PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

नेकपामा दिनदिनै गुट भेलाः कोटेश्वरमा नेपाल समूहको छलफल, स्थायी कमिटी बोलाउनुपर्ने अडान



पहिलोपोस्ट

नेकपामा दिनदिनै गुट भेलाः कोटेश्वरमा नेपाल समूहको छलफल, स्थायी कमिटी बोलाउनुपर्ने अडान

काठमाडौं: राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश प्रकरणले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद बढेको छ। गुटहरु सक्रिय बनेका छन्।

सरकारले आफूले ल्याएका अध्यादेशको पार्टीभित्र र बाहिर गरी चौतर्फी विरोध भएपछि चार दिनमै फिर्ता लिएर खारेज गरेको थियो। अध्यादेश खारेज भए पनि पार्टीभित्रको असन्तुष्टि भने बढेको छ।

असन्तुष्टिका साथसाथै यो प्रकणले गुटलाई पनि सक्रिय बनाएको छ। भैँसेपाटी गुट, बालुवाटारमा चर्काचर्कीपछि आज वरिष्ठ माधव नेपालको कोटेश्वरस्थित निवासमा नेताहरुबीच छलफल भएको छ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र छलफल नै नगरी ल्याएको अध्यादेश खारेज पछि उनीमाथि नैतिकताको प्रश्न उठेकाले स्थायी कमिटी बैठक डाक्नुपर्ने माग उठेका बेला नेपाल समूहले पनि यहीँ विषयमा छलफल गरेको हो।

नेता नेपालले स्थायी कमिटीमा रहेका आफ्नो समूहका नेतालाई कोटेश्वरमा निवासमा डाँकेर छलफल गरेका हुन्। छलफलमा सहभागी सदस्यका अनुसार नेता नेपालले पछिल्लो विकसित घटनाक्रमको ब्रिफिङ गरेका थिए। अबको गतिविधि हेरेरै कदम अघि बढाउने पक्षमा नेपाल समूह रहेको बुझिएको छ।

छलफलमा अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई, घनश्याम भुसाल, युवराज ज्ञवाली, वेदुराम भुसाल लगायत सहभागी थिए। 

'स्थायी कमिटी सदस्यहरुले बैठक डाक्न लिखित माग राखेका छौं। भोलि वा पर्सी सचिवालय बैठक बस्ने सम्भावना छ। त्यसपछि स्थायी कमिटी डाक्नै पर्‍यो नि। नत्र नेतृत्वमाथि नैतिकताको प्रश्न उठ्छ। आजको अनौपचारिक छलफलमा अबको विकसित गतिविधि हेरेर निर्णय गर्ने कुरा भएको छ,' सहभागी एक सदस्यले सुनाए।

स्रोतका अनुसार आजको छलफलमा देखिएका समस्याहरुको बैठक बसेरै टुंग्याउनुपर्ने भएकाले जसरी पनि बैठक बोलाउने वातावरण बनाउन नेता नेपाललाई सुझाव दिएका थिए।

नेकपाका २० स्थायी कमिटी सदस्यले पार्टीभित्र छलफल नै नगरी ल्याएको विधेयकले नैतिकताको प्रश्न उठाएको भन्दै तत्काल बैठक डाक्न माग गरेका छन्।

तर,  प्रधानमन्त्री ओली सचिवालय बैठक डाक्न तयार छैनन्। त्यसैको छनक स्वरुप ओलीले शनिवार सचिवालयका ४ सदस्यसँग मात्र छलफल गरेका थिए। तर, पार्टीमा छलफल हुनुपर्ने दबाब चर्को छ। प्रधानमन्त्री निकट स्रोत भन्छ, 'प्रधानमन्त्री अहिले कुनै बैठक डाक्ने पक्षमा हुनुहुन्न।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell