PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

महाकालीमा बगेकी महिलाको जिवितै उद्धार, नेपाली सेनाको हेलिकोप्टरबाट कोहलपुर लगियो

महाकालीमा बगेकी महिलाको जिवितै उद्धार, नेपाली सेनाको हेलिकोप्टरबाट कोहलपुर लगियो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: दार्चुलामा महाकाली नदीमा बगेकी एक महिलाको सुरक्षाकर्मीले जिवितै उद्धार गरेका छन्। उनी नदीमा खसेकी हुन वा हाम्फालेकी हुन भन्ने खुलेको छैन।

व्यास गाउँपालिका वडा नम्बर १ छाङरु घर भई महाकाली नगरपालिका वडा नम्बर ४ तिंकरखेडामा माइती घरमा बस्ने ३० वर्षीया सपना ऐतवाल आज विहान महाकाली बगेको अवस्थामा फेला परेपछि सुरक्षाकर्मीले जिवितै उद्धार गरेका हुन्।

दार्चुलाका प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपेन्द्र बहादुर शाहीले करिब एक किलोमिटर बगेको अवस्थामा सपनालाई उद्धार गरिएको बताए। 'हामीले उद्धार गरेर कोहलपुर पठाएका छौं,' डिएसपी शाहीले पहिलोपोस्टसँग टेलिफोनमा भने।

सपनालाई जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि कोहलपुर पठाइएको हो। सपनालाई लिन सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर दार्चुला सदरमुकाम खलंगा आएको थियो।

डिएसपी शाहीले सपनाको अवस्था गम्भीर रहेको बताए। उनले हाम्फालेको वा खसेको भन्नेबारे बुझ्ने काम भइरहेको डिएसपी शाहीको भनाई छ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले महिला नदीमा खस्ने बेला सुरक्षाकर्मीले देखेर तत्कालै उद्धार गरिएको बताए। 'हाम्फालेको देखेर सुरक्षाकर्मी दौडिहाले। फेला पारिहाले। महिला बेहोस छिन्। घरपरिवारलाई केरकार गरेपछि कारण थाहा होला,' उनले भने, 'कसैले हाम्फालेको भन्छ। कसैले खस्यो भन्छ। यो विहान सबेरैको घटना हो।' उनका अनुसार ती महिलाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell