
काठमाडौं : काठमाडौं महानगरपालिकाभित्र विहान १० बजेसम्म पसलहरु खोल्न पाइने भएको छ। काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधिमा बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउने मिलाउन लागेको हो।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै वडाध्यक्षलाई बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन्। सरकारले पाँचौं चरणमा लकडाउन अवधि थप गर्दै वैशाख २५ सम्म लम्ब्याउने निर्णय गरेकै दिन ४५ औं कार्यपालिका बैठक बसेको थियो। बैठकमा सहभागी सबै वडाध्यक्षहरु १० बजेसम्म पसल खोल्न दिन सकारात्मक बनेका छन्।
बैठकमा लकडाउनको अवधिमा आपूर्ति व्यवस्थालाई एक रुपता कायम गर्दै आर्थिक गतिविधिलाई समेत थप चलायमान बनाउनु पर्ने सुझाव वडाध्यक्षहरुले दिएका थिए। मेयर शाक्यले पनि वडाध्यक्षहरुलाई सामाजिक दूरी कायम गर्दै बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर किनमेलको व्यवस्था मिलाउन आग्रह गरे। बैठकले कोरोना नियन्त्रणका लागि वडामा पठाइएको बजेट, वडाबाट भएका काम, राहत वितरणका लागि संकलित विवरण, र्यापिड डाइग्नोस्टिक टेस्ट, राहत वितरण, निःशुल्क खाना व्यवस्थापन लगायतका बिषयमा केन्द्रीत भएर छलफल गरेको थियो।
कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न काठमाडौं महानगरबाट सम्पन्न कामको समीक्षा गर्दै प्रमुख शाक्यले अहिलेसम महानगरका ६८ हजार ६ सय १७ जनालाई राहत वितरण गरेको जानकारी दिए। खान छैन भन्ने १९ हजार ७ सय २३ जनालाई वडाबाट निःशुल्क खानाको व्यवस्था गरिएको पनि उनले बताए।
प्रमुख शाक्यले लकडाउनको अवधिमा महानगरमा बसोवास गर्ने त्यस्ता विरामीलाई सार्वजनिक यातायातको सवारी साधन उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान–ल्याउनका लागि संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति) सँग सम्झौता गरेको भन्दै लकडाउन अवधिभरमा ५ सय १५ जनालाई निशुल्क सेवा दिएको पनि जानकारी दिए। लकडाउन अवधिभर हृदयघात, मृगौला रोगीलगायतका विरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग सञ्चालित निःशुल्क आकस्मिक एम्बुलेन्स सेवाबाट धेरै लाभन्वित भएको शाक्यकको दाबी छ।
बैठकले महानगरको कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण कोषबाट ठूला वडा, मझौला र साना वडालाई थप निकासा पठाउने समेत निर्णय गरेको छ। ठूलालाई १५ लाख, मझौलालाई १० लाख र सानालाई ५ लाख रुपैयाँलाई थप निकासा गर्ने गरी बैठकले अनुमोदन गरेको छ। त्यसैगरी फोहोर व्यवस्थापनका लागि प्रयोग हुँदै आएको ककनी गाउँपालिकाकाका प्रभावित वडाका राहतका लागि प्रदान गरिएको १५ लाख रुपैयाँ र धुनिवेँसी नगरपालिकाकाको वडा १ का लागि पठाइएको ३ लाख रुपैयाँ बैठकले अनुमोदन गरेको छ।