PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

किम जोङ उनपछि कसले गर्ला उत्तर कोरियाको नेतृत्व?



पहिलोपोस्ट

किम जोङ उनपछि कसले गर्ला उत्तर कोरियाको नेतृत्व?

सियोल : उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्य अवस्थाको विषयमा चर्चासँगै उत्तर कोरियाको भावि नेतृत्व को भन्ने प्रश्न पनि उठेको छ। उत्तर कोरियाले आधिकारिक रुपमा आफ्नो भावि नेतृत्व घोषणा गरिसकेको छैन। किमका सन्तानहरु पनि अहिलेसम्म कति वर्षका छन् भन्ने एकिन पनि छैन। यद्यपि, उनीहरु सत्ताको नेतृत्व गर्न सक्ने उमेरमा पुगिसकेका छैनन्। त्यतिबेलासम्म उनीहरुको नाममा नायवी शासन हुनसक्ने विश्लेषण गरिँदै आएको छ।

दक्षिण कोरियाली र चिनियाँ अधिकारीहरुले बिहीवार किमको स्वास्थ्य अवस्थाको विषयलाई लिएर गरिएको रिपोर्ट गलत भएको टिप्पणी गर्दै आएका छन्।

यद्यपि, रिपोर्टसँगै भावि नेतृत्वको खोजी अन्तर्राष्ट्रिय मिडियामा हुन थालेको छ। उत्तर कोरियामा किम शासकको तेस्रो पुस्ताको रुपमा ३६ वर्षीय किम जोङ उनले नेतृत्व गरिरहेका छन्। सन् २०११ मा उनका पिता किम जोङ इलको हृदयघातका कारण मृत्यु भएसँगै सत्तामा आएका थिए।

उत्तर कोरियामा हरेक पटक शासकको मृत्यु हुँदा नेतृत्वको रिक्तता र किम शासनको अन्त्यको चर्चा पनि हुँदै आएको छ। १९४८ मा उत्तर कोरियाको स्थापनापछि किम परिवारले शासन गर्दै आएको छ। तीन जना किमले उत्तर कोरियाको शासनमा फलामे पकड कायम राखेका छन्। तर, पछिल्लो समय किम जोङ उनको नेतृत्वमा उत्तर कोरियाको आणविक हतियार र व्लास्टिक मिसाइल शक्ति बढेर गएको छ। यस्तोमा यी हतियारको नियन्त्रण किमपछि कसले गर्ने भन्ने चिन्ता र चासो बढेको हो।

रोयटर्सले किम जोङ उनपछि उत्तर कोरियाको नेतृत्व कसको हातमा जान सक्छ भन्ने विश्लेषण गरेको छ।

किम यो जोङ

किम यो जोङ पछिल्लो समय उत्तर कोरियाको सत्तामा देखिएकी पात्र हुन्। किमकी कान्छी बहिनी किम यो जोङ पछिल्लो सयम उत्तर कोरियामा किमको वरिपरि रहेर काम गरिरहेकी छिन्। उनले पछिल्लो दुई वर्ष उत्तर कोरियाको सत्तारुढ दल वर्कस् पार्टीको उप निर्देशकका रुपमा काम गरिसकेकी छिन्। सत्तारुढ दलको शक्तिशाली केन्द्रीय कमिटीदेखि अनौपचारिक रुपमा किमको चिफ अफ स्टाफको रुपमा काम गरिरहेकी उनी उत्तर कोरियाको भावि शासकको रुपमा उभिएकी छन्। गत महिनामात्र उनी उत्तर कोरियाको सत्तारुढ दल वर्कस् पार्टीको पोलिटव्यूरोको वैकल्पिक सदस्यकरु रुपमा बढुवा भएकी थिइन्।

३१ वर्षकी किम यो जोङसँग पार्टीका गतिविधिको नियन्त्रण रहँदै आएको छ। साथै, उनले आफैलाई उत्तर कोरियाको सामूहिक नेतृत्वको मुख्य स्रोतको रुपमा विकास गरिसकेकी छन्।

'किम यो जोङ उत्तर कोरियाको शक्ति र संगठनको नियन्त्रण देखि त्यहाँको सहयोगी विभाग, न्यायिक तथा सार्वजनिक सुरक्षामा नियन्त्रण राख्ने छिन्,' कोरिया इन्स्टिच्यूट अफ नेसनल युनिफिकेसनका चो हान वमले भने।

पार्टीका बुज्रुकहरु

उत्तर कोरियाको शासनमा आउनसक्ने अर्को शक्ति भनेको पार्टीका वृद्ध नेतृत्व हुन्। चोइ रियोङ हाय गत वर्ष मात्र उत्तर कोरियाको राष्ट्रप्रमुखको रुपमा निर्वाचित भएर आएका छन्। उनी त्यहाँको संसद 'सुप्रिम पिपल्स एसेम्ली'को अध्यक्ष मण्डलको अध्यक्ष बनेका छन्। उनी देशको 'नाम मात्रको राष्ट्रपति'का रुपमा रहेका छन्।

उनले दशक बढी किमको परिवार निकट रहेर पार्टीमा काम गरिसकेका छन्। युवा किमको मातहतमा रहेर उनले उत्तर कोरियाको सेनाको राजनीतिक नेतृत्व गरिसकेका छन्।

उनी र पोलिटव्युरो सदस्य तथा पूर्व उपप्रधानमन्त्री पाक पोङ जु उत्तर कोरियालाई खुला बजारमा प्रवेश गराउने व्यक्तिको रुपमा चिनिन्छन्। उनीहरु दुईलाई उत्तर कोरियाको भावि सामुहिक नेतृत्वको रुपमा हेर्न थालिएको छ।

पार्टीका उपाध्यक्ष तथा पूर्व न्यूक्लियर दूत किम योङ चोल र विदेश मन्त्री रि सोन गोनले उत्तर कोरियाको भावि नेतृत्वमा कुटनीतिक मामिला हेर्ने छन्। उनीहरुले यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ताका लागि महत्त्वपूर्ण भूमिका खेलका थिए।

राजनीतिबाट परका दाजु वा फुपू

किम जोङ उनका जेठा दाजु हुन् किम जोङ चोल। उनी राजनीतिबाट पर छन्। र, उत्तर कोरियाको नेतृत्वसँग पनि टाढा। राजनीतिभन्दा पनि उनी संगीतमा रमिरहने गरेको बेलायतका लागि उत्तर कोरियाका पूर्व राजदूत थाइ योङ हो (जो अहिले दक्षिणमा शरण लिइरहेका छन्)ले भनेका छन्।

उनी सार्वजनिक जीवनप्रति उदासिन छन् र सार्वजनिक कार्यक्रमहरुमा त्यति उपस्थिति जनाउँदैनन्। तर, विश्लेषकहरुले उनले आफ्ना भाइबहिनीहरुसँग सम्बन्ध राम्रो बनाएको र आकश्मिकतामा महत्त्वपूर्ण भूमिका खेल्नसक्ने बताएका छन्।

किम जोङ इलको शासनका बेला किम कियोङ हुइले शक्तिशाली नेतृत्वको भित्री घेरामा रहेर काम गरिसकेकी छन्। उनी किम जोङ इलकी बहिनी तथा किम जोङ उनकी फुपू हुन्। उनी धेरै समयदेखि उनका पति जोङ सोङ थाइकसँग देखिएकी छैनन्। थाइक कुनै बेला देशको दोस्रो शक्तिशाली व्यक्ति थिए। उनलाई किमले २०१३ शक्तिबाट हटाएका थिए। त्यसयता उनी आफ्ना पतिसँग देखिएकी छैनन्। उनी आफैमा विरामी रहेकी थिइन्। यसै वर्ष उनी आफ्ना भदै (किम)सँग एउटा कार्यक्रममा देखिएकी थिइन्।

चौथो पुस्ता

किम जोङ उनका तीन सन्तान रहेको बताइन्छ। उत्तर कोरियाको नेसनल इन्टेलिजेन्स व्यूरोका अनुसार सबै भन्दा पछिल्लो सन्तानको जन्म २०१७ मा भएको छ।

उनका जेठा छोरा १० वर्षका छन्। यसको अर्थ यी तीनैका लागि सत्ताको नेतृत्व गर्न नायवी आवश्यक पर्छ। यदि उनीहरु किम परिवारको शासकको रुपमा चौथो पुस्ताको नेतृत्व गर्छन् भने उनको परिवारका अन्य सदस्यहरुले राजनीतिक अभिभावकत्व प्रदान गर्न आवश्यक पर्नेछ।

किम जोङ इल सत्तामा आउँदा २० वर्षका थिए। त्यस्तै इलको २०११ मा मृत्यु हुँदा किम जोङ उन सत्तामा आउँदा २९ वर्षका थिए। किम जोङ उन २९ वर्षको उमेरमै उत्तर कोरियाको शक्तिशाली नेतृत्वको रुपमा उदाय। उनका सन्तानका लागि भने अहिले नै यो सम्भव छैन।

किम यो जोङ सत्ता सञ्चालनमा अनिच्छुक भए पनि उनले 'केयर टेकर'को रुपमा काम गर्न सक्नेछिन्।

'किम यो जोङ सत्तामा नआए पनि उनले किमका सन्तानहरु आफै सत्ता सञ्चालन गर्न सक्ने नहुँदासम्म केयर टेकरको रुपमा सत्ताको नेतृत्व गर्न सक्छिन्। र, किम जोङ चोल पनि त्यतिबेला सम्म आफ्ना भतिजहरुको सहयोगीको रुपमा राजनीतिमा फर्किन सक्छन्,' दक्षिण कोरियाको एसियन इन्स्टिच्युट अफ पोलिसी स्टडिजका रिसर्च फेलो गो मियोङ ह्युनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell