PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

एक महिनादेखि भारतका क्वारेन्टाइनमा रहेका नेपालीलाई देश फर्कने बाटो खुल्दै



कमलराज भट्ट

एक महिनादेखि भारतका क्वारेन्टाइनमा रहेका नेपालीलाई देश फर्कने बाटो खुल्दै

काठमाडौं : सरकारले कोरोना भाइरसको संक्रमण जोखिम तथा लकडाउनले करिब एक महिनादेखि भारतीय क्वारेन्टाइनमा बस्न बाध्य नेपाली नागरिकलाई ल्याउने तयारी गरेको छ।

भारतमा रहेका नेपाली ल्याउनका लागि तयारी अवस्थामा रहने गृह मन्त्रालयको निर्देशनपछि भारतसँग सीमा जोडिएका जिल्लाले भारतीय पक्षसँग समन्वय गरी नेपाली फर्काउने प्रक्रिया सुरु गरेको हो।

सबैभन्दा धेरै नेपाली क्वारेन्टाइनमा बसेको भारतीय जिल्ला पिथौरागढसँग जोडिएको दार्चुलाबाट फर्काउन पहल सुरु भएको छ।

पिथौरागढको धारचुला, बलुवाकोट लगायतका विभिन्न क्याम्पमा एक हजार भन्दा बढी नेपाली क्वारेन्टाइनमा छन्। उनीहरुले लकडाउन सुरु भएदेखि नै घर जान पाउनुपर्ने माग गर्दै आएका थिए। उनीहरुले सीमामा नाराबाजीसमेत गरेका थिए।

सुरुमा २ सय जना नेपाली आउन दिएर घर पठाए पनि त्यसयता माथिको आदेश नभएको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले सीमा पुल खोल्न मानेको थिएन।

भारतसँग सीमा जोडिएको दार्चुलाको महाकाली नगरपालिकाका मेयर हंशराज भट्टका अनुसार अढाई सय भन्दा बढी त महाकाली नदीमा लुकिछिपी पौडिएर नेपाल आइसकेका छन्। पछिल्लो पटक ९ जना पौडिएर आएका थिए। उनीहरु सबैलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको छ।

त्यसैगरी एक साता पहिले आमा बितेर क्वारेन्टाइनमै किरिया बस्न बाध्य दार्चुलाका वासुदेव भट्टलाई चौतर्फी दबाबपछि नेपाल ल्याइएको थियो। आमा बितेको छैटौं दिनमा उनी घर आउन पाएका थिए।

अझै १५ सय भन्दा बढी मानिस क्वारेन्टाइनमा छन्। जसमा १ हजार दार्चुला सीमामा पर्छन् भने ५ सय बैतडीको सीमा क्षेत्रमा पर्छन्।

३ सय ६८ जना नेपाली रहेको बलुवाकोट क्याम्पबाट शुक्रवारमात्रै फोन सम्पर्कमा आएका बैतडी पुर्चोडीका उत्तमराज बोहराले क्वारेन्टाइनमा आफूहरुको जिन्दगी मर्नु न बाँच्नुजस्तो भएको बताएका थिए।

'भेडाबाख्रा खाँदे जसरी राखेको छ। १४ दिन बस्ने बसेर एक महिना राखिसक्यो। सीमा खोल्दिएर आफ्नो रोडमा लगेर राखिदिए मरे पनि बाँचे सरह हुन्थ्यो। यहाँ कति सुत्ने? सुतेर पनि आधा शरीरमा किरा परिसक्यो,' उनले भनेका थिए। आफूहरु घर फर्किन चाहेको उनले पहल गरिदिन फोनमा हारगुहार पनि गरेका थिए।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले नेपाली ल्याउन तयारी गर्न निर्देशन आएको बताए।

'मौखिक रुपमा तयारी अवस्थामा रहनुस् भन्ने निर्देशन छ। हामी निर्णय गर्दछौं। भारतसँग द्वीपक्षीय समझदारी गरेर निर्णय गर्ने भन्नेछ,' उनले भने, 'हामी तयारीका लागि सर्वदलीय बैठकमा छौं। क्वारेन्टाइनमा राख्ने, समन्वय कसरी गर्ने भन्ने छलफल भइरहेको छ। अब हामी केन्द्रको स्पष्ट निर्देशनको पर्खाईमा छौं।'

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले दार्चुलाको दुईवटा नाका र पिथौरागढसँग सीमा जोडिएको बैतडी नाकाबाट भारतीय पक्षले नेपालीहरु पठाउने जानकारी दिएको बताए।

'९ सय जति दार्चुला र ६ सय जति बैतडीबाट पठाउने कुरो छ। हामी आवश्यक तयारीमा छौं,' उनले भने, 'आइतवार उनीहरुको बिदा छ। सोमवार अथवा मंगलबारबाट ल्याउने प्रक्रिया सुरु हुन्छ।' उनका अनुसार यहाँ १२ जिल्लाका नागरिक छन्। उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर घर पठाइनेछ।

भारतसँग सीमा जोडिएको कञ्चपुर जिल्लामा पनि भारतीय क्वारेन्टाइनमा रहेका नेपालीलाई राख्न तयारी सुरु भएको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले माथिबाट तयारी गर्न मौखिक निर्देशन आएको बताए।

'हामीले आन्तरिक तयारी सुरु गरेका छौं। भारतीय पक्षसँग कुरा अघि बढाएका छौं,' उनले भने।

उनका अनुसार कञ्चनपुरसँग जोडिएको बनवासा र टनकपुरमा २ सय ५१ नेपाली क्वारेन्टाइनमा छन्। उनीहरुलाई गड्डाचौकी नाकाबाट नेपाल ल्याउने तयारी छ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माले पारी क्वारेन्टाइनमा रहेका नेपालीलाई ल्याउने कुरा अगाडि बढेको बताए।

'ल्याउने कुरो भएको हो। यहाँ भारतीय नागरिक पनि छन्। उनीहरुको सवाल पनि उठ्यो। हाम्रो तयारी र उनीहरुको तयारी हुनुपर्‍यो। हाम्रो तयारी चाहियो,' उनले भने, 'दुई चार दिनमा ल्याउने टुंगो लाग्छ। द्विपक्षीय सम्वाद भइरहेको छ। दुवैतिर तयारी भएपछि ल्याउँछौं।'

नौतनहवा क्वारेन्टाइनबाट २८२ नेपाली घर फर्किए

सरकारले नेपाली फर्काउन तयारी गरिरहेका बेला शुक्रबार नौतनहवाका तीन वटा क्वारेन्टाइनमा २५ दिनदेखि बसेका २ सय ८२ नेपाली घर फर्किएका छन्। उनीहरुमध्ये प्रदेश नम्बर ५ स्थित बाँकेको जमुनाह नाकाबाट १ सय ८१ जना र रुपन्देहीको बेलहिया नाकाबाट १ सय १ जना घर फर्किएका हुन्।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले शुक्रवार र शनिवार गरेर २ सय ९८ जनाले नेपाल प्रवेशको अनुमति पाएको बताए। उनका अनुसार अन्यलाई केही दिनमै फर्काइने तयारी छ। आएकाहरुलाई क्वारेन्टाइन १४ दिन राखेर स्वास्थ्य जाँचपछि मात्र घर पठाइने पन्थले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell