PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

लकडाउनमा सवारीको गति समस्या बन्दैः लाइसेन्स नभएका चालकले चलाएको कारले ठक्कर दिँदा ट्राफिक प्रहरी घाइते,आइसियुमा राखेर उपचार हुँदै



पहिलोपोस्ट

लकडाउनमा सवारीको गति समस्या बन्दैः लाइसेन्स नभएका चालकले चलाएको कारले ठक्कर दिँदा ट्राफिक प्रहरी घाइते,आइसियुमा राखेर उपचार हुँदै

काठमाडौः ड्युयुटीमा खटिएकी एक प्रहरी जवानलाई कारले ठक्कर दिँदा गम्भीर घाइते भएकी छिन्।

शनिवार दिउँसो बा २१ च ८५३० नम्बरको निजी कारले जवान राधा कुमारी चन्दलाई ठक्कर दिएको थियो। तिलगंगा नजिकैको पुलमा ड्युटीमा रहेकी जवानलाई तीब्र गतिमा आएको कारणले ठक्कर दिँदा दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए।

'कारको गति तीब्र र लेन अनुसान समेत पालन नगरेर चलाउँदा दुर्घटना भएको देखिन्छ,' एसएसपी ढकालले भने।

दिउँसो ३ बजेतिर दुर्घटना भएको थियो। घाइते प्रहरीलाई काठमाडौं मेडिकल कलेज लगिएको थियो। त्यहाँ उपचार नहुने भएपछि ललितपुरस्थित बि एण्ड बि अस्पताल लगिएको हो। प्रहरी महिलाको कम्मर र खुट्टामा गहिरो चोट लागेको छ। उनलाई अहिले आइसियुमा राखेर उपचार भइरहेको एसएसपी ढकालले बताए।

चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएको प्रहरी अनुसन्धानमा खुलेको छ। प्रहरीले चालक विक्रम राईलाई नियन्त्रणमा लिएको छ। उनले अस्पतालमा रहेकी आमालाई खाना पुर्‍याउन हिँडेको प्रहरीमा बयान दिएका छन्।

लकडाउनको कारण कम सवारी सडकमा गुड्दा सवारीको गति बढी हुँदा र चालक गैर जिम्मेवार बन्दा सुरक्षाकर्मीलाई चेक गर्न समस्या परिरहेको छ। प्रहरीले गाडीको गति कम गर्न र चेक गर्न समस्या भएपछि प्रहरीले अहिले बाटोमा थप चेक प्वाइन्ट बढाएको छ।

यस्तै तीब्र गतिका कारण वैशाख २ गते बालाजु क्षेत्रमा पानी बोक्ने ट्याङ्करले ठक्कर दिँदा काभ्रे घर भएका ५० वर्षीय विष्णुप्रसाद चौलागाईको मृत्यु भएको थियो। 

त्यस्तै शनिवार मात्र काठमाडौंबाट उदयपुर हिडेको बस बर्दिवासमा दुर्घटना हुँदा एक जना सहचालकको मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell