PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

लकडाउनको दुई सातापछि परीक्षा, अहिले चाहिँ अनलाइनबाटै शिक्षा : त्रिवि उपकूलपति धर्मकान्त बास्कोटा (अन्तर्वार्ता)



कमलराज भट्ट

लकडाउनको दुई सातापछि परीक्षा, अहिले चाहिँ अनलाइनबाटै शिक्षा : त्रिवि उपकूलपति धर्मकान्त बास्कोटा (अन्तर्वार्ता)

काठमाडौं : कोरोना भाइरस संक्रमणको सन्त्रास र लकडाउनले सम्पूर्ण शैक्षिक गतिविधि ठप्प छ। विद्यालय बन्द छन्। परीक्षा रोकिएका छन्। वैशाख दोस्रो साता बित्नै लाग्दा शैक्षिक सत्र सुरु हुन सकेको छैन।

यस्तो बेला देशकै पुरानो उच्च शिक्षाको थलो त्रिभुवन विश्वविद्यालयले अनलाइन भर्चुअल कक्षा सञ्चालनको उपाय निकालेको छ। यसका लागि त्रिविले आचारसंहिता सहितको निर्देशिका पनि जारी गरेको छ।

त्रिवि जुनसुकै हालतमा अनलाइन कक्षा सञ्चालनको तयारीमा छ। अनलाइन कक्षाका लागि पूर्वाधार अभाव, जनशक्ति अभाव, इन्टरनेटको अभावजस्ता चुनौती देखिए पनि विभिन्न वैकल्पिक उपाय अवलम्बन गरेर अघि बढ्ने निधोसमेत गरेको छ। यिनै सन्दर्भमा पहिलोपोस्टका कमलराज भट्टले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटालाई सोधे : कसरी सम्भव छ अनलाइन कक्षा? कुराकानीको अंश:

अनलाइन कक्षा चलाउने भनेर टियुले निर्देशिका जारी गरेको छ। अहिले धेरै विद्यार्थी घरमा छन्, अनलाइन कक्षाले उनीहरु वञ्चित हुने देखियो नी?

घर बस्दैमा वञ्चित हुँदैनन्। यो घर बस्नेहरुकै लागि हो। रेगुलर सहज स्थिति भएको भए त किन चलाइराख्नु र?

खाली समस्या कसलाई पर्छ भने जसकोमा इन्टरनेटको पहुँच छैन उसलाई मात्र हो।

 

महँगो इन्टरनेटका साथै ल्याप्टप लगायत सामग्री पनि चाहिएला नि त विद्यार्थीलाई। फेरि प्रविधिको प्रयोग महँगो पनि छ। विद्यार्थीले धान्न सक्छन्?

इक्विपमेन्ट मोबाइल भए पुग्छ। ल्याप्टप भयो भने आइडिएल हुने त्यहीँ हो। संसारभरी चलेको। होइन भने मोबाइलबाट पनि मज्जाले हुन्छ। त्यसैले इन्टरनेट भएको ठाउँमा समस्या छैन।

हाम्रो दुर शिक्षा विभागले विकट जिल्लाहरु डोटी, कैलाली लगायत त्यहाँका विद्यार्थीलाई त पहिले देखि नै पढाइराखेको छ।

अर्को कुरा नेपाल टेलिकमसँग डेटा माग्दा धेरैसँग पहुँच रहेको देखियो। दोस्रो, इन्टरनेट भएको ठाउँमा विद्युतको आपूर्ति भएन भने समस्या हुन्छ। अहिले बिजुली नियमित भएको अवस्था छ।

अब जहाँ इन्टरनेट नै छैन भने त्यस्तो ठाउँमा मोबाइलमा डेटाबाट पनि चलाउन सकिन्छ, मोबाइल चल्ने ठाउँमा।

हो, त्यो डेटाबाट चलाउँदा विद्यार्थीलाई महँगो पर्न जान्छ। ६ महिनाको हामीले एनटिसीमा बुझ्दा रेगुलर ग्राहकले ३० जिबी डेटा पाउँदो रहेछ। यो पर्याप्त हुन्छ। १६ सय रुपैयाँ पर्दो रहेछ ६ महिनाको।

होस्टलमा बस्ने विद्यार्थी अथवा काठमाडौंका अन्य ठाउँमा बस्ने विद्यार्थीको टियु पढ्न जाँदाको यातायात खर्च हिसाब गर्ने हो भने वा आफ्नो सवारीमा जाँदा पनि फ्युल खर्च लाग्छ। सार्वजनिक यातायातमा पनि खर्च लाग्छ। त्यो बराबरको खर्च इन्टरनेटमा प्रयोग हुन्छ।

६ महिनामा १६ सय भनेको महिनाको एक सय भन्दा अलि बढी हो। तर, यसलाई पनि कसरी राहत दिन सकिन्छ भनेर हाम्रो एनटिसीसँग कुरा भइराखेको छ।

 

छुट चाहिँ कसरी सम्भव हुन्छ त?

हामीले सबै विद्यार्थीको आइडी पत्ता लगाइसकेपछि उहाँहरु (एनटिसी) ले त्यसमा पनि छुट गरिदिन्छु भनेका छन्।

एनसेलसँग पनि हाम्रो कुरा भइरहेको छ। एनसेल चलाउने विद्यार्थीका लागि हामीले रिक्वेस्ट गर्ने हो। सरकारबाट पनि संकट समाधानका लागि अनुरोध जाला।

हामीलाई समस्या भनेको विद्यार्थीको ट्रेसिङ नै हो। कहाँ छ त विद्यार्थी? सबै कलेज र विभागलाई पहिला विद्यार्थी ट्रेसिङ गर्न परिपत्र गरिएको छ। सबैलाई सहभागी गराउनुपर्‍यो।

ट्रेसिङ भइसकेपछि इन्टरनेट भए/नभएको उनीहरुले भन्छन्। भएकालाई समस्या भएन। जहाँ इन्टरनेट छैन त्यहाँ डेटाबेसबाट काम चलाउने अहिले। डेटाबेसलाई कसरी सरलीकृत गर्ने भन्ने उपाय काठमाडौंमा बस्दा टियु जाँदा र त्यो डेटा चलायो भने त्यो डेटा सस्तो पर्छ। किनभने १६ सयले ६ महिना पुग्छ।

त्यसमा पनि ५० प्रतिशत छुट गर्न सक्यौं भने धेरै नोमिनल भएर जान्छ। डिस्काउन्ट हुँदा महिनाको सय रुपैयाँ भनेको धेरै होइन।

 

सम्पूर्ण कलेजमा कहिलेसम्म सुरु भइसक्छ त यस्तो शिक्षण प्रणाली?

जहाँ पूर्वाधार छ त्यहाँ त सुरु भइ नै सक्यो। लकडाउन हुने बित्तिकै हाम्रो केन्द्रीय विभागहरुमा एमफिल, पीएचडी, मास्टर लेभलको साइन्सका धेरै क्लास सुरु नै भइसके। जहाँ पूर्वाधार छैन, टिचर दक्ष छैनन् त्यहाँ केही समय लाग्ला। 

आजैमात्रै सेमिनारमा नेपालका सबै आंगिक कलेजका ५ सय टिचरले प्रविधिमैत्री कक्षाको तालिम लिएका छन्। अब एउटा कलेजमा दुई तीन जनासम्म छन् तालिम लिएका टिचरहरु। एकले अर्कालाई हेल्प गर्न पनि सक्ने भए।

हामीले यहाँबाट टेक्निकल सपोर्ट पनि पठाउँछौं। यो दीर्घकालीन प्लान हो।

अहिले तत्काल जसले जति सकेको छ, सुरु गरिहाल्ने भन्ने हो।

 

नेपालको कुनै कुनै ठाउँमा फोन पनि चल्दैन। त्यहाँको विद्यार्थीलाई कसरी समेट्नु हुन्छ?

धेरै थोरै ठाउँ होला त्यस्तो। तपाईँको फेस टु फेस क्लासमा पनि आज दिनमा डेटा लिनुभयो भने कति विद्यार्थी उपस्थित हुन्छन्? त्यसकारण नेगेटिभ मात्रै नहेरौं। पोजेटिभ्ली हेरौं। अब जो मान्छे सम्पर्कमा आउँदैन, उनीहरुका लागि कुनै छुट्टै विकल्प सोच्नुपर्ला। भोलिका दिनमा इन्टेन्सिभ क्लास चलोस्। मेजर बल सकियो भने त १०/२० जनाको ग्रुपलाई बिहानदेखि बेलुकासम्म फटाफट पढाएको पढायै गरे पनि सकिन सक्छ। महिना दिनको कोर्ष ५ दिनमा सक्न सकिएला। उपस्थित हुन नसक्नेलाई त्यो अवसर हुन्छ।

 

त्रिविका परीक्षाहरु रोकिएका छन्। तत्कालै सञ्चालन गर्ने कुनै योजना छ कि छैन?

हामीहरुको परीक्षा थ्यौरी र प्राक्टिकल दुइटै हुन्छ। थ्यौरी कुनै हिसाबले अनलाइनबाट गर्न सकिएला। तर, प्राक्टिकल त हुँदैन अनलाइनबाट। त्यो सम्भव छैन। त्यसको लागि त हामी पर्खिन्छौं। कोर्ष कमसेकम सकाए भने त परीक्षा एक साइडबाट लिने अर्को साइडमा अर्को कोर्ष सुरु हुन सक्छ नि। यसरी पनि गर्न सकियो। अथवा परीक्षा विहान राखेर दिउँसो क्लास गर्‍यो। त्यो मोरालिटी हुन्छ।

परीक्षा लकडाउन नखुलेसम्म सम्भव नहोला। किनभने विद्यार्थीलाई आउन जानै समस्या हुन्छ। अहिले सुदूरपश्चिम गएको विद्यार्थी यहाँ एक्जाम दिन कसरी आउने?

अथवा हाम्रो टिम मोबिलाइज गर्न पनि गाह्रो हुन्छ। क्लास अनलाइन सञ्चालन हुन्छ, एक्जाम लकडाउनपछि हुन्छ।

 

लकडाउन खुलेपछि परीक्षा कति समयभित्र होला?

विद्यार्थीको मेन्टालिटी हेरेर लकडाउन खुलेपछि कम्तीमा दुई हप्तापछि एक्जाम हुन्छ। परीक्षार्थीलाई लकडाउनमा पढ्ने अवसर छ। यसको सदुपयोग गर्दै तयारी गर्दै गरौं।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell