काठमाडौं : वीरगंजका चार जनाले आइतबार कोरोना भाइरसलाई जितेर घर फर्किएका छन्। नारायणी अन्चल अस्पतालमा उपचाररत एक जना १२औं दिनमा र अरु तीन जना १५ दिनमा संक्रमण मुक्त भएर घर फर्किएका हुन्।
वीरगंज २ छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवकलाई अस्पतालले डिस्चार्ज गरेको हो।
संक्रमण मुक्त भएपछि उनीहरु घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए। आज ४ जना कोरोना संक्रमित मुक्त भएसँगै नेपालमा १६ जना कोरोनाबाट निको भएको छ।
यसअघि विभिन्न ठाउँका १२ जना कोरोना भाइरस मुक्त भएका थिए। नेपालमा अहिलेसम्म कसैको पनि कोरोना संक्रमण भएर मृत्यु भएको छैन।
संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।
तस्बिर : राधेश्याम पटेल