
शनिबार बलिउड अभिनेता इरफान खानकी आमा साइदा बेगमको निधन भयो। ९५ वर्षीया उनी लामो समयदेखि अस्वस्थ थिइन्।
साइदा बेगमको अन्तिम संस्कारका लागि छोरा इरफानले भने जयपुरस्थित घर जान पाएनन्। किनकि उनी क्यान्सर उपचारका लागि केही समय अघि नै बेलायत पुगेका थिए। उनी त्यहाँ हुँदै लागू भएको लकडाउनका कारण भारत फर्कन पाएका छैनन्।
फिल्म 'अंग्रेजी मिडियम'को छायांकन लगत्तै उनी उपचारको कारण देखाउँदै बेलायत गएका थिए। तर कोरोना भाइरसको त्रास र लकडाउनबीच पनि उनी सम्पर्कमा भने आएनन्। हाल उनका निकै निकट साथीहरु पनि इरफानसँग सम्पर्कमा नभएको बलिउड हंगामाले जनाएको छ।
अंग्रेजी मिडियममा सहकार्य गरेका दीपक डोब्रियालले भनेका छन्,'उनको आमा बित्नु भएको खबर पाएँ। म निकै दु:खी छु। अझै दु:खी त इरफान भाइसँग पाँच महिनादेखि सम्पर्क हुन नसकेको कुराले पो छु।'
पिकुमा सहकार्य गरेका सुजित सिरकारले पनि इरफान आफूसँग पनि सम्पर्कमा नरहेको बताएका छन्।