भिम निरौलाको ६ वर्ष पूरानो गीत 'सन्डे मर्निङ लभ यु' फेरि एक पटक अन्तर्राष्ट्रिय मिडियादेखि सामाजिक सञ्जालमा छाएको छ। निरौलाले ब्रिटेन गट ट्यालेन्टको मञ्चमा उक्त गीत गाएपछि चर्चामा आएको हो।
गीत त छायो नै भिम निरौला कार्यक्रमको दोस्रो चरणका लागि छनौट समेत भए। निर्णायक रहेका टिभी निर्माता साइमन कावेल उनलाई अघिल्लो चरणमा लग्न तयार थिएनन्। तर, गायिका तथा टिभी प्रस्तोता अमान्डा होल्डेन, गायिका अलेशा डिक्सन र कलाकार डेभिड विल्यम्सले उनको प्रस्तुति रुचाए।
ब्रिटेन गट ट्यालेन्टको आधिकारिक ट्वीटर ह्यान्डलमार्फत् 'हामी भिमलाई हरेक दिन माया गर्छौं' भन्दै उनको प्रस्तुतिको भिडियो सेयर गरिएको छ।
All together now... 🎶🎤🎵
— BGT (@BGT) April 25, 2020
We ❤️ Bhim, every day! #BGT pic.twitter.com/7MlORpWzcL
भिडियोमा उनले गीतको बारेमा भनेका छन् – यो मैले आफ्नी श्रीमतीको लागि गाएको गीत हो। उनी दर्शकदीर्घामा छिन्। र उ मलाई लिएर निकै गर्विलो महसुस गर्छिन्।
भिमको प्रस्तुतिमा दर्शकहरुले समेत उनीसँगै गाएका छन्। साथै कार्यक्रम प्रस्तोता मञ्चमै आएर उनलाई निर्णायकहरु सम्म लिएर जान्छन्। सबैले उनीसँग हात मिलाउँछन्।
'मलाई रमाइलो लाग्यो तर म यो गीत रेडियोमा बजेको र सुनेको कल्पना गर्न सक्दिँन', साइमनले आफूले उनलाई चयन नगर्नुको कारण बताउँदै थिए। अलेशाले भन्छिन्,'तर यो गीत क्याची छ।'
भिम निरौलाको प्रस्तुतिमा व्यङ्ग्य र उनको आत्मविश्वासको तारिफसहित प्रस्तुतिको भिडियो सेयर भइरहेको छ। माइक्रो ब्लगिङ साइटमा त नेपाली प्रयोगकर्ता बीच ट्रेन्डिङमै छ।
उनको गीतको ओरिजिनल भिडियो ६० लाख भन्दा बढी पटक हेरिएको छ। धेरैले कमेन्ट गरेका छन् – 'ब्रिटेन गट ट्यालेन्ट हेरेर यता आएको हुँ।' भिम निरौलाकै शब्द संगीत र स्वरमा रहेको गीतको म्युजीक भिडियोलाई गोविन्द अर्मजाले निर्देशन गरेका हुन्। बेलायती मोडल क्याथी कौकोच उनीसँगै भिडियोमा देखिएकी छिन्।
५७ वर्षीय भिम निरौला ब्रिटेनमा होटल म्यानेजरका रुपमा कार्यरत् छन्। उनको 'डान्सिङ अल नाइट', 'लेट्स फ्लाइ इन द स्काइ' लगायत गीत पनि सार्वजनिक छन्।