PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

किम जोङको मृत्युको हल्लासँगै वनसनमा देखियो उनको रेल, चीनबाट चिकित्सकको टोली उत्तर कोरियातिर



विधुर ढकाल

किम जोङको मृत्युको हल्लासँगै वनसनमा देखियो उनको रेल, चीनबाट चिकित्सकको टोली उत्तर कोरियातिर

काठमाडौं : उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्यको विषयमा अन्तर्राष्ट्रिय रुपमा चर्चा चलिरहँदा त्यहाँका सरकारी मिडिया भने उनको अवस्थाका बारेमा मौन छन्।

शनिवार उत्तर कोरियाको कोरियन पिपल्स रिभोलुसनरी आर्मी (केपीआरए)को ८८ औं वार्षिकोत्सव। त्यस कार्यक्रममा पनि किमको उपस्थिति देखिएन। उत्तर कोरियाली मिडियाले किमको स्वास्थ्य अवस्था बारेभन्दा पनि केपीआरएको स्थापना दिवसको विषयमा चर्चा गरेको दक्षिण कोरियाको समाचार एजेन्सी योन्हापले जनाएको छ।

अप्रिल ११ देखि सार्वजनिक रुपमा नदेखिएका उनको विषयमा मृत्युसम्मको चर्चा चलिसक्दा पनि उत्तर कोरिया भने यस विषयमा मौन छ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)ले आर्मीको स्थापनासम्बन्धी जानकारी गराएको छ। तर, सेनाका प्रमुखसमेत रहेका किमको विषयमा केही उल्लेख गरेको छैन।

जापान विरोधी युद्धका क्रममा किमका हजुरबुबा किम इल सङले स्थापना गरेको 'जनताको गुरिल्ला सेना' देखि अहिलेको आधुनिक सैनिकसम्मको इतिहास केसीएनएले देखाएको छ।

त्यस्तै, त्यहाँको सत्तारुढ पार्टीको मुखपत्र रोडौङ सिनममको सम्पादकीयमा नेता किम जोङ उनले सैन्य शक्ति बढाउन जोड दिएको भन्दै नेतृत्वलाई सैन्य समर्थन थप बलियो भएको बताएको उल्लेख छ।

यता, थर्टी माइल जोन (टीएमजेड)ले उत्तर कोरियाली नेता किमको मृत्यु भएको समाचार प्रकाशित गरेको छ। उसले चिनियाँ तथा जापानी सञ्चार माध्यको हवाला दिँदै नेता किमको मृत्यु भएको उल्लेख गरे पनि स्वतन्त्र रुपमा पुष्टि गर्न नसकेको समाचारमा उल्लेख छ।

हङकङको एक न्युज च्यानलकी उपनिर्देशकले सामाजिक सञ्जाल विवोमा किमको मृत्यु भएको लेखेको समाचारमा उल्लेख छ। जापानी म्यागेजिनले पनि अवस्था मृत्युसम्म पुगेको जनाएको रिपोर्टमा लेखिएको छ। यो रिपोर्टमा पनि त्यहाँको सेनाको वार्षिकोत्सवमा किम उपस्थित नभएको कुरालाई उनको मृत्युसँग जोडेको छ।

'यदि किम ठीक छन् र मृत्युको मुखमा थिएनन् भने उनको टिमले उनलाई सार्वजनिक गर्दै हल्लाहरुलाई गलत भन्थ्यो। यदि उनीहरुले यस्तो गरिरहेका छैनन् भने यो राम्रो संकेत होइन। यसले केही नराम्रो संकेत गर्छ,' रिपोर्टमा भनिएको छ।

यता समाचार संस्था रोयटर्सले उत्तर कोरियाली नेता किमको स्वास्थ्य जाँजका लागि चीनले स्वास्थ्यकर्मीसहित विज्ञको टोली उत्तर कोरिया पठाएको उल्लेख गरेको छ।

उसले यसबारे जानकार राख्ने तीन जना व्यक्तिको नाम उल्लेख नगरी चिनियाँ चिकित्सकहरु नेता किमको स्वास्थ्यको बारेमा हल्ला भएकोसँगै उत्तर कोरिया गएको बताएको छ।

यो टोलीको नेतृत्व चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका वरिष्ठ सदस्यले गरेको र यो टोली बिहीवार उत्तर कोरियाका लागि गएको बताइएको छ। चीनको विदेश विभागले यस विषयमा जानकारी दिन मानेको छैन।

यता, रोयटर्सले नै किमले प्रयोग गर्ने विशेष रेल प्योङयाङ बाहिर एक गाउँको रिसोर्ट नजिकै देखिएको जनाएको छ।

वासिङटनको मोनिटरिङ प्रोजेक्ट '३८ नर्थ'ले शनिवार अप्रिल २१ र २३ मा रेल लिटरसिप स्टेसनमा पार्क गरिएको र सो स्टेसन किमको परिवारका लागि रिजर्भ गरिएको बताइएको छ।

वासिङटनले यो रेल किमको हुन सक्ने बताएको छ। रोयटर्सले स्वतन्त्र रुपमा वनसनमा रहेको रेल उनको नै हो भन्ने पुष्टि गर्न नसकेको जनाएको छ।

यद्दपि, रेल देखिनुसँग किमको स्वास्थ्यलाई जोडेर हेर्ने कुनै आधार भने नरहेको समाचारमा उल्लेख छ।

दक्षिण कोरियाका अधिकांश सञ्चार माध्यमले यस साता किम वनसन क्षेत्रमा रहेको भन्दै नाम नखुलाई स्रोतको हवाला दिएर समाचार लेखेका छन्। शुक्रवारमात्र दक्षिण कोरियाको न्यूजसिसले दक्षिण कोरियाली जासुसी संस्था निकट स्रोतलाई उल्लेख गर्दै किमको रेल वनसनमा देखिएको र उनको निजी होलिकोप्टर प्योङयाङमै रहेको समाचार प्रकाशित गरेको रोयटर्समा उल्लेख छ।

न्यूजसिसले किम कोभिड-१९ बाट बच्न एकान्तमा बसेको हुन सक्ने उल्लेख गरेको छ।

दक्षिण कोरियाबाट उत्तर कोरिया मामिलाबारे लेख्ने डेली एनकेले किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया भएको समाचार प्रकाशित गरेसँगै उनको स्वास्थ्यको विषयमा चर्चा भएको थियो।

डेली एनकेले प्योङयाङ बाहिर पियोङगान प्रान्तको म्योह्याङ पर्वत नजिकै रहेको अस्पतालनमा उनको शल्यक्रिया भएको र उनी ह्याङसान भिलामा चिकित्सकको निगरानीमा आराम लिइरहेको उल्लेख छ।

प्योङयाङको किम मान यो अस्पतालका चिकित्सकहरुले उनको शल्यक्रिया गरेको उल्लेख छ। यो टोलीमा कोरियन रेडक्रस जनरल अस्पताल र प्योङयाङ मेडिकल युनिभर्सिटीका चिकित्सकहरु पनि सहभागि रहेको बताइएको थियो।

डेली एनकेले अप्रिल २३ मा अर्को रिपोर्ट प्रकाशित गर्दै किमले प्योङयाङको अस्पतालमा शल्यक्रिया नगरी किन प्योङयाङ बाहिरको अस्पताल छनोट गरे भनेर लेखेको छ।

उनको शल्यक्रिया प्योङयाङ बाहिरको ह्याङसान अस्पतालमा भएको र यो अस्पताल २०१४ देखि किमको परिवारको लागि निर्धारित गरिएको रिपोर्टमा उल्लेख छ।

यो अस्पताल किम इल सङको मृत्यु पछि १९९४ मा निर्माण भएको बताइएको छ। त्यतिबेला किम इल ह्याङसान भिलामा विरामी परेका थिए। लगातार वर्षापछि हेलिकोप्टर उड्न नसक्दा उनको मृत्यु सोही स्थानमा हर्ट अट्याकका कारण भएको थियो। आफ्ना बुवाको मृत्यु पछि किम जोङ इल (किम जोङ उनका बुवा)ले अस्पताल निर्माण गर्न निर्देशन दिएका थिए।

यहाँको भुगोलले पनि अस्पताल निर्माणमा महत्त्वपूर्ण भूमिका खेलको बताइन्छ। प्योङयाङमा अस्पताल निर्माण गर्दा सबैको ध्यान केन्द्रीत हुने र बाहिरी पहुँच भन्दा अस्पताल निर्माण गरिएको बताइएको छ।

अस्पताल प्योङयाङबाट नजिक ह्यङसानमा निर्माण भए पनि यहाँ पहुँच भने कडाइ गरिएको छ।

यस अस्पताललाई मुटु रोग सम्बन्धी विशेष सुविधासहित तयार पारिएको थियो। अस्पतालमा जर्मनी र जापानबाट उपकरण मगाएर जोडिएको छ। यहाँ खटिने चिकित्सक देशकै उत्कृष्ट भन्दा उत्कृष्ट छन्।

एनके डेलीले किमको शल्यक्रिया गर्ने चिकित्सक विदेशमा गएर तालिम प्राप्त हुन्। उनी किमको निजी चिकित्सकको रुपमा छनोट हुनु पहिले प्योङयाङको किम मान यु अस्पतालको कार्डियोभास्कुलर विभागमा एक वर्ष काम गरेका थिए र छनोट पछि तालिमका लागि जर्मनी पठाइएका थिए।

किमको शल्यक्रियापछि उनी प्योङयाङ फर्किएका छन्। उनलाई निजी सुरक्षा गार्डले नियमित पहरा दिइरहेका छन्।

किम मान यु अस्पतालमा महिनामा एक पटक उपचारका लागि पुग्छन्। किमको हेरचाहका लागि अहिले पनि ह्याङसान अस्पतालमा विज्ञ चिकित्सकहरु खटिइएका छन्। उनीहरु सबै जर्मनीमा पढेर फर्किएका रहेको डेली एनकेले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell