काठमाडौँः मध्य वैशाखमा पनि केही दिनयता नियमित पानी परिरहेको छ। कतिपय दिनमा असिना, हावाहुरी र चट्याङसहिन पानी पर्दा अन्नबालीमा क्षति पुगेको छ। वैशाखमा पनि मौसम चिसो नै छ।
शनिबार दिनभरजसो पानी परिरह्यो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यो क्रम शनिबार राति पनि कायम रहनेछ। शनिबार दिउँसो मध्य र पूर्वी भूभागमा मेघगर्जनसहित वर्षा भएको छ। कतिपय स्थानमा असिना परेको छ। शनिबार राति पश्चिम भूभागमा एक दुई स्थानमा मेघगर्जनसहित पानी पर्ने महाशाखाको पूर्वानुमान छ।
आइतबार पश्चिमी भूभाग तथा मध्य र पूर्वी पहाडी भूभागमा सामान्य बदली हुने र बाँकी भूभागमा आंशिक बदली हुने महाशाखाको अनुमान छ।
सोमबार पनि पश्चिमी भूभागका केही स्थानमा तथा मध्य र पूर्वी भूभागका थोरै स्थानहरुमा पानी पर्नेछ।
महाशाखाले शनिबार राति पश्चिमी भूभागमा पानी पर्ने तथा चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अपिल पनि गरेको छ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु /स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यूनचापीय क्षेत्रको प्रभाव छ। जसकारण पानी परिरहेको छ। साथै बंगालको खाडी /अरब सागरबाट समेत जलवाष्फयुक्त हावा नेपाल प्रवेश गरेको छ।