सुर्खेत : कर्णाली प्रदेश अस्पतालमा टेलिमेडिसिन दुर चिकित्सा सेवा सुरु गरिएको छ। दूर्गम भेगका नागरिकको विशेषज्ञ चिकित्सकमार्फत आवश्यक औषधि उपचारमा सहयोग पुर्याउने उद्देश्यले टेलिमेडिसिन सेवा सुरु गरिएको हो।
कर्णालीका दश वटै स्वास्थ्य संस्थामा रहेका बिरामीलाई प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सक वा स्वास्थ्यकर्मीले उपचारका लागि आवश्यक सल्लाह र परामर्श दिने गरी टेलिमेडिसिन कक्ष स्थापना गरिएको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले जनाए।
प्रदेश अस्पतालका चिकित्सकले टेलिमेडिसिन कक्षमा बसेर भिडियोमार्फत दुर्गमका स्वास्थ्यकर्मीलाई विशेषज्ञ चिकित्सक परामर्श दिने उनको भनाई छ।
टेलिमेडिसिन कक्षबाट प्रदेशका जुनसुकै स्वास्थ्य संस्थामा पुगेका विरामीहरुको लक्षण र चिह्न तथा समस्या पहिचान गरी उपचारका साथै आवश्यक परे रिफर गर्नसमेत सुझाव दिने छन्।
‘डाक्टरलाई उपचार गर्न पनि सजिलो होस् र बिरामीलाई पनि विकट ठाउँबाटै विशेषज्ञ सेवा लिने गरी काम हुन्छ’ उनले भने,‘बिरामी हेर्दा हेर्दै कतिपय अवस्थामा बिरामी रिफर गर्न पनि सल्लाह दिन्छौँ।’
टेलिमेडिसिनबाट बिरामी सेवाग्राहीले विशेषज्ञ चिकित्सकीय सेवा पाउने र जटिल अवस्था भएका बिरामीलाई छिटो छरितो हुने हुदाँ सहज हुने छ।
प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा सुरु गरिएको यो सेवाबाट चार जना बिरामीलाई विशेषज्ञ सेवा दिईसकेको छ। ‘उद्घाटन गरिसकेपछि हामीले डोल्पामा जटिल अवस्थामा रहेको डेलीभरी केस टेलिमेडिसिनबाटै गराएका छौँ। सफल पनि भयो,’ डाक्टर खड्काले भने। बिरामीले गुणस्तरीय सेवा पाउने उनले बताए।
मन्त्रालयले दुर्गमका स्वास्थ्यसंस्थामा न्युनतम पूर्वाधारको पहल गरी आवश्यक सामग्री सहित सुविधा उपलब्ध भए सवै सरकारी स्वास्थ्य संस्थाबाट टेलिमेडिसिन सेवा प्रवाह हुने छ। भौगोलिक विकट र विशेषज्ञ चिकित्सक अभाव रहेको कर्णालीमा कोरोना भाइरसको संक्रमणका बेलासमेत टेलिमेडिसिन सेवा अझै प्रभावकारी हुने विश्वास छ।
के हो टेलिमेडिसिन सेवा?
प्रदेशका दशै जिल्लाका स्वास्थ्य संस्था, स्वास्थ्य केन्द्रलाई टेलिमेडिसिन सेवामा जोड्ने तयारी छ। दुर्गमका स्वास्थ्यकर्मीसंग ल्याप्टप तथा आइप्याड हुनुपर्ने हुन्छ। जहाँ भिडियोबाट दोहोरो संवाद भएमात्रै उपचारमा सहयोग पुग्ने छ। प्रत्यक्ष विरामी देखाउने अर्थात, एक्सरे, अल्ट्रासाउण्ड गर्दै गरेको विरामीको अवस्था त्यहाँको डाक्टर अथवा स्वास्थ्यकर्मीसंग प्रदेश अस्पतालका कन्सल्टेन्ट डाक्टर र सम्बन्धित डाक्टरहरुसँग छलफल हुने छ। बिरामीको लक्षण, चिन्ह, अवस्थाका बारेमा आफ्नो विज्ञताका आधारमा प्रदेश अस्पतालबाट सल्लाह दिएर उपचार गर्ने प्रणाली हो।