
कञ्चनपुर : कञ्चनपुरको भिमदत्त नगरपालिकाले भारतसँगका नाकामा ड्रोनमार्फत नेपाली तथा भारतीय नागरिकहरुको आवतजावतको निगरानी गर्ने भएको छ। क्यामेरा जडान गरिएको ड्रोन सञ्चालनमा ल्याउनका लागि नगरपालिकाले रोबोटिक्सस एसोसिएसन अफ नेपाल फारवेस्टसँग सम्झौता गरेको छ।
सो कार्यमा सुदूरपश्चिम विश्वविद्यालयका विधार्थीहरुको पनि प्राविधिक सहयोग रहने बताइएको छ। ड्रोनमार्फत निगरानी गर्ने कार्यमा एसोसिएसनले ड्रोन र्यापिड रेसपोन्स टिम (डिआरआरटी)को फ्रेमवर्कमा रहेर कार्य सम्पादन गर्ने जनाएको छ। डिआरआरटीको फ्रेमवर्क शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मातहतमा रहनेछ।
डिआरआरटी फ्रेमवर्क रोबोटिक्स एसोसिएसन अफ नेपालले तयार गरेको हो। पहिलो चरणमा ड्रोन सर्भिलेन्स र नागरिकहरुमा सूचना प्रवाहलगायत भिमदत्त नगरपालिकालाई आवश्यक कार्यहरु गरिनेछ। यस्तो कार्यहरु उदयपुर र धनगढीमा पनि चाडै सम्झौता गर्ने तयारी भएको एसोसिएसनले बताएको छ।
सुदूरपश्चिम प्रदेशमा ड्रोन निगरानीको काम सुदूरपश्चिम विश्वविद्यालयका डिन डा किसनदत्त भट्टको अगुवाईमा अगाडि बढिरहेको छ। नेपाल सरकारले कोरोना भाइरस (कोभिड-१९)को महामारीलाई न्यूनीकरण गर्न प्रविधिलाई उत्तरदायित्व पनि दिएको हो।