
सियोल : उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले वनसन क्षेत्रमा पर्यटकीय क्षेत्र निर्माणको काममा खटिइएका कामदारप्रति आभार व्यक्त गरेका छन्।
त्यहाँको सरकारी मिडियाले सोमवार किमको स्वास्थ्य सम्बन्धी हल्ला र वनसन क्षेत्रमा किमको रेल पार्क भएको समाचारलाई चिर्दै यस्तो समाचार प्रकाशित गरेको हो।
वनसन त्यही क्षेत्र हो जहाँ अप्रिल २१ र २३ मा किमको निजी रेल पार्क भएको भन्दै उत्तर कोरिया मामिला हेर्ने दी हेनरी एल स्टिमन सेन्टरको ३८ नर्थ प्रोजेक्टले जनाएको थियो।
अप्रिल १५ मा सो रेल त्यहाँ देखिएको थिएन।
'सर्वोच्च नेता किम जोङ उनले वनसन क्षेत्रको पूर्वी किनारा क्षेत्रमा वनसन कालमा पर्यटकीय क्षेत्र निर्माणमा दत्तचित्त कामदारहरुको प्रशंसापत्र पठाउनु भएको छ,' उत्तर कोरियाको प्रमुख पत्रिका रोडोङ सिनमनले लेखेको दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले जनाएको छ।
त्यहाँको केन्द्रीय प्रसारण निकाय दी कोरियन सेन्ट्रल ब्रोडकास्टिङ स्टेसनले पनि सोही रिपोर्ट प्रसारण गरेको छ।
किमको स्वास्थ्यमा खरावी आएको र मृत्युसम्मको समाचार बाहिर आइरहेको बेला उत्तर कोरियाले किमको पत्र प्रसारण गर्दै भ्रम चिर्न खोजेको हो। अप्रिल १५ मा आफ्ना हजुरबुबा तथा उत्तर कोरियाका संस्थापक किम इल सङको जन्मोत्सव समारोहमा किम अनुपस्थित भएसँगै उनको स्वास्थ्यको विषयलाई लिएर अन्तर्राष्ट्रिय रुपमा चासो व्यक्त भएको छ।
दक्षिण कोरियाले भने यस्ता समाचारमा सत्यता नभएको बताउँदै आएको छ। किम वनसन क्षेत्रमा बसिरहेको हुन सक्ने बताइएको छ।
अमेरकी दी ३८ नर्थ प्रोजेक्टले रेलको उपस्थितिलाई लिएर लेखेको छ - 'रेलको उपस्थितिले उत्तर कोरियाली नेता र उनको स्वास्थ्य अवस्थाको बारेमा त्यस्तो जानकारी दिँदैन। तर, पनि यसले किम देशको पूर्वी किनामा रहेको पुष्टि भने गर्छ।'
दक्षिण कोरियाका राष्ट्रपतिका विशेष सुरक्षा सल्लाहकार मुन चुङ-इनले आइतवार फक्स न्यूजसँगको अन्तर्वार्ताका क्रममा किम जिवित र स्वस्थ रहेको बताएका थिए।
वनसनको काल्मा पर्यटकीय क्षेत्र किमको निजी निर्माण प्रोजेक्ट हो।
किमले गत फेब्रुअरीमा पनि कामदारहरुलाई यस्तै पत्र पठाउँदै उत्तर कोरियाको पर्यटनलाई बढाउन र अन्तर्राष्ट्रिय नाकावन्दीले हुने आर्थिक मन्दीलाई रोक्न मद्दत पुग्ने भन्दै प्रशंसा गरेका थिए।
किम यसअघि अप्रिल ११ मा त्यहाँको सत्तारुढ दलको पोलिटिकल पार्टीको बैठकमा पछिल्लो पटक देखिएका थिए। तर, अप्रिल १५ मा आफ्ना हजुरबुबा किम इल सङको १०८ औं जन्मजयन्ती कार्यक्रममा सहभागी भएनन्। सन् २०११ मा सत्तामा आएसँगै किम यो कार्यक्रममा नियमित उपस्थित हुन्थे।
किमको स्वास्थ्यको विषयमा हल्ला चल्दैगर्दा किमले कुटनीतिक पत्राचारलाई भने जारी राख्दै आएका थिए। तर, उनको तस्विर र सार्वजनिक उपस्थिति भने यो दुई साता त्यहाँका मिडियामा देखिएको छैन।
यसबीच किमले सिरिया, क्युवा, जिम्वावेका राष्ट्रप्रमुखलाई पत्राचार गरेको त्यहाँको सरकारी समाचार एजेन्सी केसीएनएले जनाएको छ।