PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

रहस्यमय मृत्यु श्रृङ्खला : छोरा, छोरी र आमा पालैपालो मृत भेटिए



रासस

रहस्यमय मृत्यु श्रृङ्खला : छोरा, छोरी र आमा पालैपालो मृत भेटिए
प्रतीकात्मक दृष्य

तनहुँ : व्यास नगरपालिका–१ निर्मलबस्तीमा एकै परिवारका तीन जना मृतावस्थामा भेटिएपछि यस क्षेत्र नै शोकमा डुबेको छ। अपाङ्गता भएका १५ वर्षीय छोरा विपिन श्रेष्ठ शुक्रवार, आमा ३४ वर्षीया रविना र अपाङ्गता भएकी ११ वर्षीया छोरी प्रिया शनिवार मृत भेटिएपछि यतिबेला गाउँ शोकमा डुबेको छ।

मृतक छोराको प्रहरीले मुचुल्का तयार गरी शुक्रवार नै शव परीक्षण गरी दाह संस्कारका लागि आफन्तलाई जिम्मा लगाएको थियो। छोराको मृत्यु हुनु दुई दिनअघि वैशाख १० गतेदेखि नै आमा र छोरी हराएपछि उनीहरुको खोजी गरिदिन आफन्तले प्रहरीमा जाहेरी दिएका थिए।

मृतक छोराको घाँटीमा डोरीले बाँधेकोजस्तो दाग देखेपछि आमाले हत्या गरी फरार भएको हुनसक्ने प्रहरीले आङ्शका गरे पनि शनिवार आमा छोरी मादीसेती नदी किनारमा मृतावस्थामा भेटिएपछि प्रहरीले घटनाका बारेमा अहिल्यै केही भन्न नसकिने बताएको छ।

एकै परिवारका तीन जनाको मृत्युको खबरले यतिबेला गाउँ नै स्तब्ध भएको निर्मल टोल विकास संस्थाका अध्यक्ष अम्मर भण्डारीले जानकारी दिए। 'सोच्न पनि नसकिने गरी गाउँमा घटना घट्यो,' उनले भने, 'यस घटनाले हामी सबैलाई शोकमग्न बनाएको छ।'

मृतक रविनाका श्रीमान् हरिकृष्ण श्रेष्ठ भारतीय प्रहरीबाट अवकाशपछि भारतमै काम गर्दै आएका छन्। यहाँ भएको घटनाका बारेमा दाजुलाई जानकारी गराइसकिएको भाइ मोहनकृष्ण श्रेष्ठले बताए। भारतबाट सायद एकदुई दिनभित्र हरिकृष्ण घरमा आइपुग्ने स्थानीयवासी एवं आफन्तजनले अपेक्षा गरेका छन्।

शुक्रवारमात्रै मृतक छोराको दाहसंस्कार गरेको घटना सेलाउन नपाउँदै फेरि अर्को घटना थपिनुले आफूलाई चकित बनाएको वडाध्यक्ष खरसिं दरैले बताए।

“रविना वडाको राम्रै व्यक्ति हुन्, सोच्न पनि नसकिने गरी यस्तो दुःखद् घटना कसरी घट्न पुग्यो, उनका छोराछोरी दुवै अपाङगता थिए। हिँडडुल गर्न सक्दैनथे,' उनले भने, 'उनमा नकारात्मक सोच आएका कारण यस्तो घटना घटेको हुनसक्छ।'

तीन दिनदेखि आमाछोरी सम्पर्कविहीन रहँदै आएपछि प्रहरीले खोजीकार्यलाई तीव्रता दिँदै आएको थियो। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार परिवारका अन्य सदस्यले आमाछोरी नदीमा बेपत्ता भएको हुनसक्ने भन्दै खोजतलास गरिदिन आग्रह गरेपछि मादी र सेतीनदी किनारमा खोजी गर्दै जाँदा आमाछोरी मृतावस्थामा फेला परेका हुन्।

छोरी प्रियाको ऋषिङ गाउँपालिका–१ कैदिमस्थित मादीसेती र आमा रबिनाको ऋषिङ गाउँपालिका–३ मास्दीघाटमा शव भेटिएको उनले जानकारी दिए। आमाछोरी नदीमा हामफाली आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ। मृतक दुवैको शव परीक्षण गरी शनिवार नै दाहसंस्कार गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell