काठमाडौं : नेपालमा आइतवारसम्म ५२ जना कोरोना संक्रमित छन्। १६ जनालाई निको भएको छ। काठमाडौं उपत्यकामा देखिएका ५ संक्रमितलाई ठीक भएपछि नयाँ संक्रमित भेटिएका छैनन्। बाग्लुङका दुई संक्रमित घर फर्किएसँगै त्यहाँ पनि नयाँ कोरोना संक्रमित छैन।
५२ मध्ये एउटैलाई पनि गम्भीर समस्या देखिएन। ८१ वर्षकी महिलाले पनि नेपालमा कोरोना जितेको उदाहरण छ। संक्रमणको दर अरु देशको तुलनामा कम छ। संक्रमण पुष्टि हुनेहरु धेरैजसो कोरोनाको लक्षणविहीन छन्। कतिपय केसमा घरमा संक्रमितसँगै बसेकालाई पनि संक्रमण देखिएको छैन। संक्रमितलाई गम्भीर समस्या नहुनु, सर्ने दर कम हुनु र लक्षण नै नदेखिनुका विभिन्न कारणहरु भएको विज्ञहरुले बताएका छन्।
सार्स सीओभी २ भयो तर धेरैलाई कोभिड १९ भएन
नेपालमा गम्भीर समस्या नदेखिनु र मृत्यु नहुनुको कारण धेरैलाई कोभिड १९ नहुनु मान्छन् टेकु अस्पतालका सरुवा रोग विषशज्ञ डाक्टर शेरबहादुर पुन। उनका अनुसार सार्स सीओभी २ कोरोना समूहको सबैभन्दा कान्छो भाइरस हो। र, यसको संक्रमण भएमा कोभिड १९ रोग हुने हो। नेपालमा संक्रमित हुने धेरैलाई कोभिड भएको छैन। कोभिड नभएकै कारणले गम्भीर बिरामी नभएका हुन्। 'सार्स सीओभी टु भनेको भाइरस हो र त्यसले कोभिड १९ हुने हो। धेरैजसोलाई कोभिड भएको छैन। त्यसैले गम्भीर बिरामी पनि नदेखिएको र मृत्यु पनि नभएको हो,' पुनले भने।
नेपालमा संक्रमण हुने धेरैजसोमा लक्षण देखिएको छैन। त्यसले घरघरमा गएर संक्रमित खोज्नु परेको उनको भनाई छ। लक्षण नदेखिनु भनेको सार्स सिओभी २ हुनु तर कोभिड १९ नहुनु भएको पुनको तर्क छ। धेरैजसो नेपालीलाई भाइरसको संक्रमण भए पनि कोभिड किन भएन भन्ने अनुसन्धानको विषय भएको पुनले बताए।
एक प्रकारको कोरोना पहिले नै थियो, त्यसैले व्यापक फैलिएन
डाक्टरहरु नेपालमा एक प्रकारको कोरोना भाइरस पहिल्य भएको दाबी गर्छन्। जसलाई अनुसन्धानले पनि पुष्टि गरिसकेको छ। यसैको कारण नेपालमा संक्रमण व्यापक नभएको तर्क गर्छन्, विज्ञहरु। जोन हप्किन्स विश्वविद्यालयले सन् २०११-१४ सम्म सर्लाहीमा गरेको अध्ययनले नेपालमा एक प्रकारको कोरोना भाइरस रहेको देखाएको थियो। माइक्रोबायोलोजिष्ट प्राध्यापक डा. प्रकाश घिमिरे एउटा जातको कोरोना संक्रमण नेपालमा पहिले पनि भएकाले नेपालीसँग कोरोनासँग लड्न रोग प्रतिरोधात्मक क्षमता विकास भएको हुनसक्ने बताउँछन्। उनी संक्रमण कम हुनुमा त्यसको पनि केही न केही भूमिका रहेको दाबी गर्छन्।
'नेपालमा एक खालको कोरोना थियो जसकारण थोरै क्रस इम्युनिटी पावर विकास भएको हुन सक्छ,' उनले भने। घिमिरेको तर्कसँग सहमत छन् डा. पुन। संक्रमण ब्यापक नहुनुको एउटा कारण नेपालीमा पहिला पनि एक प्रकारको कोरोना हुनु पनि भएको उनको ठम्याई छ। तर, यसमा अध्यन हुनुपर्ने खाँचो औल्याउछन् डाक्टर पुन।
'एक प्रकारको कोरोना त पहिला पनि थियो। त्यसले गर्दा इम्युनिटी विकास भएर पनि संक्रमण कम भएको हुन सक्छ,' उनले भने।
पुन नेपालमा अब कोरोना ब्यापक रुपमा नफैलिनेमा आशावादी छन्। नेपालमा चाँडै कोरोना नियन्त्रण हुने उनको धारणा छ। अस्पतालमा पनि धेरै कम बिरामी आएको र अहिले कोरोनाको संक्रमित कहाँ छ भनेर खोज्दै जानुपर्ने अवस्था हुनले पनि त्यस्तो संकेत गरेको हो। 'हामीहरु पीपीई लगाएर बसिरहेका हुन्छौं तर दिनभरि पनि संक्रमित आउँदैनन्।'
बीसीजी खोप र मलेरिया लगायतका औषधिको प्रयोग
बीसीजी खोप र मलेरियाको औषधीको प्रयोगले कोरोना रोकथामा कतिको प्रभावकारी होला भन्ने विश्वभर चर्चाको विषय छ। अध्यन भएर पुष्टि नै नभएको भए पनि कतिपय विज्ञहरुको मत बीसीजी र मलेरिया लगायतको औषधीको कुनै न कुनै भूमिका कोरोना रोकथाममा भएको भन्ने छ।
मलेरियाको औषधि, एचआइभीको उपचारमा प्रयोग हुने ऐन्टिभाइरल र इबोलाको उपचारमा प्रयोग भएका ऐन्टिभाइरलको प्रयोग नेपालीका लागि आशाको ज्योति भएको घिमिरेको भनाई छ। यस्ता खालका औषधीको प्रयोगले पनि केही हद सम्म संक्रमितलाई ठीक पार्न सकिने उनको तर्क छ।
खानपिन र जीवनशैली
नेपालमा कोरोना संक्रमित किन गम्भीर बिरामी भएनन्? यसका विभिन्न कारण मध्ये नेपालीको खानपिन शैली पनि एक भएकोमा डा. पुन र घिमिरे दुवै सहमत छन्। तर, उनीहरु यसमा दाबी चाहिँ गर्दैनन्। विभिन्न खालका मसला, घरमै पकाएर खाने खाना र परम्परागत खानाको सिधा सम्पर्क मान्छेको रोग प्रतिरोधात्मक क्षमतासँग गासिएको घिमिरे बताउँछन्।
खानपिनका कारण पनि नेपाली कोरोना लागेर गम्भीर बिरामी नभएको तर्क गर्ने अर्का डाक्टर हुन रविन्द्र पाण्डे। जनस्वास्थ्य विज्ञ पाण्डे नेपालीको खानपानले गर्दा रोग प्रतिरोधात्मक क्षमता बढी भएकाले पनि कोरोनासँग लडन सजिलो भएको बताए। उनले फेसबुकमा लेखेका छन्, 'हामीलाई बोइल गरेको खाना पटक्कै मन पर्दैन| तरकारी, दाल, मासु, झोल आदि पकाउँदा ट्वाक्क अमिलो, पिरो, चिल्लो, नुनिलो, पर्पराउँदो खालको खाना हामीलाई मन पर्छ,' उनले भनेका छन्।उनी खानपिनसँगै नेपालीको शारीरिक काम गर्ने बानीले पनि इम्युनिटी पावर बढी भएको तर्क गर्छन्।
सरुवारोग विज्ञ डाक्टर पुन भारतमै पनि अरु देशको तुलनामा कम संक्रमण र मृत्यु हुनुको कारण त्यहाँको खानपिन पनि नेपालीकै जस्तो हुनु भएको बताउँछन्। उनी नेपालको खानपिनले भाइरससँग लड्न काम गरेको छ भन्नलाई अर्को उदाहरण पनि दिन्छन् - सन् २००९ को इन्फ्लुइन्जा महामारी पनि नेपालमा नफैलिनुको कारण खानपिन भएको उनको तर्क छ।
'२००९ तिरको इन्फ्लुइन्जा पान्डामिक या अरु यस्तै पान्डामिकहरुको पनि नेपालमा त्यति असर परेन । त्यसैले त्यतिबेला पनि नेपालीको खानपिनको भूमिका थियो कि? ठोकुवा त गर्न सकिन्न तर अध्यन गर्नुपर्ने विषय चाहि भइसकेको छ,' उनले भने।