PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

मुसुरोको दालमा कालोबजारी गरेको अभियोगमा पाँच जना पक्राउ



राधेश्याम पटेल

मुसुरोको दालमा कालोबजारी गरेको अभियोगमा पाँच जना पक्राउ

वीरगंज : लकडाउनको समयमा महँगो मूल्यमा मुसुरोका दाल बिक्री गरेको आरोपमा वीरगंज-पथलैया औद्योगिक कोरिडोरका तीन उद्योगका तीन संचालक र दुई जना प्रतिनिधिलाई प्रहरीले पक्राउ गरेको छ।

बारा प्रहरीले आइतवार साँझ उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा चचान समूहको बारा, परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुरमा रहेको नारायणी मोर्डन पल्स प्रालिका सञ्चालक मोहनलाल अग्रवाल र उनका प्रतिनिधि सुनिल शर्मा छन्। अग्रवाल वीरगंजका प्रतिष्ठित उद्योगी बाबुलाल चाचान (अग्रवाल)का भाइ हुन्।

त्यसैगरी, परवानीपुर गाउँपालिका वडा नम्बर ४ मै रहेको मुक्ति आयल समूहका भिखमचन्द्र अग्रवालको लगानी रहेको दाल उद्योग महाविर ओभरसिजका प्रबन्धक सन्तोष झा पनि पक्राउ परेका छन्। त्यस्तै, जितपुरसिमरा उपमहानगरमापालिका वडा नम्बर १० पर्ने छातापिपरास्थित श्रीकृष्ण आधुनिक दाल मिलका सञ्चालक पवनकुमार साह र उक्त उद्योग रेखदेख गर्ने सुरेशप्रसाद साहलाई पनि पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए। छातापिपराको दाल मिल वीरेन्द्र कलवारको हो।

उनीहरुलाई कालोबजारी ऐन अन्तर्गत जिल्ला प्रशासन कार्यालय बारामा मुद्दा दायर गरिने बाराका प्रहरी उपरीक्षक पंगेनीले बताए। लकडाउन अघि ८०/८५ रुपैयाँ प्रतिकिलोमा बिक्री हुने मसुरोको दाल अहिले ९२ रुपैयाँदेखि ९८ रुपैयाँ प्रतिकिलोको दरमा बिक्री गरेको भेटिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell