PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

न योजना, न कुनै सूचना : पूर्वबाट धमाधम यात्रु बोकेका बस काठमाडौंतिर

न योजना, न कुनै सूचना : पूर्वबाट धमाधम यात्रु बोकेका बस काठमाडौंतिर

पहिलोपोस्ट /पहिलोपोस्ट


  • सविन ढकाल/स्वेच्छा राउत -

काठमाडौं : सोमवार बिहान, नागढुङ्गा चेकपोस्ट वरपर ठूलै भिड लागेको थियो। कोही न्याउरो अनुहार लिएर उभिएका थिए त कोही भुइँमै थ्याच्च बसेका। केही ठूल्ठूला ब्यागको भारीमा अढेस लगाएर आराम गरिरहेका थिए। बच्चालाई दुध खुवाउन व्यस्त आमाहरु बेचैन देखिन्थे।

केही भने प्रहरीले तोकेको सीमा छेउ उभिएर कराइरहेका थिए। तीमध्ये एक महिलाको आवाज केही चर्को सुनियो - 'वडाले म्यासेज नै पठाएर काठमाडौं पुर्‍याउने जानकारी दियो। भर परेर आइयो। अहिले यहाँ आइपुग्दा रोकियो। प्रहरीले बर्दीको धाक देखाए।'

उनले मोबाइल अघि सारेर म्यासेज देखाइरहेकी थिइन् जसमा लेखिएको थियो – 'आज बेलुका ३ बजे काठमाडौंका लागि बस छुट्ने भएकाले विराटनगर बसपार्कमा आइ बसिदिनु होला।'

उनी बोलिसक्दा वरपर उभिएकाहरुले सही थापे। उभिएका सबै अन्यौलमा देखिन्थे। घरिघरी सीमा तोडेरै अघि बढ्न तम्सन्थे, प्रहरीलाई भिड नियन्त्रणमा लिनै हम्मेहम्मे पर्नेगरी।

यी सबै मानिस लकडाउनका बाबजुद् विराटनगरदेखि काठमाडौं आइपुगेका हुन्। विराटनगर महानगरपालिकाले नै सात वटा बस रिजर्भ गरेर पठाएको बताइरहेका थिए उनीहरु। लकडाउनका कारण विराटनगरमा अलपत्र परेकाले रातारात उनीहरु आएका हुन्।

आइतवार दिउँसो तीनदेखि चार बजेभित्र विराटनगरबाट हिँडेका थिए उनीहरु। सोमवार बिहान नागढुङ्गा नाकासम्म आइपुगे। तर, प्रहरीले त्यहाँबाट यता आउन दिएन। उनीहरुलाई बोकेर ल्याउने बसलाई भने रोकिएन।

१ सय ६० यात्रुलाई त्यहीँ ओरालिए, रित्तो गाडी उपत्यकातर्फ पठाइयो।

'वडाले समन्वयन नै गरेको रहेनछ। अहिले उताबाट पठाएर अलपत्र पारियो,' ती महिलाले आक्रोश पोखिरहिन्।

उनी घरी त्यहाँ तैनाथ प्रहरीलाई गाली गर्दै थिइन्। घरी विराटनगरका मेयर, वडा अध्यक्षहरुप्रति रोष प्रकट गरिरहेकी थिइन्।

आडमा बसेर उनको बोलीमा सही थाप्दै थिए दोलखाका धनराम सन्यासी। ६३ वर्षीय उनी दोलखाको नाम्दुबाट फागुन अन्तिम साता विराटनगरस्थित कञ्चनबारी पुगेका थिए। आफन्तको विवाहमा सरिक हुन्। विवाह सकियो तर उनीहरु फर्किएनन्। किनकि खेतबारीको काम सकिएको थियो। टाढाको आफन्तकहाँ पुग्दा केही दिन बस्ने योजना बनाएरै निस्किएका थिए। केही दिन बसे। भोलिपल्ट निस्कने योजना बनाएकै साँझ लकडाउन घोषणा भयो।

'एक हप्तामा खुलिहाल्छ नि भनेर बसियो। तर, एक महिना त्यही बस्नु पर्‍यो,' उनले भने, 'यता आफ्नो घरमा पनि काम बित्यो। महिनौं पाहुना लाग्न पनि अप्ठ्यारो।'

अप्ठ्यारो परेकै समयमा विराटनगर महानगरपालिकाले काठमाडौंसम्म पुर्‍याउने घोषणा गर्‍यो। दोलखाका प्रतिनिधिले पनि काठमाडौंसम्म आइपुगे त्यहाँबाट अन्य गाडीमार्फत् घर पुर्‍याउने आश्वासन दिए। धनरामसँगै दोलखाकै कुमार गिरी र चिरञ्जीवी घिमिरे पनि काठमाडौं आए।

'घर पुगिने भइयो भनेर दङ्ग परेको अहिले यो विचल्ली भयो,' उनले चिन्ता व्यक्त गरे, 'यस्तो पार्नु थियो भने नपठाएको भए हुन्थ्यो। अब कसरी भेट्नु दोलखा जाने गाडी?'

मोरङबाट आएकी धनमाया लिम्बुलाई भने लकडाउनका कारण काठमाडौंमा छुटेका छोराछोरीको चिन्ता रहेछ।

'स्वयम्भू पुगेर बच्चा ल्याउन पाए यहीँबाट फेरि मोरङ फर्कन्थेँ,' उनले भनिन्, 'कसलाई रहर छ र यो महामारी, अभावको बेलामा काठमाडौं बस्ने?'

उनीहरुका अनुसार एउटा गाडीमा दशदेखि १६ जनासम्म मात्र बसेर आएका हुन्। तीमध्ये धेरैको कथन काठमाडौंमा बालबच्चा छुटेको छ। केही बुबाको बरखीका लागि विराटनगर, मोरङ, झापा पुगेका रहेछन्। अनि केही चाहिँ विवाह लगायतका समारोहका लागि।

बानेश्वर घर बताउने जयबहादुर बस्नेत भन्दै थिए, 'ससुरा बितेर विराटनगर गएका थियौं। वडाले पठाएपछि बल्ल आउन पायौं। आएको यहाँ रोक्यो।' उनी विराटनगर महानगरपालिकाको वडा नम्वर ३ बाट काठमाडौं आएका हुन्।

हाल प्रदेश १ र २ मा कोरोना भाइरस संक्रमितको सङ्ख्या बढ्दो छ। काठमाडौंमा संक्रमितको संख्या शून्य भएसँगै सरकारले यहाँको लकडाउन केही लचिलो बनाउने तयारी गरिरहेको छ। यहाँ जोखिम कम देखिएको खबरहरु सार्वजनिक भएसँगै गाँउ पुगेकाहरु काठमाडौं फर्कने मानिसको संख्या बढेको देखिन्छ। आज बिहान थानकोटमा देखिएको दृश्य उदाहरण हो।

महोत्तरी, राजविराज, विराटनगर, लगायतका ठाँउबाट मानिस बोकेर भित्रिने गाडीको संख्या पनि उत्तिकै छ। 'विराटनगरबाट मात्र होइन प्रदेश नम्बर २ बाट पनि गाडी भित्रिरहेको थियो,' बिहानै नागढुङ्गामा भेटिएका पत्रकार मकर श्रेष्ठले भने, ‘यहाँसम्म आइसकेपछि मानिसहरु यताउती गर्दै काठमाडौं जान के कठिन छ र?’

‘यो हेर यी सिफारिस छ, उताबाट सिफारिस दिने अनि यहाँ आएर रोक्न मिल्छ,’ एक जना बस चालक ट्राफिक प्रहरीसँग झोक्किँदै थिए। उनले बस मुस्ताङबाट ल्याएका रहेछन्। ट्राफिकले बसलाई फर्काउन भनेपछि उनी झर्किँदै थिए –‘जसले पठायो उसलाई जानकारी त दिन पर्‍यो नि।’ ग १ ख ८१५५ नम्बरका बस चालकसँग वडा कार्यालयको पत्र थियो।

वडावडाले पत्र तयार गर्दै गाडी पठाउन थालेपछि सवारीको व्यवस्थापनमा जुटेकाहरु तनावमा हुनु स्वभाविक नै देखिन्थ्यो। 'वडाको सिफारिस बोकेर आउने धेरै छन्। सरकारले रोक्नु भनेको छ। उनीहरु वडाअध्यक्षले भन्यो भन्दै आउँछन्। के गर्नु?', चेकपोस्टमा खटिएका प्रहरी नायव निरीक्षक ज्ञानबहादुर गहले गुनासो गरे, ‘यो चाहिँ मनलाग्दी भयो।’

उनका अनुसार अलपत्र परेका मानिस लिन भन्दै स्थानीय तहबाट सिफारिस लिएर आएका गाडीले बीचबीचबाट मानिस पनि ओसारिरहेका छन्। कतिपय ठाउँमा त खाली बस देखेपछि प्रहरी आफैँले हिँडिरहेका मानिसलाई चढाएर पठाइरहेका छन्। ‘अलपत्र परेका मानिस लिन आउने भन्नेमात्र हो, त्यसमा पनि मानिस ओसारिरहेका छन्,’ गहले भने।

कोरोना संक्रमण प्रदेश १ र दुईमा बढी देखिएको छ। यता काठमाडौं कोरोनामुक्त भइसकेको छ। त्यसको असर लकडाउन काठमाडौंमा केही खुकुलो हुने अपेक्षा गरिएको छ। किनकि काठमाडौं महानगरपालिकाले आफूसहित यहाँका सबै नगरपालिकाका पसलहरु बिहान १० बजेसम्म खुला गर्ने प्रस्तव अगाडि सारेको छ। काठमाडौं केही खुकुलो हुनसक्ने आँकलनमा पनि मानिसहरु यसैगरी काठमाडौं भित्रने सम्भावना बढ्दै गएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell