काठमाडौं : सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन घोषणा गरेको ३३ दिन पूरा भएको छ। पछिल्लो पटक सरकारले थप गरेको लकडाउनको समय भोलि (सोमवार) रातिबाट सकिँदैछ। त्यसैले अब सरकारले लकडाउन थप गर्ला वा नगर्ला भन्ने आम सर्वसाधरणको लागि चासोको विषय बनेको छ।
भोलि राति १२ बजेबाट लकडाउनको समय सकिने भएकाले आज नै मन्त्रिपरिषद्को बैठक बसेर यस विषयमा निर्णय हुनसक्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङले पहिलोपोस्टसँगको कुराकानीमा जानकारी दिए।
'भोलिबाट समय सकिँदै छ। त्यसैले जनतालाई जानकारीको लागि पनि आज नै केही निर्णय गर्नुपर्ने हुन्छ,' मन्त्री नेम्वाङले भने।
लकडाउनको समय थप गर्ने निर्णय सरकारले गर्ने तयारी छ। शनिवार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले एक साता लकडाउन लम्ब्याउन मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरिसकेको छ। समन्वय समितिका नेतृत्व गरिरहेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले शनिवार नै प्रधानमन्त्रीलाई भेटर सुझावसमेत दिइसकेका छन्। तर, यो समाचार तयार पार्दासम्म प्रधानमन्त्री कार्यालयले बैठक भने डाकिसकेको छैन।
'अहिलेसम्म कुनै बैठकको जानकारी आइसकेको छैन। तर केही समयमा आउला,' मन्त्री नेम्वाङले भने।
सरकारले चैत ११ गते पहिलोपटक सात दिन लकडाउन घोषणा गरेको थियो। त्यसपछि पटकपटक गरेर वैशाख १५ गतेसम्म पुर्याइएको हो। शनिवार बसेको उच्चस्तरीय समन्वय समितिले विभिन्न मोडालिटी तयार पारेर लकडाउनलाई व्यवस्थित गर्न खाका समेत तयार पारेको छ।
अहिलेसम्म नेपालमा ४९ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये १२ जना उपचार गराएर घर फर्किसकेका छन्।