
महोत्तरी : पूर्वपश्चिम राजमार्गस्थित महोत्तरीको वन क्षेत्रमा वन्यजन्तुको चोरी सिकार बढेको छ। कोभिड–१९ सन्त्रास छल्न ‘लकडाउन’ जारी रहेका बेला जिल्लाको वन क्षेत्रमा चोरी सिकारीको क्रम बढेको हो।
दुई साताभित्रै डिभिजन वन कार्यालय महोत्तरीको वन सुरक्षा गस्तीले पाँचवटा घाइते वन्यजन्तुको उद्धार गरेको छ। आइतवार मध्याह्नपूर्व जिल्लाको लक्ष्मीनियाँचोक नजीकै घाइते हरिणको उद्धार गरिएको कार्यालय प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिए।
यसै महिनामा तीनवटा नीलगाई र एउटा चित्तलको उद्धार गरेर उपचार गराई सघन वन क्षेत्रमा छाडिएको थियो। यसै अवधिमा जिल्लाको सागरनाथ वन विकास परियोजनाको रामनगर नजिकै एउटा नीलगाई मृत फेला परेको थियो।
जिल्लाको वन क्षेत्रमध्ये सागरनाथ वन विकास परियोजना क्षेत्रभित्र चोरी सिकारी बढेको छ। पूर्वपश्चिम राजमार्गको दक्षिण पर्ने यो क्षेत्रमा सबैभन्दा बढी बँदेलको चोरी सिकार हुने गरेको वन क्षेत्र नजीकका बासिन्दा बताउँछन्। वन क्षेत्रमा चोरी सिकारी हुन थालेपछि बँदेल र नीलगाई बस्तीमा पसेका छन्।
अहिले बँदेल र नीलगाई पूर्वपश्चिम राजमार्गबाट ४० किलोमिटर दक्षिणको भारतीय सीमावर्ती क्षेत्रमा छ्यास्छ्यास्ती देखिन थालेका भारतको सीतामढी जिल्लासँगै जोडिएको जिल्लाको मनराशिशवा नगरपालिकाका उपप्रमुख रमिला प्रधानले बताए। वनमा आखेट बढेसँगै दक्षिण झरेका वन्यजन्तुले बालीनाली नोक्सान गरेका र कतिपय बेला आक्रमण नै गर्ने गरेका गुनासो बढेको छ।