
काठमाडौँः जनता समाजवादी पार्टीले नेपालले प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाललगायत दुई सांसदविरुद्ध अपहरण कार्यमा संलग्न रहेको भन्दै उजुरी दर्ता गराउन पुगेपछि प्रहरी र नेताबीच जुहारी चल्यो। प्रहरीले घटना महोत्तरीको भएकाले दर्ता गर्न नमिल्ने भन्दै पन्छिन खोज्यो। प्रहरी परिसर काठमाडौँको कार्यालयमा एक घण्टासम्म नेता तथा प्रहरीबीच विवाद भइरह्यो।
प्रहरीले घटना महोत्तरीमा भएकाले उतै गएर दर्ता गर्न सल्लाह दियो। तर नेताहरूले फौजदारी मुद्दामा जहाँ पनि सूचना दिन मिल्ने अडानमा रहे।
जनता समाजवादीका नेता उपेन्द्र यादवले कानुन बनाउने र कार्यान्वयन गराउने दुवै पक्ष भएकाले दर्ता गर्न आग्रह गरे।
'कानुन बनाउने पनि यही छौँ कार्यान्वयन गर्ने पनि छौँ। दर्ता गर्नुहोस्।' प्रहरीलाई यादवले भने।
तर प्रहरीले एउटै रटान गरिरह्यो। घटना महोत्तरीमा नै भएकाले उतै जानुहोला।
जनता समाजवादीका अर्का नेता राजेन्द्र महतोले घटना महोत्तरीमा भए पनि काठमाडौँ ल्याई होटेलमा राखेकाले उजुरी दर्ता गर्न मिल्ने तर्क गरे।
घरीघरी क्षेत्राधिकार र कानुनको विषयमा बहस चलिरहँदा प्रहरी परिसरमा हाँसो समेत गुन्जिन्थ्यो।
प्रहरी र उजुरीकर्ता दुवै पक्षका मानिस कानुनको दस्ताबेज लिएर अर्थ लगाइरहेका थिए। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी उजुरीकर्ताको पक्षमा वकालत गरिरहेका थिए। उनले अपराध संहिताका एकएक दफा पढेर सुनाए।
प्रहरी र नेताबीच दोहोरी चलिरहँदा परिसरका प्रमुख एसएसपी श्याम ज्ञवाली भने उपस्थित थिएनन्। एसएसपी ज्ञवालीले आइतबार मात्र परिसर प्रमुखको जिम्मेवारी सम्हालेका थिए। ज्ञवाली बाहिरबाट आएपछि दर्ता गर्न नमिल्ने निर्णय सुनाए। र नेताहरू फर्किए।
नेताहरू बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, हिसिला यमी लगायत परिसर पुगेका थिए।
उजुरी दर्ता नभएपछि भट्टराईले फौजदारी मुद्दाको कुनै रूपमा जानकारी पाउँदा राज्यले अनुसन्धान गर्नु पर्नेमा जाहेरी दर्ता नहुनु दुखद भएको बताए। भट्टराईले ओलीतन्त्रको आतंक प्रहरीमा परेको टिप्पणी समेत गरे।
उनले देश संकटतर्फ गएको बताए। अब सम्बन्धित निकायमा आफ्नो कुरा राख्ने भट्टराईले बताए। तर सम्बन्धित निकाय खुलाएनन्।