
इटालीले त्यहाँ जारी लकडाउन केही लचिलो बनाउने निर्णय गरेको छ। सात सातादेखि त्यहाँ कडाइका साथ लकडाउन लागू भइरहेको छ। कोरोना भाइरस संक्रमणका कारण प्रभावित र २० हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको इटालीमा लकडाउन मे ४ तारखिबाट खुकुलो बनाइने भएको हो।
मार्च महिनाको तेस्रो सातादेखि त्यहाँ कोरोना भाइरस संक्रमणकै कारण मर्नेको संख्यामा कमी आएको थियो। हाल उक्त संख्या नबढेको र दैनिक नयाँ संक्रमितको संख्यामा पनि कमी आएको छ। त्यसैले प्रधानमन्त्री ग्युसेप्पे कोन्टेले आम नागरिकलाई भिडभाड नगरी मास्कसहित आफन्त भेट्ने व्यवस्था घोषणा गरेका हुन्।
कोन्टेले मेदेखि नै पार्कहरु पनि खुला गर्ने बताएका छन्। भलै शैक्षिक संस्थाहरु चाहिंँ आगामी सेप्टेम्बरदेखि मात्रै खुल्नेछन्। मानिसहरु आफ्नो क्षेत्रभन्दा बाहिर निस्कन पाउने छैनन्। मृत्यु संस्कारमा १५ जना सम्मको उपस्थिति हुनुपर्नेछ। त्यस्तै खेलाडीहरुले व्यक्तिगत तालिमका लागि बाहिर निस्कन पाउने छन्। घरमै लगेर खाने गरी रेस्टुरेन्टहरुको सेवा सुरु हुनेछ। प्रधानमन्त्री कोन्टेले खुद्रा पसलहरु भने मेको १८ तारिखदेखि मात्र खोल्न निर्देशन दिए। उनले हेयर ड्रेसर, बार लगायत जुनको १ तारिखबाट मात्र खुल्ने बताएका छन्।
खेलकुदका कार्यक्रम मेको १८ देखि सञ्चालन गर्ने भनिए पनि इटालीको प्रिमियर लिग हुनेबारे भने केही घोषणा नभएको बीबीसीले जनाएको छ।
इटालीमा कोरोना भाइरसकै कारण २६ हजार ६ सय ४४ जनाले ज्यान गुमाएको तथ्याङ्क छ। यो युरोपमा सर्वाधिक मृत्यु दर हो। आइतवारमात्र त्यहाँ २ सय ६ जना संक्रमितको निधन भयो। उक्त संख्या मार्च १४ देखिको सबैभन्दा कम हो। त्यहाँ १ लाख ९७ हजार ६ सय ७५ जनामा संक्रमण पुष्टि भएको छ। यो तथ्याङ्क जोन होप्किन्स युनिभर्सिटीको हो।