काठमाडौं : नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री कुन्दन काफ्लेले आइतवार व्यवसायी मेनुका अधिकारीसँग लगनगाँठो कसेका छन्।
बाँसवारीस्थित गायत्री मन्दिरमा सीमित व्यक्तिहरुको माझमा काफ्लेले अधिकारीसँग लगनगाँठो कसेका हुन्।
लकडाउनका कारण बेहुलीका बाआमा भने विवाह समारोहमा आइपुग्न नपाएको नेविसंघ पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठीले जानकारी दिए।
'उपस्थिति धेरै छैन। लकडाउनलाई पूर्ण रुपमा पालना गरिएको छ। लकडाउनकै कारण बेहुलीका बुबाआमासमेत आइपुग्न पाउनु भएन,' नेता त्रिपाठीले बताए।
अधिकारीका बाआमा लकडाउनका कारण दार्जिलिङमै अड्किएको उनले बताए।
अक्षय तृतीयाको मौकामा साइत राम्रो रहेकाले आजै बिहे भएको बताइएको छ। लकडाउनकै कारण कांग्रेसका केन्द्रीय नेताहरुलाई पनि निम्तो नरहेको बताइएको छ। यसो त बिहेमा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल भने पुगेका छन्।
बिहेमा सीमित विद्यार्थी नेताहरुमात्र उपस्थित रहेको नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले बताए। भने, 'प्रदीप पौडेल आउनुभएको छ। लकडाउन र परिस्थितिका कारण केन्द्रीय नेताहरुलाई पनि निम्तो दिएको देखिएन।'
काफ्ले र अधिकारीको गत चैत ५ मा टीकाटालो 'वाग्दान कर्म'भएको थियो। लामो समयदेखि नेविसंघको राजनीतिमा रहेका काफ्लेले अधिकारीसँग मागी विवाह गरेका हुन्।