भावना लुईटेल। घर इलाम। उनी त्रिभुवन विश्वविद्यालयमा एमएड पहिलो सेमेस्टर अध्ययनरत् विद्यार्थी हुन्। अङ्ग्रेजी उनको मेजर विषय। केही समय यता उनको कक्षा भएका छैनन्। किनकि विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण र त्रास फैलियो र उनी घर गइन्। उनी गए पछि देखि लागू भएको लकडाउन खुलेको छैन त्यसैले उनी फर्कनु सम्भवै भएन।
लकडाउनका कारण चैत ७ गतेबाट हुने भनिएको कक्षा १० को एसइई परीक्षा रोकियो। पत्रकारिताको मास्टर्सको अन्तिम सेमेस्टरको परीक्षा रोकियो। ११, १२ का परीक्षा प्रभावित बन्यो। सबैको पढाइ प्रभावित भयो। अझ भनौं देश नै प्रभावित बन्यो।
तर, केही दिन अघिबाट सामाजिक सञ्जालमा भर्चुअल पढाइको लहर देखिन थालेको छ। अहो! कस्तो खुशी लाग्दो। नेपालमा पनि विकल्प भेटिँदो रहेछ नि भन्ने भयो। त्यसरी नै भर्चुअल माध्यमबाट पढाउनु पर्ने कुरामा लालमोहर लगायो त्रिभुवन विश्वविद्यालयले पनि। त्यतिन्जेलसम्म पनि ठीकै थियो।
तर प्रविधिको भरपुर प्रयोगमा सिकाइ र सिर्जनात्मक प्रयासहरु सुरु भएको केही समयमै ती भर्चुअल पढाईको विरोध सुरु भयो। आक्कलझुक्कल मानिसहरुले यस प्रयोग अहिलेको सन्दर्भमा गलत भन्न थाले।
सोचेँ - नेपाल हो। प्रजातन्त्रमा अलिअलि त विरोध भइहाल्छ नि।
शनिबार तिनै भावना लुईटेलको फेसबुक स्टाटसले भने मलाई केही सतर्क बनायो। उनले आफूले चाहेर पनि भर्चुअल कक्षामा सहभागी हुन नसकेको जनाएकी थिइन्। त्यसपछि म सोच्न बाध्य भएँ।
आफ्नै अनुभवसँग जोडिएका केही प्रसङ्ग याद आए। दशैं पछि घर जाने मौका जुरेको थिएन। कामकै व्यस्तता बहाना बनिरहेको थियो। झन् कोरोनाको कहर बढ्दै गए पछि त घर जान पाउँछु जस्तो लागेकै थिएन। तर विश्वव्यापी माहामारी घोषित हुनुअघि नै कोरोनाले त्रास बढाएको थियो। जसका कारण खेलकुद बिटमा लेख्ने मेरा लागि एक पछि अर्को फूर्सद घोषणा भए।
नेपालमा भव्यरुपमा आयोजना हुन लागेको एभरेस्ट प्रिमयर लिग स्थगित भयो। नेपालको अस्ट्रेलिया र चाइनिज ताइपेइसँगको खेल स्थगित हुने लगभग निश्चित थियो। युरोपका प्रतिष्ठित लिगहरु स्थगित हुँदै थिए। मतलब मेरो काम घट्दै थियो।
त्यसैबीच घरजाने सुर चढ्यो। सोचेँ – फिल्ड रिपोर्टिङ नभएपछि यहाँ गर्ने काम घरै गएर पनि गर्न सकिन्छ।
घर गएँ। एकदुई दिन रमाइलै भयो। घरमा इन्टरेट थिएन। मोबाइल हटस्पोटबाटै काम फत्ते पार्ने योजना असफल रह्यो।
+++
भावनाको स्टाटस पढ्दै गर्दा लाग्यो - ब्राउजर सर्फ त हुन नमान्ने त्यो इन्टर्नेट स्पीडमा जुम एप वा अरु कुनै माध्यमबाट भिडियो कल कसरी सम्भव हुन्थ्यो होला?
झन् लकडाउनमा गाउँमा त चाहिएको बेला रिचार्ज कार्ड समेत नपाइने अवस्था छ। घरमा सबैलाई मैले यतैबाट पैसा पठाउन परेको छ।
अनि खोज्न मन लाग्यो कि टियुले साँच्चै भर्चुअल माध्यमबाट औपचारिक हिसाबले नै अध्ययन अध्यापन गराउन लगाएको हो त?
हो रहेछ। वैशाख १२ गते टियु रजिस्टारबाट जारी गरिएको पत्रमा विद्युतीय माध्यमबाट गरिने कक्षा सन्चालन सम्बन्धि निर्देशिका २०७७ अनुसार अनलाइन कक्षा सन्चालन गर्न निर्देशन दिएको रहेछ।
फेरि घोरिएँ, सामाजिक सन्जालमै। कसरी भइरहेको छ त कक्षाहरु? प्राध्यापक विद्यार्थीहरुले कक्षा कसरी लिइरहेका छन् त?
हेर्दाहेर्दै शिक्षाशास्त्र केन्द्रीय विभागमा अध्यापनरत डा केशव भुसालको फेसबुक स्टाटस पढेँ। उनले ६ वटा बुँदामा अनलाइन कक्षा सन्चालन गर्न सम्भव नहुने तर्क गरेका रहेछन्।
‘विश्वविद्यालयमा सबै शिक्षक अनलाइन प्रविधिमा सक्षम छैनन्। यद्यपि, परम्परागत कक्षा चाहिँ सबैले लिन्छन,’ उनले पहिलो तर्कमा अनलाइन प्रविधिमा सबै शिक्षक सक्षम नभएको उल्लेख गरेका छन्।
त्यस्तै, सबै विद्यार्थीमा ल्यापटप, मोबाइल र इन्टरनेटको पहुँच नभएकाले समस्या हुने उनको तर्क छ।
‘अहिले अधिकांश विद्यार्थी घर (दुरदराज)मा छन्। जहाँ विद्युतको सुविधासम्म पनि नहुन सक्छ,’ उनले ग्रामीण भेगमा यदि नि:शुल्क इन्टरनेटको व्यवस्था गरेको खण्डमा समेत समस्या हुने उल्लेख गरेका छन्।
त्यस्तै देशभरका सबै क्याम्पसमा यो नियम लगाउन कठिन हुने भन्दै जवरजस्ती यो नियम लगाउँदा विद्यार्थी पढाइबाट बन्चित हुने र समस्या उत्पन्न हुनसक्ने उल्लेख गरेका छन्।
+++
रत्नराज्य लक्ष्मी क्याम्पसकाठमाडौंका सहायक क्याम्पस प्रमुख गोविन्दप्रसाद आचार्य कार्यन्वयनको पदमा बसेको कारण माथिबाट आएको निर्देशनलाई पालना गर्नुपर्ने अवस्थामा रहेको बताउँछन्।
‘यसको पोलिसी भनेको भिसी रेक्टर लगायत कार्यकारीबाट आउनुपर्ने हो। प्लानर त उहाँहरु नै हो। हामी त उहाँहरुले जे परिपत्र गरेर पठाउनु हुन्छ त्यसलाई लागु गर्ने मात्र हो,’ उनले भने।
यद्यपि, उनी ब्यक्तिगत रुपमा भने भर्चुअल क्लास गराउने निर्णयप्रति सन्तुष्ट सुनिएनन्।
‘एमएको सेमेस्टरमात्र चलाइरहने बीए नचलाउने हो कि? के गर्ने हो भन्नेमा स्पस्ट छैन म,’ सहायक प्रमुख आचार्यले सुनाए, ‘बिसिए र एमएलाई लैजाँदै गरौं। एमएलाई हेरौला भन्ने खालको हो भने त्यसका लागि चाहिँ जाजरकोट, फुङलिङ, हुम्ला, कालिकोट, रुकुम जुन ठाउँमा यतिबेला विद्यार्थीहरु पुगेका छन्, ती सबै केटाकेटीको हातमा मोबाइलमा ल्याप्टपमा इन्टरनेट हुनुपर्यो। त्यति नभइकन चाहिँ खासै हुन्छ जस्तो मलाई लाग्दैन।’
भर्चुअल क्लास गराउँदै सबै वर्गका विद्यार्थीलाई कसरी समेटिएला भन्ने चासो उनको छ।
‘यसमा कसलाई दोष दिने? तिमी गरिब छौ धनीहरुको संख्या बढी छ। तिमीहरु पछि पढ त भनेर बाइकट गर्ने हो कि? सरकारले घरमसम्म इन्टरनेट पुर्याइदिने हो कि?,’ आचार्यले भने, ‘अथवा यो साल चाहिँ भर्ना भएको छाडिदेउ। धनीहरुले चाहिँ पढ। जो सँग रिसोर्स छ, इन्टरनेट छ। मोबाइल छ। ल्याप्टप छ। उसले पढिहालौं भन्ने हो कि?’
यसो भएको खण्डमा एउटा वर्गको विद्यार्थीले पढ्न पाउने र अर्को वर्गको विद्यार्थीले पढ्न नपाउने अवस्था सिर्जना हुने उनले बताए।
उनले अन्तिममा कक्षा भए सबै विद्यार्थीहरुलाई समेट्नु पर्नेमा जोड दिए। चाहे त्यो भर्चुअल होस या रियल।
‘आरआरमा बिएका लागि बिहानीसत्रमा १६ सय बढीले भर्ना गरेका छन्। ती सबै अनलाइन आउँछन् भने म खुशी हुन्छु,’ उनले थपे, ‘तर भर्चुअल क्लास भइरहेको छ। मान्छे बाजुरामा छ। बैतडीमा छ। त्यो मलाई पछि आएर क्लास छुट्यो सर मेरो के हुन्छ भन्न थाल्यो भने मैले के हुन्छ को जवाफ के दिने?’
उनले क्याम्पस प्रशासनमा बसिसकेपछि आफूले सबैभन्दा पहिला जवाफ दिनुपर्ने भएकाले यो हिसाबले आफूलाई धर्मसंकटमा ल्याउने सङ्केत गरे।
+++
विद्यार्थी संगठनका नेताहरु पनि भर्चुअल कक्षा लिएर सबै विद्यार्थी नसमेटिने स्वीकार्छन्। यद्यपि, विद्यार्थी नेताहरु टियुको भर्चुअल कक्षा गराउने नीतिप्रति ‘पर्ख र हेर’ को अवस्थामा देखिन्छन्।
अनेरास्ववियूका सहसंयोजक रन्जित तामाङ स्कुल लेभलमा सम्भव नभए पनि कलेज लेभलमा धेरै हदसम्म सम्भव भएको बताउँछन्।
‘मैले चाहिँ के भनेको हो भने विद्यालय विद्यालयले व्यवस्थापन गर्ने। यसमा अझ सार्वजनिक विद्यालहरुलाई गार्हो छ,’ उपाध्यक्ष तामाङले भने, ‘सार्वजनिक स्कुलहरुमा कठिन हुने भएकाले राष्ट्रिय टेलिभिजनबाट पढाउन पर्यो। र स्थानीय विद्यालयले चाहिँ डिस्टेन्स मेन्टेन गर्नु पर्छ जस्तो छ।’
उनी व्यवस्थापनको क्षेत्रमा चाहिँ जिम्मेवार हुनुपर्ने बताए। ‘यो भर्चुअल क्लास चलाउँदा विधि माध्यम के हुने भन्ने महत्वपूर्ण हो। जस्तो विद्यार्थीको एक्सिसमा पुग्ने कसरी हो भने एउटा अनलाइन हो,’ उनले भने, ‘अनलाइनमा एनरोइड या आइओएस हुने विद्यार्थीलाई त एक्सिस सजिलो होला। तर आर्थिक हिसाबले विपन्न र विद्यालय पढ्ने विद्यार्थीसँग त यो सम्भव छैन।’
यसका लागि उनी भर्चुअल क्लासमा जोडिन नसक्नेका लागि राष्ट्रिय टेलिभिजनको प्रयोग गर्नुपर्ने उपयुक्त विकल्प हुने देख्छन्।
‘भर्चुअल क्लास लिने भन्ने अनि पहुँच हुनेले क्लास लिन पाउने। पहुँच नहुनेले नपाउने भन्ने हो भने त गलत हुन्छ,’ उनको तर्क छ।
त्यस्तै नेपाल विद्यार्थी संघका महासचिव बलदेव तिमम्सिना भर्चुअल कक्षाका भरमा सबै विद्यार्थी नसमेटिने भएकाले हतारमा आएको टियुको यो निर्णयमा तयारी नपुगेको संकेत गर्छन्।
‘अब अहिले टियुले पत्राचार तर गर्यो। समस्या के छ भने कुल विद्यार्थीको ८० प्रतिशत ग्रामीण भेगमा छन्। राजधानीकै क्याम्पस पढ्ने विद्यार्थीहरु पनि अहिले गाउँ गएका छन्। उनीहरु तत्काल काठमाडौं फर्किने अवस्था छैन,’ उनले भने,‘प्रविधिको प्रयोग गर्दा उनीहरुलाई समेटनु सबैभन्दा ठूलो चुनौती हो।’
उनले आफूहरु प्रविधिमैत्री शिक्षाको विरोधि नभए पनि भर्चुअल कक्षाहरुसँगै अरु प्रविधिको प्रयोग पनि गर्नुपर्ने अवस्था रहेको सुझाए।
‘इन्टरनेटको पहुँच पुर्याउन नसकिने ठाउँमा सन्चारका अरु साधनहरु जस्तै रेडियो टेलिभिजन प्रयोग गर्न सकिन्छ,’ उनले भने।
यसका लागि राज्यले ध्यान पुर्याउनु पर्नेमा उनले जोड दिए। त्यसका लागि श्रोतसाधनलाई स्थानिय तहसँग समन्वय गराउने हो भने सहज हुने उनको बुझाइ छ।
‘अहिलेको सन्दर्भमा परिपत्र गरेर भर्चुअल क्लासबाटै कोर्ष अघि बढाउने भनेको चाहिँ कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तै हुन्छ,’ टियुको अहिलेको तयारीलाई संकेत गर्दै उनले भने।
+++
प्रविधि मैत्री भनेर कक्षाहरु शुरु हुन थालेका भर्चुअल कक्षाका स्क्रिन सर्टहरु सामाजिक सन्जालमा छरिन थालिसके। के नेपालको शिक्षा क्षेत्रले छलाङ मारेकै हो त भन्ने जस्तो पनि लाग्दोरहेछ। बेलाबेला।
झल्यास्स संझिएँ मास्टर्समा सँगै पढेको बझाङको साथी पदमबहादुर सिंहलाई। चौथो सेमेस्टरको रिजल्ट आएसँगै उनलाई रिजल्ट आएको जानकारी दिन फोन गरेको थिएँ। लागेन। ‘रिजल्ट आयो है’ म्यासेज पठाएँ।
१ घन्टापछि फोन आयो। ‘के भएछ मेरो रिजल्ट?’ उसले सोध्यो। ‘इन्टरनेटमा छ, सिम्बोल नम्बर हालेर खोज न,’ मैले भने।
उ घर गएको रहेछ।
‘यहाँ फोन त बल्लतल्ल चल्छ। इन्टरनेट कहाँ चल्नु। सिम्बोल नम्बर पठाइदिन्छु। रिजल्ट हेरेर म्यासेजमा पठाइदेउ,’ उसले भनेको थियो।
बाध्यता।