुठ्ठा फाल्दै भन्दै थिए, 'नाफा लिने बेलामै लकडाउन भइदियो। सबै फूलहरु काटेर फाल्नुपर्ने अवस्था आयो। होटल लाइन नखुलेसम्म यस्तै हो।'

लकडाउनले यो वर्ष पुरै घाटामा गएको सुनाउँदै थिए उनी। भन्दै थिए, 'यो वर्ष पुरै लस भयो। अब फागुनसम्मै पर्खनुपर्छ।'

उद्धवराज गिरीसँगको साझेदारीमा ३५ रोपनीमा गरिएको फूलखेतीको नाफाभन्दा पनि अहिले उनीहरुलाई भाडा र कामदारलाई तलब कसरी दिने भन्ने चिन्ता थपिएको छ।

भन्छन्, 'दर्जन कामदार छन्। तलब दिने बेला भएको छ। वार्षिक ८ लाख तिर्नुपर्छ लिजको भाडा। दैनिक ३५/४० हजार घाटा हुन्छ। बिजोगै भयो नि।'

हल्यान्डलगायत विभिन्न देशबाट फूलका बीउ, बेर्ना र बिरुवा ल्याउनुपर्ने बाध्यता सुनाउँदै गिरीले कृषकलाई पुनरुन्थान नगरे ७५ प्रतिशत फूल व्यवसायी पलायन हुने बताए।  



ट्रेन्डिङ पोस्ट

Ncell