.jpg)
काठमाडौं : ३४ दिनदेखि लकडाउन जारी छ। आइतवार बसेको मन्त्रिपरीषद्को बैठकले लकडाउनको समय १० दिन थप गरेको छ। लकडाउनको समयमा प्रहरी सडकमा निस्किएका मानिसलाई कारबाही गरिरहेको छ।
काठमाडौं उपत्यकाभित्र सबैभन्दा धेरै मानिस कारबाहीमा पर्ने गरेका छन्। प्रत्येक दिन २५ सय जना मानिसलाई प्रहरीले कारबाही गर्ने गरेको छ।
लकडाउन सुरु भएको चैत ११ गतेदेखि अहिलेसम्म ८० जना भन्दाबढी मानिसलाई कारबाही गरेको प्रहरीले जानकारी दिएको छ।
'अनावश्यक रुपमा हिँड्डुल गर्ने मानिसलाई कारबाही गरिरहेका छौं। अहिलेसम्म ८० हजारभन्दा बढी मानिसलाई कारबाही गरेका छौं,' महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले भने।
त्यस्तै काठमाडौं उपत्यकाभित्र दैनिक औशत साढे ३ सय सवारी साधन समेत कारबाहीमा पर्ने गरेका छन्। बिरामी, मृत्युको घटना लगायतमा भने प्रहरी सहजै हिड्डुल गर्न दिइरहेको दाबी गरेको छ। कारबाहीमा परेका मानिसलाई प्रहरीले सडकमा नै उभ्याएर तीन घण्टा कोरोना भाइरस सम्वन्धि जनचेतना दिएर छोड्ने गरेको छ।